प्रिमियरमा रूचाइयो ‘नीरफूल’, धेरै दर्शकको मन जित्नसक्ने उपस्थित व्यक्तिहरूको विश्वास

काठमाडाैँ । प्रतिक्षित चलचित्र नीरफूलको काठमाडौंमा प्रिमियर शो भएको छ।

कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा आयोजित चलचित्रको प्रिमियर कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा तामाङ समुदायको भेषभुषामा सजिएर कलाकारहरू डम्फु र तामाङ सेलोमा नाच्दै-गाउँदै उपस्थित भएका थिए। तामाङ सेलोमा नाच्दै आएका कलाकारसँगै दर्शक र पत्रकारहरूले चलचित्र हेरेका थिए।

गणेश हिमालको काखमा रहेको रूबीभ्यालीका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रले तामाङ संस्कृतिसँगै २०७२ को भूकम्पले एउटा परिवारमा निम्त्याएको महाविपद्लाई देखाएको छ।

शुक्रबारबाट देशव्यापी रूपमा चल्ने नीरफूलले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको छ। मौलिक कथावस्तुमा बनेको चलचित्रले धेरै दर्शकको मन जित्नसक्ने प्रिमियर शो हेरेकाहरूले बताए।

उपहारखबर मिडियाका सम्पादक राम दत्त मिश्रले लेखेका छन्, ‘भाषिक समस्या, नेपालको राजनीति, संघसंस्थाहरूको गतिविधि लगायत एउटा अटुट प्रेमले गाँसिएको एक परिवार विभिन्न कारणबाट छुट्टिएको पीडा, बाध्यताले विदेशिनु परेको दुखदायी कथा, बिचबिचमा हसाउने अनि सामाजिक कथाले कतै रूवाउने मार्मिक मनछुने कथा, हिमालका मनोरम दृश्य सहितको चलचित्र “नीरफूल” को प्रिमिएर सो हेरेर साच्चिकै मन छोयो ।’

फूलमान वलले लेखन तथा निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, शान्ति वाइवा र जिग्मे छ्योकी मुख्य भूमिकामा छन्।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ।

नेपाल-म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरूङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी वर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन्।

Leave a Reply

Back To Top