Fri. Apr 26th, 2024

काठमाडाैं । 
इन्टरनेट तथा सोसल मिडियाको प्रयोग बढेसँगै नेपालीहरूको जीवनमा यसको प्रभाव बढ्दै गएको छ । वर्ष २०७४ मा नेपाली अनलाइन प्रयोगकर्तामाझ विभिन्न घटना चर्चामा रहे, जसमा राजनीति मात्र नभै संगीत, सामाजिक एवं अपराध आदिका घटना प्रमुख छन् । आखिर कुन–कुन घटनाले यो वर्षलाई तताए त ?
दलाई लामाको बुद्ध जन्मस्थानबारेको टिप्पणी
भारतको एक कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको दलाई लामाले बताएका थिए । उक्त अभिव्यक्तिका कारण लामा नेपालीहरूबाट आलोचनाको सिकार भए भने पछि लामाले टिबेट डट नेट वेबसाइटमा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने स्पष्टीकरण दिए ।
दरबारमार्गका ब्रान्डेड पसलमा सिलबन्दी
दरबारमार्गका ब्रान्डेड स्टोरमा ११ गुणासम्म बढी मूल्य लिइएको पाइएपछि आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनले पनि सामाजिक सञ्जालमा निकै चर्चा पायो । दरबारमार्गस्थित पुमा, नाइके, बिन्टले तथा स्टोर वानजस्ता केही स्टोरमा अनुगमनका क्रममा ११ सय प्रतिशतसम्म मूल्य लिइएको पाइएको थियो । उक्त घटनापश्चात् ब्रान्डेड भनिएका ती स्टोरको निकै आलोचना भएको थियो र केही समयसम्म व्यापारीहरू स्टोर नै बन्द गरेर विरोधमा उत्रिएका थिए ।
लुकाइएको ८८ किलो सुन
प्रहरीको अपराध महाशाखाले अहिलेसम्मकै सबैभन्दा धेरै ८८ किलो सुन बरामद गरी काठमाडांैबाट एक जनालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल तातेको थियो । गाडीमा चालक बस्ने सिटपछाडिको भागमा उक्त सुन लुकाइएको थियो ।
वरुण चौधरीको विवाह
उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीको विवाहले नेपाली सामाजिक सञ्जाल तथा छापा मिडिया मात्र नभएर भारतीय मिडियामा पनि चर्चा पायो । वरुण र अनुश्रीको विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे, बलिउड अभिनेता सलमान खान, शत्रुघ्न सिन्हा, गायक मिका सिंह, मोडल डिनो मोरियो, गायिका कनिका कपुरलगायत नेपाल तथा भारतका थुप्रै प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।
विवाहको अघिल्लो दिन दुलाहा बेपत्ता
विवाहको अघिल्लो राति एक युबक गायब भएपछि उनी सामाजिक सञ्जालमा भाइरल भए । गैंडाकोटका दुलाहा बालकृष्ण खरेलको अपहरण भएको आशंका गरियो । अपहरण भएको आशंका गर्दै परिवार तथा आफन्तजनले प्रशासन घेराउ गर्दै उनलाई खोज्न दबाब दिएका थिए । पछि उनी भारतमा घुमी रहेको प्रमाण प्रहरीले प्राप्त गरेको थियो ।
महिलाको चुल्ठो काट्ने कीरा
राति महिलाको चुल्ठो काटिने खबरले सामाजिक सञ्जालमा तरंग पैदा गर्‍यो भने चुल्ठो काटिएका अधिकांश महिला शारीरिक रूपमा कमजोर, अशक्त, सुत्केरी तथा दीर्घरोगी थिए । महिलाहरू घरबाहिर जाँदा, काम गर्दा यस्तो घटना भएको थियो भने केहीले चाहिँ खाना पकाउँदा, टेलिभिजन हेरिरहेका बखत, सुतेको अवस्थामा चुल्ठो काटिएको बताएका थिए । पछि मैकी नामक कीराले त्यसरी कपाल काटेको आशंका गरियो ।
अनलाइन मिडियामार्फत भएको क्रिप्टोकरेन्सी माइनिङ
नेपालको एक चर्चित अनलाइन मिडियाका प्रयोगकर्ताले यसै वर्षको अन्तिममा एउटा नौलो घटनाको उजागर गरे, जसअनुसार नेपालकै नम्बर १ भनेर चिनिएको एक अनलाइनमार्फत यस्तो क्रियाकलाप भैरहेको पाइयो, जसलाई सामान्य शब्दमा भन्नुपर्दा प्रयोगकर्ताको विश्वासमाथिको अक्षम्य घात मात्र होइन, गैरकानुनी नै भन्नु उचित हुन्छ । नेपालमा कानुनी रूपमा वर्जित क्रिप्टोकरेन्सीको माइनिङ गरिरहेको उक्त अनलाइनले यसप्रति आफू अन्जान रहेको तथा यसमा आफ्नो संलग्नता नभएको विज्ञप्ति नै जारी गर्‍यो । यो घटनाको निक्र्यौल के रह्यो भन्ने जानकारी अहिलेसम्म गराइएको छैन ।

Leave a Reply

%d bloggers like this: