गायक बन्छु सोचेको थिइनँः राजु लामा(मंगोलियन हार्ट)

मनोरंजनसंसार डटकम | Friday, December 13th, 2013

चर्चित गायक राजु लामा अमेरिका बस्छन् । आफूलाई मंगोलियन हार्टसँग जोडेर मात्र चिनाउँछन् । युवापुस्तालाई उनका धेरै गीत कण्ठ छन् । गाउन भनेपछि जतिसुकै सानो कार्यक्रममा पनि पुगिदिन्छन् उनी । एल्बम बिक्री शून्य भएका बेला थुप्रै नेपाली गायकले झैँ उनले पनि स्टेजलाई नै बाँच्ने आधार बनाएका छन् ।

निकै वर्षपछि स्वदेशमा दसैँ मनाउनुभयो क्यारे यसपालि ?
सात वर्षपछि मनाएको हुँ । मनाउने भन्नाले हामी टीका–जमरा लगाएर दसैँ मनाउँदैनौँ । म बुद्धिस्ट हुँ । तर, दसैँका अन्य रौनकमा सामेल भइयो । साथीभाइ, आफन्तजनसँग भेटघाट भयो । थुप्रै कार्यक्रम गरियो । घुमघाम गरियो । पिङ पनि खेलियो । रमाइलै भयो दसैँ ।
बौद्धमार्गी हुनुहुन्छ । मंगलवार चाहिँ गणेशजीको व्रत बस्नुहुन्छ रे…।
भगवान्मा आस्था छ । गणेशजीको व्रत बस्यो भने आँटेको काममा सफलता मिल्छ भन्छन् । दश वर्षअघि साथीहरूको लहैलहैमा लागेर व्रत बसेको थिएँ । ती साथीले उहिल्यै व्रत बस्न छोडिसके । मलाई चाहिँ छोड्न मन लागेन ।
दसैँको बेला एक्लै नेपाल आउनुभएछ । भाउजूलाई किन ल्याउनुभएन ?
उनलाई ल्याउन अलि मिलेन । हाम्रो नानी भर्खर चार महिनाकी भइन् । त्यत्रो बाटो त्यति सानो बच्चा च्यापेर आउन गाह्रो हुने भयो । फेरि नेपाल आउने भएपछि बुहारी मान्छेलाई अनेक चाँजोपाँजो मिलाउनुपर्छ । यसपालि भ्याइएन ।
तपाईले बिहे गरेको कुरा त छोरी जन्मेपछि मात्रै पो थाहा भयो ।
मैले बिहे गरेको दुई वर्ष भइसक्यो । खास कुरा के भने, हामीले बडो तामझाम, धुमधडाका गरेर बिहे गरेनौँ । साधारण तरिकाले सानो ‘ग्यादरिङ’मा बिहे भयो । त्यसैले त्यति होहल्ला भएन । धेरैले थाहा पाएनन् । छोरी जन्मिएपछि चाहिँ उनको र मेरो फोटो फेसबुकमा हाल्दिएको थिएँ । एक लाखभन्दा बढी फलोअर छन् मेरा । उहाँहरू सबैले थाहा पाउनुभयो । लाइक्स र कमेन्ट थुप्रै आए ।
अविवाहित भन्ठानेको गायकले छोरीसहितको फोटो देखाउँदा कतिपय युवतीको होसै उड्यो रे । तपाईंका केही डाइहार्ड फ्यान त धरधरी रोए रे ?
हो र ? आम्मै, त्यसरी चित्त दुखाउनु हुँदैन नि । मन पराउने, मन पर्नेहरू थुप्रै हुन्छन् । विवाह भन्ने चिज निधारमै लेखिएकोसँग हुन्छ । के गर्ने ? तर, बिहे र मेरो स्वरसँग के सम्बन्ध भयो र ? बिहेपछि मेरो स्वर बिग्रिने होइन । मेरा गीत, मेरा सिर्जना मन पराउनेलाई खासै फरक नपर्नुपर्ने हो ।
कहिले र कसरी भेट भयो भाउजूसँग ?
चार वर्षअघि न्युयोर्कमा चिनजान भएको हो । उनी मेरा कार्यक्रममा आउने गर्थिन् । सुरुसुरुमा ‘हाई, हलो, सन्चै ?’ मात्र भनिन्थ्यो । पछि, राम्रै कुराकानी हुन थाल्यो । केही समय साथीमात्रै भयौँ । बिस्तारै माया बस्यो । र, बिहे ग¥यौँ । बिहे त ग¥यौँ तर नेपाल आएर रीतिरिवाजअनुसार बिहे गर्न चाहिँ बाँकी नै छ हाम्रो । छोरी अलि ठूली भएपछि तीनैजना आउँछौँ । त्यही बेला रीतिरिवाज पूरा गर्नुपर्ला ।
बाउआमाको बिहे छोरीले पनि देख्न पाउने भइन् उसोभए ?
हाम्रो संस्कृतिमा यस्तो चल्छ । फेरि, यो एउटा ‘रिसेप्सन’ जस्तो न हो । मेरी श्रीमती र मेरो परिवारको भेटघाट भएको छैन । स्काइपमा मात्रै देखादेख भएको छ । त्यसैले उनी नेपाल आउँदा रीतिअनुसार बिहे गर्न खोजेका मात्रै हौँ ।
तपाईं सिन्धुपाल्चोकमा जन्मिनुभएको । कति समय बसियो त्यहाँ ?
पाँच वर्षको छँदा नै काठमाडौँ आएको थिएँ । दिदीभेनाकहाँ बसेर पढ्थेँ । जाडो बिदामा गाउँ जान्थेँ । हाम्रो गाउँमा राम्रो स्कुल थिएन । भएको भए उतै पढ्थेँ, हुर्किन्थेँ होला ।
स्कुलमा छँदा कस्तो स्वाभावको हुनुहुन्थ्यो ?
मिलनसार थिएँ । कम्ती बोल्थेँ तर अलिअलि बदमास थिएँ । आठ÷नौ क्लासमा पढ्दा साथीहरूसँग मिलेर कुन्नि के बदमासी गरेको थिएँ, सरले ‘तँलै एसएलसी पास गरिस् भने कान काट्दिन्छु’ भन्नुभएको थियो । म पढाइमा त्यति नराम्रो थिइनँ । त्यसैले पास भएँ ।
तपाईंले एसएलसी दिनासाथ ‘सोल्टिनी’ एल्बम निकाल्नुभयो । एल्बम निकाल्ने खर्चपानी कसरी जुट्यो त्यो बेला ?
ठमेलमा मेरो भेनाको गेस्टहाउस थियो । दिउँसोदिउँसो म त्यहाँ यसो हेरविचार गर्ने काम गर्थें । भेनाले तलब पनि दिनुहुन्थ्यो । त्यही पैसा जम्मा पारेको थिएँ । केही रकम साथीभाइले पनि हालिदिए अनि एल्बम तयार भयो । मेरो परिवारले रेडियोमा गीत बज्न थालेपछि मात्रै मैले एल्बम निकालेको थाहा पाएको थियो ।
गायनमा यस्तो लगाव भएको मान्छेले प्लस टूमा विज्ञान विषय लिएर पढ्नुको कारण के थियो ?
मैले म गायक बन्छु भन्ने एकरत्ति पनि सोचेको थिइनँ । मलाई कि इन्जिनियर नभए आर्मी बन्ने रहर थियो । इन्जिनियरिङ गरौँला भनेर साइन्स पढेको थिएँ । आर्मीपट्टि पनि दुईदुई चोटि ट्राई गरेँ । तर, दुवै पटक फेल भइयो । सँगसँगै म गायनमा पनि लागिरहेकै थिएँ । बाह्र क्लास पुग्दासम्म मलाई मान्छेले गायक भनेर चिन्न थालिसकेका थिए । कार्यक्रमका लागि अफर आइरहन्थे । बिस्तारै आफूलाई पनि गाइ नै रहुँ जस्तो लाग्न थाल्यो । स्नातक तहमा आटर््स लिएर पढ्न थालेँ । त्यसपछि त संगीत नै जीवन भयो मेरो ।
संगीतसम्बन्धी औपचारिक क्लास लिनुभयो कहिल्यै ?
अहिलेसम्म लिएको छैन । जे जति जानेको छु, सबै अनुभवले सिकाएको हो ।
तपाईंको ब्यान्ड छ । आफू अमेरिकामा बस्नुहुन्छ । विदेशमै बढी कार्यक्रम गर्नुहुन्छ । यो तालले त ब्यान्डसँगको सम्बन्ध पर पर हुने सम्भावना हुन्छ नि ?
हुँदैन । जहाँ बसेर जतासुकै कार्यक्रम गरे पनि मैले ‘मंगोलियन हार्ट’कै प्रतिनिधित्व गर्ने हो । ‘राजु लामा, मंगोलियन हार्ट’ भनेर नै आफूलाई चिनाउने गर्छु । फेरि, बेलाबेलामा नेपाल आएर ब्यान्डसँग कार्यक्रम पनि गरिरहन्छु । कहिलेकाहीँ ब्यान्डसँगै विदेशमा कार्यक्रम गरिन्छ । हामीबीच राम्रो समझदारी छ । त्यस्तो समस्या आउँदैन ।
अमेरिका बस्नुपर्ने कारण चाहिँ के हो ? स्वदेशमै बसेर संगीत सिर्जना गरे हुँदैन ?
म गायक हुँ । मेरो काम गाउने र संगीत सिर्जना गर्ने हो । जहाँ बसे पनि आफ्नो काम गरेकै छु । नेपाली गीत गाउन नेपालमै बस्नुपर्छ भन्ने छैन । बस्न त म जहाँ पनि पाउँछु । फेरि, विदेश गएर उतै पलायन भएको भए अर्कै कुरा हुन्थ्यो । म बेलाबेला नेपाल आइरहन्छु, गीत गाइरहन्छु ।
‘मंगोलियन हार्ट’का थुप्रै गीत हिट छन् । भोल्युम एकदेखि पाँचसम्मका एल्बमले राम्रो व्यापार पनि गरे । तर, पोहोर साल निकालेको एल्बम भोल्युम ६ भने खासै चलेन । किन होला ?
यो एल्बमको राम्रो प्रचारप्रसार भएको छैन । धेरैले मलाई ‘नयाँ एल्बम किन ननिकालेको ?’ भनेर सोध्छन् । जबकि पोहोरमात्रै नयाँ एल्बम सार्वजनिक गरिएको थियो । त्यसमाथि अहिले म्युजिक भिडियो ननिकालेसम्म गीत चल्ने अवस्था छैन । हामीले दुईतीनटा गीतको भिडियो बनाउने प्लान गरेका छौँ । एउटा म्युजिक भिडियो चाहिँ दुई÷चार हप्ताभित्रै रिलिज गर्छौँ । त्यसपछि चाहिँ केही होला कि ?
नेपाली संगीत क्षेत्रलाई दुई दशकदेखि नियालिरहनुभएको छ । तपाईले गाउन सुरु गर्दा र अहिलेको अवस्था दाँज्दा कस्तो अनुभव हुन्छ ?
त्योबेलाको जस्तो सांगीतिक माहोल अहिले छैन । अहिले गायकगायिका बग्रेल्ती छन् । स्रोता पनि बाँडिएका छन् । सांगीतिक कार्यक्रमको प्रकृति फेरिएको छ । पहिलेपहिले बेलाबखत कार्यक्रम आयोजना गरिन्थे । भएभरका स्रोता ती कार्यक्रम हेर्न आउँथे । ठूलो मासअगाडि गाउन पाइन्थ्यो । अहिले स–साना कार्यक्रम धेरै ठाउँमा हुन थालेका छन् । हामीले जहाँ पनि गाउनुपर्ने हुन्छ ।
तपाईंजस्तो स्थापित, गने–मानेको गायक जहाँ पनि उपस्थित भइदिनु राम्रो कुरो हो र ? गायकले आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्दैन ?
एल्बमको बिक्री शून्य छ । रोयल्टी पाइँदैन । पाइरेसी उस्तै छ । हामीले संगीत क्षेत्रमा गरेको लगानी फिर्ता उठ्ने अवस्था छैन । यस्तो बेला गायकगायिकालाई बचाउने एकमात्रै चिज भनेको स्टेज कार्यक्रम हो । तिनमा पनि ‘मास सानो भयो, मेरो स्ट्यान्डर्ड घट्छ’ भन्नथाल्यो भने त गायकगायिकाले गाउनै छोडे हुन्छ । पैसा तिरेर आएको एक जनामात्र स्रोताका लागि पनि हामीले गाइदिनुपर्छ ।
कतिपयले ‘राजु लामाका गीत राम्रै हुन् । तर, गीतभन्दा पनि ऊ आफ्नो लुक र स्टाइलले बढी चलेको हो’ भन्दा रहेछन् नि ?
खै ? मेरो स्टाइल नै के छ र ? डे«सअपको कुरा गर्दा म आफूलाई जेमा सजिलो महसुस गर्छु, त्यही लगाउँछु । तर, मलाई त मभन्दा मेरा गीत धेरै राम्रा छन् जस्तो लाग्छ । होइन र ?
समाजसेवामा पनि हात हाल्नुभएको छ क्यारे ?
हो । राजु लामा फाउन्डेसन भन्ने संस्था खोलेका छौँ । यसले नेपालका ग्रामीण क्षेत्रका केही स्कुललाई सहयोग गरेको छ । आउँदो नोभेम्बर ८ मा प्रज्ञा प्रतिष्ठानमा हामीले हाम्रो ब्यान्डको सबैभन्दा ठूलो कन्सर्ट गर्दैछौँ । यसबाट उठेको रकम फाउन्डेसनमार्फत सिन्धुपाल्चोकको एक स्कुलको भवन मर्मतका लागि खर्च गरिनेछ ।

अहिलेसम्म राजु लामाबारे हामीले थाहा नपाएको एउटा तथ्य सार्वजनिक गर्दिनुुस् ।
मलाई पर्यटनमा लगाव छ । धेरै वर्षअघि पर्यटक गाइडका रूपमा लाइसेन्स पनि लिएको थिएँ । तर, एक दिन पनि गाइड भएर काम गरिएन ।

Facebook Comments