काठमाडौ, असार ३१ – फिल्म क्षेत्रमा प्रवेश गर्दा म १४ वर्षकी मात्रै थिएँ । शाही नेपाली चलचित्र निगमले बनाएको ‘सन्तान’बाट यात्रा थालेकी हुँ । निर्देशक हुनुहुन्थ्यो- प्रकाश (थापा) दाइ । त्यसपछि शम्भु प्रधानको ‘मायालु’ खेलें । यो सन् १९९० को कुरा हो । यो फिल्म पछि मुम्बई गएँ, कोर्स गर्न र उतै केही हिन्दी फिल्ममा खेलें । एकवर्षे मुम्बई बसाइपछि नेपाल फर्केर किरण प्रधानको ‘कस्तूरी’, महेन्द्रभक्त श्रेष्ठको ‘अरुणिमा’, सुबोधकुमार पोखरेलको ‘मनकामना’ र नारायण पुरीको ‘तपस्या’ गरें । यतिधेरै फिल्मपछि मात्रै सन् १९९४ मा राजेन्द्र सलभ निर्देशित फिल्म ‘भाउजू’मा राजेश हमाल र मैले संगै काम गरें ।
हुन त त्यसको पाँच वर्षअघि नै दीपक रायमाझीको फिल्म ‘भाग्यरेखा’मा राजेश हमाल र मलाई लिइएको थियो । त्यसको शुभमुहूर्त पनि भएको हो । किन हो कुन्नि पछि मलाई हटाइयो । दस दिनको सुटिङपछि राजेशजीलाई पनि हटाइएको रहेछ । यसमा के भएको थियो मलाई खासै थाहा भएन । चासो पनि लिइनँ । त्यसपछि म मुम्बई गइहालें ।
राजेशजीसँगको पहिलो भेट अझै याद आउँछ । ‘भाग्यरेखा’ गर्ने भएपछि उहाँकै मामा दीपक रायमाझीले मलाई ‘राजेश हमाललाई गएर भेट’ भन्नुभएको थियो । एक दिन एकजना दिदीसँग राजेशजीकै घर लैनचौर पुगें । हिरो भनेपछि मनमा अनेकथरी परिकल्पना गरेर गएकी थिएँ । भेटेपछि त अग्लो, कालो अनि सोऽऽऽ डिफ्रेन्ड नि । उहाँले त सीधै मलाई ‘हाइट सानो भो’ भनिदिनु भो । बिचरी म १४ वर्षीय न थिएँ । मलाई भित्रभित्रै रिस पनि उठेको थियो । अनि त्यसपछि उहाँले ‘ब्वाइफ्रेन्ड छ ?’ भनेर सोध्नु भयो । एकैछिनको कुराकानी पछि हामी कफी खाएर बाहिरियौं ।
‘भाउजू’ फिल्ममा हामीले सँगै काम गर्दा मेरो ‘मनकामना’ फिल्म हिट भइरहेको थियो भने उहाँको चाहिँ ‘युगदेखि युगसम्म’ । यस्तो बेला हामीले सँगै काम थाल्यौं । त्यतिन्जेल उहाँ निकै चर्चित भइसक्नुभएको थियो । म मुम्बईमा फिल्म खेलेर आको । खासमा भन्ने हो भने उहाँसँगका सुरुआती दिनहरू मलाई कम्फरटेबल नै फिल भइरहेको थिएन । उहाँको स्वभावको कारणले पनि हुन सक्छ । तर, पछि त उहाँ रियल्ली ह्यान्डसम, निकै जेन्टलमेन र कोअपरेटिभ पाएँ । अहिले पनि उहाँको स्वभाव उस्तै लाग्छ । बरु बोल्दै नबोल्ने, तर अरूलाई हर्ट नगर्ने । अनि बौद्धिक पनि । उहाँको व्यक्तित्वको सम्मान गर्छु ।
यो किन भनिरहेकी हुँ भने मैले नेपाली फिल्म क्षेत्रको तीन पुस्ता देखेकी छु । रेखा थापा, अरुणिमा लम्सालदेखि निशा अधिकारीसम्मको पुस्ता भनौं न । यो बीचमा धेरै व्यक्तिमा स्वभाव र व्यवहारगत उतार-चढाव र चमक-धमक देखेकी छु । तर राजेशजी मात्रै यस्तो व्यक्ति हुनुहुन्छ उहाँका स्वभाव र व्यवहारमा उतार-चढाव छैन । एकनाश । त्यस्तै जेन्टलमेन, म्याच्योर, अनि उस्तै स्वभाव । केही उच्छृंखलता पनि छैन । अहिले बिहेको सन्दर्भ र बिहेपछिको केही प्रचारात्मक क्रियाकलाप भने अलिक असुहाउँदिलाजस्तो लागेको हो । उहाँजस्तो भलाद्मी मान्छे अलिक सस्तो ढंगले प्रस्तुत हुनुभएको हो कि भन्ने लाग्छ ।
मुम्बईबाट फर्केर ‘कस्तुरी’ फिल्म गरिरहेकै बेला मेरो बिहे भइसकेको थियो । बिहेपछि मात्रै राजेशजीसित फिल्ममा काम गर्ने अवसर जुरेको थियो । त्यो फिल्म गर्ने बेलाको थुप्रै याद छन् । मुम्बईबाट कुकुर नै झिकाइएको थियो । कुकुरको अभिनय राम्रै थियो । त्यस बेलाको नेपाली फिल्ममध्ये निकै नै तामझाम सहितको सुटिङ भएको थियो । भनिहालें- सुरुमा राजेश हमालसँग कामै गर्न सकिँदैन कि जस्तो लाग्थ्यो, ‘भाउजू’को पहिलो सुटिङमा पनि त्यस्तै लागेको थियो । पछि निकै कम्फरटेबल पाएँ । धनकुटाको हिलेमा भएको सुटिङ कहिल्यै भुल्दिनँ । हरेक साँझ नृत्य प्राक्टिस हुन्थ्यो ।
सहरदेखि त्यति टाढाको पहाड मेरो लागि नयाँ अनुभव थियो । नेचर लभर भएकीले त्यतिबेला त हिलेमा जे देखे नि राम्रो लाग्थ्यो । तर त्यसपछि त्यहाँ जाने कुनै पनि अवसर जुरेन ।
एकसाँझ हामी बसेको घरै ढाकिने गरी गन्हाउने कीरा (सलह) आयो । गाउँभरि सबै घरमा नि । म यति डराएको थिएँ कि, त्यसको गन्धले एलर्जी नै भएर इन्जेक्सन लाउनुपर्यो । ती दिन सम्झिंदा रमाइलो लाग्छ ।
कान्तिपुरबाट