Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
Deepa-Shree-Niraula
हाँस्य क्षेत्रमा परिचित नाम हो दीपाश्री निरौला । उनलाई हक्की स्वाभावकी कलाकार भनेर पनि चिनिन्छ । रेडियो कार्यक्रम धनियाकी दुनियाबाट हाँस्य क्षेत्रमा प्रवेश गरेकी दीपाश्रीले अहिले पनि त्यो कार्यक्रम चलाउँदै छिन् । उनी आफूलाई नेपाली भएकोमा गर्व गर्छिन । धेरै नेपाली कलाकारले नेपालमा भविष्य नदेखेर विदेशीने गरेको बेला उनी भने बरु नेपालमा भोकै मर्ने तर विदेश पलाएन नहुने बताउँछिन् । यसरी नेपालीमाझ आफ्नो परिचय बनाएकी दीपाश्रीसँग आशिष रानाले गरेको अन्तरंग कुराकानीको छोटो अंश :
तपाईंलाई पत्रकारले धेरै जसो सोध्ने प्रश्न के हो ?
दीपाश्रीले किन बिहे नगरेको ? यही प्रश्न आउछ । त्यो ठिक पनि हो । तपाईंले पनि यहि प्रश्न सोध्नुहोला भन्ने लागेको थियो । तर तपाईंले घुमाइदिनुभयो । म जहिले पनि भन्ने गर्छु सोचे जस्तो हुन्न जीवन । सबै कुरा सोचेको मान्छेले पाउँदैन । त्यसकारणले गर्दा मैले चाहँदा चाहँदै विवाह भएन । किनभने प्रेमको प्रशंगलाई मैले जोड्न खोजेको । त्यसबेला प्रेम गर्ने केटासँग मेरो विवाह गर्ने तय भएको थियो तर अन्तिममा भएन । प्रेम गर्नेसँग त मेरो ट्युनिङ मिलेन या म त्यो मान्छेसँग त अगाडि बढ्न सकिन । भनाईको मतलब यो भगवानको लिला हो । त्यसकारण जे लेखेको हो त्यही पाइन्छ ।
त्यसो भए तपाईलाई त्यसैमा विश्वास छ ?
अँ एकदमै, म त भगवानमा विश्वास गर्ने मान्छु हुँ । म ज्योतिषमा विश्वास गर्छु । म एकदमै आस्तिक स्वभावको मान्छे हुँ । यो सबै उहाँहरुकै देन हो जस्तो लाग्छ ।
धेरै कलाकार विदेशीने गरेका छन्, तपार्इंको त्यस्तो सोच त छैन ?
जिन्दगीमा त्यस्तो सोच्दिँन, सोच्नु पनि नपरोस् । हे भगवान म काम गर्दा गर्दै नेपालमै मर्न पाउँ ।
धेरै कलाकारहरु त सपिङ गर्न विदेश जाने गर्छन । तपाई चाहिँ सपिङ गर्न कहाँ जानुहुन्छ ?
त्यस्तो केही छैन । म जे भेट्छु त्यही लिई हाल्छु । त्यस्तो मेरा स्पेशल ब्राण्ड पनि छैन । मलाई मन प¥यो र मिल्यो भने किनिहाल्छु । यो ठाउँमा जाने सपिङ गर्न भन्ने छैन ।
मासिक कति खर्च हुन्छ ड्रेसमा ?
त्यस्तो यति नै भन्ने छैन । तर कार्यक्रमहरु परयो भने बुटिकमा गएर किन्छु । तर पनि आजकाल त बुटिकहरुले हामीलाई सहुलियत दिएका छन् । त्यसकारण त्यस्तो गाह्रो छैन ।
तपाईंलाई मन पर्ने ड्रेस ?
म अकेजन अनुसार ड्रेस लगाउँछु । मेरो भाइको बिहे छ भने साडी लगाउछु । आफन्तको कोही टाढाको बिहे छ भने आफूलाई सजिलो हुने सुहाउने ड्रेस लगाउछु । जुन बेला जस्तो सुहाउछ त्यही अनुसारको लगाउँछु । त्यो सस्तो होस, महँगो होस् मलाई मतलब भएन तर मलाई सुहाएको हुनपर्छ पर्छ, मलाई राम्रो देखिन मन पर्छ ।
Deepa-Shree-Niraula
तपाई बिहान कतिबेला उठ्नुहुन्छ ?
यही भन्ने छैन । कामको दौरानमा कहिले काहिँ बिहान ५ बजे पनि उठ्छु । हैन भने रेगुलर उठ्दाखेरि ७ बज्छ ।
दैनिकी कसरी बित्छ ?
बिहान उठ्यो नुहाइ धुवाई, पूजाआजा गर्छु । पूजाआजा नगरी म कतै पनि निस्कन्न । सुटिङको क्रममा पनि जतिसुकै चाडै आए पनि म पूजा नगरी निस्कन्न । पूजा नगरी केही पनि खाँदिन । बिहान २० मिनेट सधैं ध्यान गर्छु । सुटिङ छैन भने बिहान हिडेरै पशुपतिनाथ जान्छु । विदेश गएको बेला पशुपतिनाथलाई एकदम मिस गर्छु । त्यसपछि आफ्नो काममा निस्कन्छु ।
deepa-shree-niraula
नेपालको राजनीतिलाई तपार्इंले कसरी बुझ्नुभएको छ ?
खै क्या हो ? क्यो हो ? यो त । राजनेताहरुले त बुझ्न सकेजस्तो लागेको छैन, मैले के बुझेँ होला र ।
अहिले कलाकारहरु पनि राजनीतितर्फ लागिरहेका छन् । कलाकारले राजनीति गर्नु हुन्छ कि हुन्न ?
एउटा पेशामा लागेपछि त्यो पेशालाई न्याय दिनुपर्छ । राजनीति पनि एउटा पेशा नै हो । राजनीतिमा नलाग्नु भन्दिन लाग्नु । तर म चाहिँ कुनै एउटा समूहको झुण्ड भएर बाच्न चाहन्न । म त सबै नेपालीको भएर बाच्न चाहान्छु ।
तपाईंलाई मन पर्ने नेता नि !
मनै पर्ने भनेर त्यस्तो त छैन । तर स्वर्गीय गिरिजाबाबुको जुन एक खालको दृढ स्वभाव थियो त्यो मन पर्छ । उहाँ गर्छु भनेपछि त्यो काम गरेर छोड्नु हुन्थ्यो ।

%d bloggers like this: