Tue. May 14th, 2024

एजेन्सी । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ ।
ब्राजिलले घरेलु मैदानमा बोलोभियालाई ५-० ले पराजित गरेको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।
खेलको १६ औं मिनेटमा नै ब्राजिलले अग्रता लिएको थियो । डिफेन्डर ड्यानीलोको क्रसमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै दक्षिण अमेरिकी च्यापियनलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा फिर्मिनोले अग्रता दोब्बर पारे । नेयामार र रेनान लोडीले पेनाल्टी क्षेत्रभित्र वन-टु पास खेलेपछि लोडीले दिएको लो क्रसलाई फिर्मिनोले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै ब्राजिलले अग्रता बढायो । ४८ औं मिनेटमा नेयामारको क्रसमा फिर्मिनोको प्रहार गोलरक्षकको खुट्टा मुनिबाट छिर्दै गोलमा परिणत भएको थियो । ५७ औं मिनेटमा नेयमारको प्रहारले पोस्टको दिशा लिन सकेन ।
६६ औं मिनेटमा ब्राजिलले ४-० को अग्रता लियो । फिलिपे कोउटिन्होको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका बोलिभियाको डिफेन्डर जोसे मारिया करास्कोको पेटमा लाग्दै गोल भएको थियो । ७३ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ५ गोलको अग्रता दिलाए । उनले नेयमारको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए ।
७८ औं मिनेटमा नेयमारले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै उक्त गोललाई मान्यता दिएनन् । त्यसको केहि मिनेटमा नै नेयमारले गरेको फ्रिकिक प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । इन्ज्युरी समयमा नेयमारको फ्रिकिकलाई गोलरक्षकले सानदार बचाउ गरे ।
दक्षिण अमेरिकी छनोटमा पहिलो चरणको खेल समापन हुँदा ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ । ब्राजिलसँगै कोलम्बिया, उरुग्वे र अर्जेन्टिनाले पनि आ-आफ्नो खेलमा जित दर्ता गरेका छन् । गोल अन्तरको आधारमा ब्राजिल अगाडी रहेको छ । आज भएको पहिलो खेलमा कोलम्बियाले भेनेजुएलालाई हराएको थियो ।
छनोटको दोस्रो चरणमा बोलिभियाले अर्जेन्टिनाको सामना गर्दैछ । मंगलबार हुने खेलमा इक्वेडर र उरुग्वे तथा भेनेजुएला र पाराग्वे खेल्नेछन् । पेरुले ब्राजिलको सामना गर्दै चिली र कोलोम्बियाबीच प्रतिस्पर्धा हुनेछ । छनोटको अन्त्यमा शीर्ष ४ मा रहने टोली सिधै विश्वकपमा खेल्नेछन् भने पाँचौ टोलीले प्लेअफ खेल्नेछ ।

Leave a Reply

%d bloggers like this: