Mon. May 6th, 2024

 

साउनको १३ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आफ्नो पब्लिसिटीलाई थप आक्रामक बनाउँदै लगेको छ । यसै क्रममा निर्माण पक्षले फिल्मका केही पोस्टरहरु सार्वजनिक गरेको छ । टौवा क्रिएसनले तयार पारेको सार्वजनिक पोस्टरले नायक प्रदीप खड्का र नव-नायिका अश्लेषा ठकुरीको प्रेमभाव बोल्छ ।
रामशरण पाठक निर्देशित यो फिल्मले देश दौडाहा थाल्नुअघि बिहीवार पोस्टर रिलिज गरेको हो । आजबाट सुरु हुने कन्सर्ट टुर तनहुँको दमौलीदेखि पोखरा, नेपालगंज हुँदै पूर्वी सहरतर्फ अघि बढ्नेछ । निर्माता सन्तोष सेन भन्छन्, ‘फिल्मको प्रचार प्रसारलाई आक्रामक बनाउने क्रममा देशका विभिन्न ठाउँहरुमा कन्सर्ट आयोजना गर्न लागेका हौं ।’
१५ भन्दा बढीको टुर टिममा निर्माता सेनसहित निर्देशक रामशरण पाठक, नायक प्रदीप खड्का, नव-नायिका अश्लेषा ठकुरी लगायत छन् । झन्डै २ हप्ता चल्ने कन्सर्टमा कभर सङ विजेता र मोफसलका गायक-गायिकाहरुले ‘प्रेमगीत २’ का गीतहरु गाएर आफ्नो प्रस्तुती दिनेछन् ।
 रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
 फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । नेपाल, बर्मा र थाइल्याण्डमा छायांकन गरिएको चलचित्रको हाइप अहिले उच्च छ ।

Leave a Reply

%d bloggers like this: