यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार आशिष अविरल र मीना निरौलालाई प्रदान गरिएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपाली सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जनही रु २५ हजार र स्वर्ण पदकसहित पुरस्कृत गरिएको हो ।
विसं २०४२ मा स्थापित सो संस्थाले २०४८ सालमा नारायणगोपाल गुरुवाचार्यका स्मृतिमा सो कोष स्थापना गरेको हो । युवा गायक तथा सङ्गीतकार अविरलले ‘सालको पात…’, ‘लालुमाई…’ तथा निरौलाले ‘काले दाइ काले दाइ…’, ‘ठमेल बजार…’ जस्ता गीत गाएका छन् । यो पुरस्कार हालसम्मा ४६ जनालाई प्रदान गरिसकिएको छ ।