Sun. Dec 22nd, 2024

काठमाडौँ । सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र ‘नीरफूल’ हेरेर प्रशंसा गरेका हुन् । पूर्वमन्त्री गुरुङले भने, “हलमै आएर चलचित्र हेरेको मेरो पहिलो अनुभव हो । भूकम्पको त्रासदीसँगै नीरफूलमा सामाजिक विषय उठाइएको रहेछ । निकै खुसी लाग्यो ।”

अर्का पूर्वमन्त्री पन्तले चलचित्र ‘नीरफूल’ ले आफूलाई भित्रैदेखि छोएको बताए । उनले “चलचित्रको प्रस्तुति नयाँ ढङ्गको र निकै भावनात्मक रहेछ । भूकम्पको पृष्ठभूमिमा वैदेशिक रोजगारको कथादेखि थुप्रै बेथिति पनि चलचित्रले उठाएको छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य शाहीले चलचित्रमा हिमाली जनजीवनको सुन्दर प्रस्तुति पाएको बताए । त्यस्तै पूर्वसांसद नवीना लामाले रुबीभ्यालीको सौन्दर्यसँगै तामाङ समाजको सांस्कृतिक पक्ष सुन्दर ढङ्गले चलचित्रमा उतारिएको चर्चा गरिन् । मुलुकभर तेस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘नीरफूल’ फूलमान वलले निर्देशन गरेका हुन् ।

‘फ्यामिली मिसिङ’ को कथासँगै राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबीभ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको छ । चलचित्रले मौलिक, यथार्थपरक र ‘सिस्टम भर्सेस भुइँमान्छे’ को सन्दर्भ उठान गरेको भन्दै समीक्षकहरूबाट प्रशंसा बटुलिरहेको छ ।

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबालगायतले अभिनय गरेको चलचित्र नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको चलचित्रमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिनेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, बिके श्रेष्ठलगायतले निर्माण सहकार्य गरेका छन् । प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Leave a Reply