Fri. Jan 28th, 2022

डिबी खड्का,
दोहोरी रेस्टुरेन्टका वेटर केटीका अनुहारबाट चमक हराउँदै गएको थियो, चार घन्टासम्मको भागदौडले मुस्कानको मूल पनि सुकिसकेको थियो। तर, साउने झरीले रोकिने छाँटकाँट देखाएन। घडी हेरेको रातको ११ बज्नै थालेको रहेछ। दुई चोटी घर जाने भनेर बाहिर निस्केपनि पानीको तोडमा मसँगै गएको साथीले मोटरसाइकल कुदाउन अस्विकार गर्‍यो। त्यसैले त्यो दिन शुरुमै पुगेर अन्तिम समयसम्म बस्ने ग्राहक हामी नै थियौं।
त्यो रेस्टुरेन्टका वेटरदेखि गायकसम्म हामीसँग परिचित जस्तै भइसकेका थिए। म दोहोरीको फ्यान, मेरो साथी मदिराको। ऊ पिएर लठ्ठै, म दोहोरी सुनेर। ऊ जस्ता साथी नहुँदा हुन् त मजस्ता मदिरा नपिउनेका लागि यो शहरमा रमाइलो गर्ने ठाउँ पनि हुने थिएन। जुस खाएर दोहोरी सुन्नुजस्तो …नामर्द’पन अरु केही होइन भन्थ्यो त्यो। तर, कुरा उसैसँग मिल्ने। उसको मदिरा बिल मैले तिर्ने र जुस र खानेकुराको उसले तिर्ने गरी सहमति हुन्थ्यो जहिल्यै! त्यो दिन पनि त्यही गरियो। चाँडै फर्किने योजना थियो तर झरीले दिएन। …दाई बन्द गर्नुपर्ने बेला भयो,’ हाम्रो सेवामा तारन्तार आइरहने अग्लिचाहिँ केटीले मुस्कुराउँदै भनी। …तर हामीलाई जानै मन लागेको छैन,’ मेरो साथी जिस्कियो। …त्यसो भए भोली बेलुका भेटौंला भित्रै थुनिदिऊँ,’ ऊ पनि के कम? …भइहाल्छ नि, तिमी भन्छ्यौ भने,’ मदिराको असर देखाइहाल्यो त्यसले। मैले उसको तर्फबाट …सरी’ भने। तर, त्यो केटीका लागि उसको व्यवहार सामान्य थियो। ऊ समझदार पनि रहछि, सोधी, …कहाँ पुग्ने हो दाईहरु?’ मैले नयाँबानेश्वर भनंे। उनीहरु जाने माइक्रोमै हामीलाई पुर्‍याइदिने बन्दोबस्त गरी। साथीले बाटामा मलाई पत्रकार भनेर चिनाइदियो उसलाई। त्यसपछि ऊ बढी नजिकिई। छुट्ने बेला …मिल्छ भने नम्बर दिनुहोस्’ भनी। मैले कार्ड थमाए। जतनले मनीब्यागभित्र राखी, कच्याकुचुक भएका केही थान पाँचसयका नोटले मनिब्यागबाट उम्किने प्रयास गर्दै थिए, सम्हाली। सायद टिप्स पाएका नोट हुन्। …. झण्डै एक हप्तापछि अन्जान नम्बरबाट फोन आयो। मिटिङमा थिएँ, कलब्याक गर्छु भनेर राखिदिएँ। पछि बिर्सेछु। दिउसो १ बजे फेरि फोन गरी। …हामीसँग त बोल्न पनि मन लाग्दैन कि क्या हो सरलाई,’ सिधै भनी। बिर्सेछु भनेर माफी मागेंं। सामान्य भलाकुुसारी भयो। भेट्ने इच्छा दर्शाई। शुक्रवारको दिन थियो, कामको चाप बढेको थिएन। सहमति जनाएँ। …कति ढिला हो सर एउटा हट लेमन सकिसक्यो,’ नयाँबानेश्वरस्थित एलिना क्याफेमा पुग्दा निस्पि्कक्री बोली। अपरिचतलाई परिचित जस्तै व्यवहार गर्नुपर्ने रेस्टुरेन्टको शैलीमा अभ्यस्त थिई। त्यसैले ऊ मसँग वर्षाैंदेखि चिनेकाजस्तै व्यवहार गरिरहेकी थिई। …अर्काे मगाउला नि,’ मैले भनें। ऊ हाँसी। हाँस्दा अनारका दानाजस्ता सुन्दर दाँत पूरै देखिए। लाम्चो गोरो अनुहार, जतिबेला पनि मस्किएर बोल्ने बानी, मलाई मन परिरहेको थियो। …ल भन किन भेट्न खोजेकी थियौ?’ मैले भनें। …भेट्न मन लागेर,’ ऊ इतरिई। मसँग उत्तरै थिएन। दुईटा कफी मगाएँ। केही छिन यताउताका कुरा त्यसपछि भनी, …मैले तपाईंका बारेमा धेरै कुरा सुनें।’ म अचम्ममा परें। कुुरा के परेछ भने त्यो साथी उसैसँग गफ गर्न पाइने निहुँमा दिनदिनै त्यो दोहोरी जान थालेछ। धेरै आफ्ना, केही मेरा बारेमा कुरा गरेछ। …उसलाई भनिस् भने मोडल त यू बनाइदिन्छ, हिरोइन पनि बनाउने हैसियत राख्छ।’ उसलाई हिरोइन बन्ने ठूलो रहर रहेछ। जिउडाल हेर्दा चल्तिका कति हिरोइन भन्दा ऊ राम्री पनि थिई। …ए त्यसैले पो भेट्न खोजेको? त्यो साथी अलि बढी गफाडी छ। म निर्माता/निर्देशक केही होइन। त्यसैले यस्तो भ्रम नपाल,’ म टक्टकिएँ। त्यो कुरा मैले टार्नलाई भनेको भन्ने ठानिछ। निरन्तर सम्पर्क गर्न थाली। निकैपटक कुराकानी भएपछि ऊ साथीजस्तै बनी। निस्पि्कक्री आफ्ना अन्तरंग कुराकानी सेयर गर्न थाली। मैले फिल्म क्षेत्रको वर्तमान अवस्था बताउँदा ऊ ठूलै हिरोइन भन्ने दिवा सपनाबाट त ब्युझिई तर एउटा फिल्ममा अनुहार देखाउने लालसा टुटेन। आखिर ऊ हिरोइन हुन जो राजधानी पसेकी थिई। …. एक वर्षअघि गौशाला पुग्दासम्म एउटा हिरोकी डाइहार्ट फ्यान थिई ऊ। एक सय भन्दा बढी तस्विर र पोस्टकार्ड उसको झोलामै थिए। हिरोइन बनाउने सपना देखाउने पनि त्यही हिरो थियो। दिदीको कोठामा कालो लेद
रको ज्याकेट लगाएको, एकतिर कपाल फर्काएको तस्बिरको फ्यान थिई। पछि थाहा पाई, त्यो नेपाली फिल्मको हिरो रहेछ। उमेरले भर्खरै १६ पुगेकी हुँदी हो, सदरमुकाममा जाँदा साथीसँग पहिलोपल्ट त्यो हिरोको फिल्म हेरी। उसले गुन्डालाई रामधुलाई गर्दा उठेर ताली पिटी कतिपटक। पछि साथीहरुले त्यसलाई जोक बनाए। उसैसँग नाम जोडे। बाहिर मुर्मिरिन्थी, भित्रभित्रै खुशी हुन्थी। धरानमा भएको एक कार्यक्रममा ठेलमठेल गरेर अटोग्राफ लिई। काठमाडौं पढ्ने एकजना गाउँले दाईबाट उसले त्यो हिरोको नम्बर पाई। त्यसपछि त दिनदिनै जसो फोन हुन थाल्यो। …तिमी काठमाडौं आऊ, हिरोइन बनाइदिन्छु,’ निकै पटक भन्यो त्यो हिरोले। प्राय राती ९ बजेपछि फोन गर्थ्योे। पछि एकदुई बजेतिर पनि फोन आउन थाल्यो। फोन कानमा लगाएर छातिमा फोटो टाँसेर कुरा गर्थी ऊ। कतिपटक चुम्थी भने भोली बिहान भिजेको अवस्थामा भेटिन्थ्यो हिरोको तस्विर! एसएलसी सकिएको भोलीपल्टदेखि काठमाडौं गएर हिरोइन हुने सपनाले गाँज्न थाल्यो। घरपरिवारको अवस्था काठमाडौं पढाउने थिएन। जागीर खोज्ने मान्छे पक्का भएको विश्वास दिलाएपछि ऊ जसोतसो बाटा खर्च बनाएर काठमाडौं आई। गौशालाको एउटा होटलको ठेगाना दियो हिरोले। बिहान ११ बजे काठमाडौं ओर्लेकी उसले दिनभरी कुरी। बिजी छु भन्दै त्यो हिरो आएन। रातको ८ बजिसक्यो अझै अत्तापत्तो छैन, ऊ आत्तिई। फोन गर्नै लागेकी थिई। त्यो हिरो आइपुग्यो। देउतै प्रकट भएजस्तो लाग्यो उसलाई। गमलङ्गै अंगालो मारेर चुमौजस्तो लागेको थियो। तर, सम्हाली। हालखवर सोध्यो। खाना खाएको/नखाएको सोध्यो। आफैले गएर अर्डर गर्‍यो। उसलाई मनपर्ने मटन खाना र आफूलाई सेकुवा र भोड्का। रमाइलो रहेछ मान्छे। तस्बिरमा देखिएभन्दा ह्यान्डसम देखिएको थियो ऊ। उसलाई खाना खान पनि अप्ठ्यारो लाग्यो, बोल्न धेरै बोलिन। हिरो जति नजिकिन्थ्यो त्यति नै मनमा उत्साहका तरंग बढ्थे। …तिमी त निकै राम्री भइछौ,’ उसका टम्म भरिएका गाला सुमसुम्याउदै भन्यो। ऊ अझ लजाई। …हेर, ओठ पनि कति राम्रा खाउँखाउँ लाग्ने’ भन्दै मुख नजिक ल्यायो। भर्खरै रित्याएको ह्वीस्किको पूरै गन्ध एकैचोटी नाकमा ठोक्कियो। पन्छिन खोजी तर उसले बाहुपासमा लिइसकेको रहेछ। उसैले माया गरेर बेडसम्म पुर्‍यायो। भित्रभित्रै डराई ऊ। यसअघि ऊ चुम्थी हिरोको तस्बिर, आज प्रत्यक्ष रुपमा हिरोले चुम्दैछ। एक अर्थमा उसको सपना साकार भएको छ। तर, ऊ किन हो डराई। तर्किन खोजी सकिन। उसको त्यो प्रेम जम्माजम्मी १० मिनेट टिक्यो होला। त्यसपछि ऊ अलि टाढिएर बस्यो। भोलि बिहान आउँछु भन्दै बाहिरियो। तर, कहिल्यै फर्किएन। भोलिदेखि मोबाइल सम्पर्कबिहीन भयो। एलिनाज क्याफेबाट देखिने शहर हेर्दै कथा भनिरहेकी ऊ मतिर फर्की। …त्यसपछि फर्केर गाउँ जान सकिनँ। शुरुमा डान्सबारतिर गएँ, त्यहाँ त्यति राम्रो लागेन। त्यसैले अहिले यहाँ छु,’ उसले भनी। घडी हेरें तीन बजेछ। …सकेको सहयोग गरौंला’ भन्दै छुट्टिएँ। फर्केर त्यो दोहोरी गएको छैन । आज पनि ऊ हिरोइन हुने चाहना मनभित्रै पालेर ग्राहकका लागि मदिराको प्याला भर्दी हो।