घरजम गर्ने बेला भयो जस्तो लागेको छ–गरिमा

मनोरंजनसंसार डटकम | Sunday, January 12th, 2014

फिल्मकर्मीमाझ गरिमा पन्त शालीन अभिनेत्रीका रूपमा परिचित छिन् । एउटा फिल्म खेलेपछि चर्चाको शिखरमा पुग्ने हिरोइनहरूको जमातमा झन्डै २० वटा फिल्ममा अभिनय गरेकी उनी गुमनामजस्तै छिन् । फिल्म ‘झोला’ मा काम गरेपछि उनले प्रशंसा बटुलिरहेकी छिन् । गरिमासँग धनबहादुर खड्का र सजना बरालको अन्तरंग कुराकानीः

‘झोला’ले तपाईंलाई प्रशंसाको माला नै लगाइदियो रे ?

हो नि । त्यसका लागि कम मेहनत गरेकी थिएँ त ! त्यही मेहनतको फूल फुलिरा’छ अहिले । हेर्नेहरू सबैले प्रशंसा गरेका छन् ।
कस्तो मेहनत गर्नुभा’थ्यो ?
सय वर्षअघिको समाजका मान्छे, तिनको रहनसहन, बोली सबै उतार्नु थियो । त्यसका लागि हामी रिहर्सल र सुटिङ गर्न धादिङको कात्तिके पुगेका थियौँ । महिना दिनसम्म नुहाइनँ मैले । अघिपछि दिनदिनै नुहाउने बानी, त्यो बेला एक महिनासम्म जिउमा पानी नहाल्दा त ‘टर्चर’ नै भा’थ्यो नि । जिउ चिलाएर उधुम भएको थियो, ढाडभरि फोकैफोका आएका थिए । गर्दनमा मयल जमेर लेघ्रैलेघ्रा भएको थियो । अझ, कात्तिकेबाट पनि माथि, ढुंगैढुंगाको बाटोमा चारपाँच घण्टा पैदल हिँड्दा बेहाल भा’थ्यो । तर, त्यो बेला मैले जिन्दगीलाई नजिकबाट हेर्ने अवसर पाएँ । दुःखलाई केही हदसम्म बुझेँ । सुटिङ सकाएर फर्किंदा अचम्मको अनुभव भएको थियो ।
फिल्म खेल्नुअघि ‘झोला’ कथा पढ्नुभएको थियो ?
तीन÷चार वर्षअघि नै पढेकी थिएँ । किताब पढ्ने बानी छ मेरो । कृष्ण धरावासीको यो कथा मलाई असाध्यै मन परेको थियो । यसमै आधारित फिल्म खेल्न पाइएला भन्ने सोचेकी थिइनँ । जब अफर आयो, दंग परेँ । तर, यसको एक भागमा ‘न्युड’ हुनुपर्ने सिन छ । त्यो सिन कसरी खिच्ने होला भन्ने ठूलो पीर थियो । त्यसैले फिल्म साइन गर्नुअघि निर्माता, निर्देशकसँग यसबारे प्रस्ट हुन चाहेँ । सात÷आठ पटक त ‘मिटिङ’ नै बस्यौँ । मैले ‘त्यो सिनमा मबाट धेरै एक्स्पेक्ट नगर्नुहोला’ भनेपछि उहाँहरूले ‘चिटिङ’ गरेर खिच्ने निर्णय गर्नुभयो । त्यसपछि बल्ल राजी भएकी थिएँ ।
कस्तो चिटिङ गरियो ?
यो फिल्म बौद्धिक जमातले हेर्छ भन्ने थाहा थियो हामीलाई । त्यसैले त्यो सिनलाई बडो बुद्धिमानीपूर्वक, सुन्दर र ‘सिम्बोलिक’ ढंगले खिच्नुपर्छ भन्नेमा सचेत थियौँ । त्यसका लागि ठ्याक्कै मेरो छालाको रङको कस्ट्युम बनाइएको थियो । मैले त्यही कपडा लगाएर त्यो सिन गरेकी थिएँ । हेर्दा ‘नेकेड’जस्तो देखिए पनि मेरो शरीरबाट कपडा उत्रिएका थिएनन् ।
तपाईहरूले चिटिङ गरे पनि साधारण दर्शकले त्यो बुझ्दैनन् । यस्तो सिन दिँदा आफ्नो छवि बिग्रेला कि भन्ने पीर परेन सुरुमा ?
मलाई दर्शकले शालीन हिरोइन भन्ने गरेका छन् । त्यो छविलाई ‘मेन्टेन’ गरेकी छु र सधैँभरि गर्नेछु । भनेँ नि, त्यो सिन कसरी खिच्ने भन्ने विषयमा ‘क्रिस्टल क्लियर’ भएर मात्रै मैले ‘हुन्छ’ भनेकी थिएँ । र, यो आफैँमा स्तरीय र गहन विषयको फिल्म भएकाले मेरो कामको अनर्थ लगाइँदैन भन्नेमा ढुक्क थिएँ ।
अब आउन लागेको फिल्म ‘पराई’बाट पनि प्रशंसा पाइएला ?
पाउँछु नि । सास रहुन्जेल आश रहन्छ भन्छन् । त्यो फिल्म पनि कम छैन । विषयवस्तु राम्रो छ । त्यसका लागि पनि उत्तिकै मेहनत गरेकी थिएँ ।
प्रमोसनका बेला ‘फिल्म चल्छ’ भनेर ठोकुवा गर्नुहुन्छ । तर, हलमा उत्रेपछि अधिकांश फिल्मले ‘पानी’ पनि भन्न पाउँदैनन्…
अहिलेको अवस्थामा फिल्महरू भकाभक हिट भइदिए भने हाम्रो (फिल्म क्षेत्रको) पतन हुन्छ । हामीमा नयाँ काम गर्ने, मेहनत गर्ने, सिर्जनशील बन्ने जाँगरै मर्छ । राम्रोका लागि केही नराम्रो हुनैपर्छ । संकटपछि नै सहजता आउँछ भन्छन् नि, अहिले हाम्रो फिल्म क्षेत्र संकटकालबाट बिस्तारै मुक्त हुँदै छ र चाँडै नै सुन्दर अवस्थामा पुग्नेछ । कुरा यत्ति हो, अहिले हामीले आफूलाई निखार्न जरुरी छ, सिक्न जरुरी छ ।
के गर्दै हुनुहुन्छ आजभोलि ?
अस्तिसम्म जाँच थियो । आरडी (रुरल डेभलपमेन्ट)मा मास्टर्स गर्दै छु । पढाइमै तल्लीन थिएँ अस्तिसम्म । अब कामकाजमा लाग्छु फेरि ।
जाँचका विद्यार्थी त दुब्लाएर सिन्कोजस्ता हुन्थे । तपार्इं मोटाउनु भएछ ?
हो र ? मोटाइछु ? होला, होला । यो किनभने म अरूजस्तो टुप्पी कसेर, खानपिनै छोडेर पढ्दिनँ । बरु, अलि अघिदेखि नै समय मिलाएर किताब हेर्ने गर्छु । त्यसकारण जाँचका बेला प्रेसर हुँदैन । आरामले पढेर जाँच दिन जान्छु ।
आरडी नै रोज्नुको कारण के ? कि तपाई पनि बिस्तारै समाजसेवामै लाग्ने हो ?
समाजसेवा गर्ने रहर छ । ग्रामीण भेगको विकास गर्न सकियो भने देशकै विकास हुन्छ । यो नयाँ विषय भए पनि यसले अहिले राम्रो ‘मार्केट’ लिएको छ । त्यसैले म आकर्षित भएकी हुँ ।
समाजसेवा गर्ने लहडै चलेको छ नि हिरोइनहरूमा ?
यो राम्रो कुरा हो । लहड नै सही, हिरोइनहरूले असहाय, अशक्त र पिछडिएको वर्गलाई थोरै भए पनि सहयोगको हात बढाएका छन् । यसले आम मानिसमा पनि समाजसेवा गर्र्नुपर्छ भन्ने भाव पैदा गर्न सक्छ ।
फिल्म क्षेत्रमै समर्पित हुने सोच हो ?
एउटै क्षेत्रमा मरिहत्ते गरेर लाग्नुपर्छ । तर, साथमा ‘प्लान बी’ पनि हुनुपर्छ । मेरो मामिलामा पनि कुरा यस्तै हो । म फिल्म क्षेत्र वा अभिनयका लागि सक्दो र सार्थक मेहनत गर्नेछु । तर, जब मेरो आश मर्छ, जब यो क्षेत्रबाट मैले अलग्गिनुपर्छ, त्यति बेला म विकल्परहित हुनेछैन । मसँग ‘प्लान बी’ छ ।
सधैँ काममात्रै गर्ने कि घरजम पनि बसाल्ने ?
अब बेला भयो जस्तो लागेको छ मलाई पनि । मेन्टल प्रिपरेसन गर्दै छु । केही समयपछि गर्छु ।
वर तयार छन् कि कसो ?
होइन । खोज्नुछ । म आफैँ खोज्छु ।
तपाईंको नाउँ अहिलेसम्म कोहीसँग जोडिएन…
मैले सधैँ आत्मनिर्भर हुन चाहेँ । अरूसँग नाममात्रै जोडाउँदा पनि मेरो कामको जस अरूले पनि पाउँथे वा उसका कारण म टिकेको चर्चा चल्थ्यो । यो विषयमा म सधैँ सतर्क भएर हिँडे ।
जतिसुकै सर्तक भए पनि आकर्षण त हुन्थ्यो होला । कसरी सम्हाल्नुहुन्थ्यो आफूलाई ?
म एउटी स्वस्थ युवती हुँ । त्यसकारण विपरीत लिंगीप्रति आकर्षण हुने नै भयो । तर, एउटा समस्या भनौँ कि के भनौँ, मलाई कस्तो हुन्छ भने कोही पुरुष परबाट हेर्दा राम्रो लाग्छ तर जब उसले आफूलाई अप्रोच गर्छ म स्वतः टाढिन थाल्छु । मलाई ‘अहिले लभ–सभ गर्ने बेला होइन’जस्तो लाग्थ्यो । अब चाहिँ बेला भयो भन्ने महसुस भएको छ । कोही ठीक लाग्यो भने परिवार र साथीभाइलाई देखाएर, सरसल्लाह मागेर बिहे गर्छु ।
अहिलेसम्म बिहे गरौँ–गरौँ लाग्ने केटा भेट्नुभएको छैन ?
त्यतातिर विचारै नगरेकाले नभेटिएका होलान् । तर, साथीभाइले चाहिँ जिस्काउँछन्, म लभ गर्ने खालकी केटी छु रे । तर, लभ गरेर झुलिँदै बस्नेभन्दा पनि ‘डाइरेक्ट’ बिहे गर्ने सोच थियो मेरो ।
अहिलेसम्म लभ गरिएन उसोभए ?
म सधैँ संस्कारले बाँधिएँ । हुन त लभ गर्नु नराम्रो होइन, तर हाम्रो समाज, मेरा परिवारले मलाई लभ गर्दै हिँड्नु राम्रो हो भनेर सिकाएनन् । मन पर्ने, पराउने धेरै भेटिए । तर, कसैसँग अफेयर चलेन ।
संस्कारमा बाँधिएकी चेली, यो रंगिन दुनियाँमा कसरी छिर्नुभयो ?
म सानैदेखि नाच्थेँ । स्कुलका कार्यक्रममा धक नमानीकन नाचेको देख्दा सबैले राम्रो मान्थे । फिल्म, एक्टिङमा पनि आकर्षण थियो । यो क्षेत्रमा लाग्छु भन्ने त थाहा थियो तर यति छिट्टै लागौँला भन्ने लागेको थिएन । मेरी दिदी हेमा पन्त हिरोइन हुनुहुन्थ्यो । उहाँको सुटिङ हेर्न दाइ र म पोखरा गएका थियौँ । त्यहाँ ‘हेमाकी बहिनी कस्ती राम्री छ’ भन्ने हल्ला चलेछ । निर्देशकज्यूले ‘नरमणि’ भन्ने सिरियलका लागि प्रस्ताव गर्नुभयो । मैले हुन्छ भनेँ, खेलेँ पनि । तर, त्यो सिरियल प्रसारण भएन । मेरो काम भने एक कान, दुई कान, मैदान भयो ।
सिरियलबाट फिल्ममा जम्प हान्नुभयो । त्यसपछि तपाईंंका थुप्रै फिल्म देखापरे । तर, तपाई न कहिल्यै त्यस्तो हिट हुनुभयो न त फ्लप नै । किन होला ?
धेरैले यसै भन्छन् । खासमा म मिडियाबाट टाढा भएकाले पछाडि परेकी हुँ । अरूझैँ मिडियाको पछि लागिनँ । म सधैँ कामको पछि दौडिएँ । मैले आफूलाई भन्दा बढी कामलाई प्राथमिकता दिएँ । कामले नै चिनिऊँ भन्ने लाग्यो । अहिलेको जमानामा आफ्नो मार्केटिङ पनि गर्नुपर्ने रहेछ । तर, मलाई त्यसमा अफसोच छैन । ढिलै भए पनि यस पालि मेरोे कामले प्रशंसा पाएको छ । यसलाई जोगाइराख्ने लक्ष्य छ ।
– शुक्रवारबाट

 

Facebook Comments