Fri. Mar 29th, 2024

कोरोना भाइरसका कारण ५ महिनायता फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । जसले गर्दा फिल्म क्षेत्रलाई करोडौंको क्षति भएको छ भने हजारौं बेरोजगार भएका छन् । संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि हुने सम्भावना झिनो छ । यद्यपि, लकडाउनको समयमा विभिन्न निर्माता/निर्देशकले फिल्म निर्माणको घोषणा भने गरिरहेका छन् ।
सामाजिक विषयवस्तुलाई गहन ढंगले पर्दामा प्रस्तुत गर्न सिपालु मानिने ‘पशुपति प्रसाद र आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले पनि कोरोना महामारीपछि छायांकन सुरु गर्ने योजनासहित एकसाथ दुई फिल्मको घोषणा गरे, ‘चिसो मान्छे र लकडाउन’ । यी दुईमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनयता निर्देशक खनाल यही फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् ।
कोरोनाको संक्रमण चाँडै नियन्त्रणमा आउने आश राख्दै उनले फिल्म क्षेत्र चलाउनमा बनाउनका लागि ‘चिसो मान्छे’ को निर्माण प्रक्रिया अगाडि बढाएको बताएका छन् । यसबीच, ‘आमा’ निर्मात्री सर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको शनिवार एक थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टरमा अर्को वर्षको भदौ ११ गते फिल्म प्रदर्शनमा आउने उल्लेख छ ।
‘चिसो मान्छे’ सामाजिक विषयवस्तुमा आधारित हुने दीपेन्द्र बताउँछन् । ‘लकडाउनपछि घरमै बसेर स्क्रिप्टमा काम गरिरहेको छु । अवस्था सहज हुन बित्तिकै फ्लोरमा जाने हाम्रो तयारी हो,’ उनले भने, ‘हामी हरेक व्यक्ति अहिले चिसो हुँदै गएका छौं, यही विषयलाई फिल्ममा उठाउने प्रयास गर्दैछु ।’ फिल्मलाई उनी आफैंले खिच्नेछन् । अहिलेसम्म कलाकार छनौट भने भएका छैनन् ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: