Thu. Apr 25th, 2024

काठमाडौं । नेपाली सुगम संगीतमा पछिल्लो समयमा नारी गीतकारको प्रवेश क्रम ह्वात्तै बढेको छ । यो क्रमलाई निरन्तरता दिँदै वीरगञ्ज घर भई हाल राजधानीको बालुवाटार बस्दै आएकी गीतकार विष्णा विरहीले ‘सन्ताप’ नामक दोस्रो एकल एल्बम श्रोतामाझ ल्याएकी छन् ।
वरिष्ठ संगीतकार तथा मेलोडी किङ शम्भुजित बास्कोटाको एकल संगीत रहेको एल्बम वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र महिला गीतकार संघकी अध्यक्ष उन्नति बोहोरा ‘शिला’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरे । एल्बममा ‘नजलाउ नजरको तापले’, ‘टुक्रिएका मनका कुना’, ‘चुमेर नजर नजरले’, ‘आज फेरी घरीघरी’, ‘किन आउँछौ परेलीमा’ र ‘धेरै नजिक नआउ तिमी’ बोलका गीत छन् । गीतमा जुना प्रसाई, दिपक लिम्बु, मिलन अमात्य, सत्यराज आचार्य, संगीता राणा प्रधान र आनन्द कार्कीको स्वर रहेको छ ।
बाल्यकालदेखि नै गीत लेखनमा रुचाउने उनले केही वर्ष अघि ‘विरह’ नामक एल्बम श्रोतामाझ ल्याईसकेकी छन् । ‘मेरो अहिलेको एल्बममा प्रेमका कुरा समेटिएका छन्,’उनले भनिन्,‘अरुको कथा व्यथाले छोएपछि मलाई गीत लेख्न फुर्ने गर्छ ।’ उनको एल्बमलाई बंगलामुखी अडियो भिडियोले बजारमा ल्याएको हो ।

%d bloggers like this: