काठमाडाैँ । निर्माता रोहित अधिकारीले एकै वर्ष तीनवटा सिनेमा निर्माण गर्ने भएका छन् । उनले एक कार्यक्रमबिच सुयोग गुरुङ, सुरेन्द्र पौडेल र दिनेश राउतको निर्देशनमा तीन वटा फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।
उनले निर्माण गर्ने तीनमध्ये एक ‘फर्की फर्की’मा नायकको रूपमा अनमोल केसी अनुबन्धित भएका छन् । यो फिल्मको लेखन र निर्देशन सुयोग गुरुङले गर्ने भएका छन् ।
सो फिल्ममा अनमोललाइ जसिता गुरूङले नायिकाको रूपमा साथ दिने तय भइसकेको छ ।
त्यस्तै, अर्को फिल्म भने सुरेन्द्र पाैडेलको निर्देशनमा बन्नेछ । उक्त फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका छन् । दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी र खगेन्द्र उक्त फिल्ममा मुख्य पात्र रहनेछन् ।
त्यसैगरी, दिनेश दिनेश राउतले निर्देशन गर्ने अर्को चलचित्रको कथा विकाश सुवेदीले लेख्ने भएका छन् । यी फिल्महरू रोहित अधिकारी फिल्म्स, ओएसआर र हिमालय टिभीको संयुक्त लगानीमा निर्माण हुने रोहितले जानकारी दिएका छन् ।
फिल्ममा मनोजकुमार ओली र रामु न्यौपाने ह–निर्मातामा रूपमा रहनेछन् । तीन वटै फिल्मको छायांकन यसै वर्ष सक्ने रोहितले जानकारी दिएका छन् ।
यसअघि रोहितले गाजलु’ र ‘छ माया छपक्कै’ फिल्म निर्माण गरिसकेका छन् ।
फिल्म ‘फर्की फर्की’को वितरण भने काफिया फिल्मस र एफडी कम्पनीले गर्ने भएका छन् । काठमाडाैँ उपत्यकामा काफिया फिल्मसले वितरणको जिम्मा लिँदा उपत्यका बाहिर भने एफडी कम्पनीले वितरण गर्ने भएको छ ।