Tue. Apr 30th, 2024
काठमाडौं, वैशाख ३० । फिल्म सम्बन्धी अनलाइन पत्रिका फिल्मीखबर डटकमले जेठ २६ गते ‘दोस्रो अनलाइन फिल्मीखबर अवार्ड २०७१(ओफा) आयोजना गर्ने भएको छ । अवार्डको शीर्ष प्रायोजन मिन्स्क भोड्काले गरेको छ । फिल्मीखबर डटकमको यो दोस्रो अवार्ड संस्करण हो ।
फिल्मीखबर डटकमले राजधानीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अनलाइनका प्रधानसम्पादक तथा कार्यक्रम अध्यक्ष सुमन गैरेले संस्थाको छैटौं वार्षिकोत्सवको अवसर पारेर अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार अवार्ड पपुलारिटीका आधारमा वितरण गरिनेछ । अवार्डका निर्देशक सुरेशदर्पण पोखरेलले २०७० सालमा रिलिज भएकामध्ये लोकप्रियताका आधारमा अगाडि रहेका फिल्म, फिल्मकर्मी तथा प्राविधिकका लागि १७ प्रतिष्पर्धी र तीन अप्रतिष्पर्धी विधामा अवार्ड दिइने बताए ।
पोखरेलका अनुसार अप्रतिष्पर्धी विधामा क्रिटिक्स अवार्ड, पपुलर एक्जिविटर र लाइफटाइम अचिभमेन्ट अवार्ड छन् । प्रतिष्पर्धी विधामा पपुलर फिल्म, पपुलर निर्देशक, पपुलर अभिनेता, पपुलर अभिनेत्री, पपुलर स्कृप्ट, पपुलर संगीतकार, पपुलर गीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर छाँयाकार, पपुलर द्वन्द्व निर्देशक, पपुलर नृत्य निर्देशक, पपुलर सम्पादक, पपुलर नवनिर्देशक, पपुलर नवअभिनेता, पपुलर नवअभिनेत्री र पपुलर फेसन डिजाइनर रहेका छन् ।
आयोजकले चाँडै नै लाइफटाइम अचिभमेन्ट प्राप्त गर्ने स्रष्टाको नाम सार्वजनिक गर्ने जानकारी दियो । अघिल्लो वर्ष यो अवार्ड वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह)लाई प्रदान गरिएको थियो ।
%d bloggers like this: