काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ युट्युवमा रुचाइएको छ । हलमा राम्रो दर्शक पाउन नसकेको फिल्मले युट्युवमा भने भ्युअर्स पाइरहेको छ ।
ओएसएआर नेपालले २ अक्टोबर अर्थात ४ दिन अगाडि आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक गरेको फिल्मले अहिलेसम्म १६ लाख बढी दर्शक भ्युअर्स पाउँदै युट्युवको २ नम्बर ट्रेन्डिङमा कब्जा गर्न सफल भएको छ ।
फिल्ममा अभिनेता विपिनले एक चर्चित ‘सेल्फी किङ’को उपनामले परिचित टेलिभिजन हास्यकलाकारको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।
गत बर्षको माघमा प्रदर्शनमा आएको फिल्म विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । उनको यो निर्देशन डेब्यु फिल्म हो ।
दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको फिल्ममा प्रवल कोइराला र राजेश विसुराल सहनिर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ ।