Sat. Nov 23rd, 2024

सजना बराल

मान्छेका रुचि र चाहना पनि नसक्नुकै हुन्छन्। आफ्नै रहर देखेर चकित हुन्छु म। हिन्दु धर्मको लक्ष्मण रेखाभित्र जन्मिएकी मलाई बुद्ध धर्मप्रति असाध्यै चाख लाग्छ। आनी बन्ने रहरले मलाई कुत्कुत्याइरहेको छ। अपसोच, म सधैँ विडम्बनाको खाडलमा खस्न पुग्छु। ‘आनी’ को त के कुरा, मलाई बुद्ध धर्मको ‘ब’ पनि उच्चारण गर्ने अनुमति छैन। मेरो परिवार कट्टर हिन्दु। मेरो हजुरआमा वैष्णव, बाआमा कृष्ण प्रणामी, मामामाइजु ओम शान्ति, ठूली आमा साईभक्त।

हिन्दु धर्मभित्रको विविधता रोज्न पाइन्छ तर त्यस विविधताभन्दा एक इन्च पनि पर्तिर जाने इजाजत छैन मलाई। नत्र डेरा खोजेर छुट्टै बस्नुमात्र हैन, परिवारसँग सम्बन्ध नै तोड्नुपर्ने हुन्छ, जुन मेरा लागि सहज छैन।

गोपाल वंशदेखिको नेपाली इतिहासलाई नियाल्दा हिन्दु धर्मले नेपालमा ठूलो कालखण्डमा एकछत्र वैचारिक र भावनात्मक आधिपत्य जमाएको पाइन्छ। जयस्थिति मल्लले गरेको जातीय वर्गीकरणले नेपालीलाई चार जात, छत्तिस वर्णमा विभाजन गर्‍यो। चार जातमध्ये पहिलो र दोस्रो तल्लामा परेका ब्राह्मण र क्षेत्री हिन्दु धर्मका पर्यायी बनेर उभिए। वैदिक कालमा श्रमको आधारमा गरिएको ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको विभाजनलाई बुज्रुगहरूले ‘यु’ टर्न दिएर स्वार्थ सिद्ध गर्ने अखडा बनाए। अन्य वर्गका मानिस हिन्दु धर्मका अनुयायी भए पनि उनीहरूले बाहुन र क्षेत्रीले जत्तिको धार्मिक चुरीफुरी देखाएको पाइँदैन। न त हिन्दु धर्मावलम्बीले अन्य जातिलाई पर्याप्त धार्मिक स्वतन्त्रता नै दिएको पाइन्छ। अझै पनि बाहुनहरू हिन्दु धर्मका सर्वश्रेष्ठ जातिका रूपमा अडिग छन् भने दमाई, कामी, सार्की लगायत जातिलाई कतिपय गाउँघरतिर मन्दिर पस्न नदिने परम्परा ज्युँदै छ।
सभ्यता र विकासको फड्कोले नेपालीहरूमा धार्मिक चेतनाको जग बसाले पनि बाहुन र क्षेत्री भन्नेबित्तिकै उनीहरू हिन्दु धर्मावलम्बी नै हुन् भनेर स्वतः बुझिने मानसिकता छ नेपालीमाझ। भनाइको अर्थ- बाहुन र क्षेत्री जातका जो कोही मानिसलाई पनि उनीहरू बुद्धिस्ट, क्रिस्चियन, मुस्लिम वा अन्य धर्मका होलान् भनेर अड्कल काटिँदैन। उनीहरूलाई सिधै हिन्दु भनेर बुझिन्छ नेपालमा। हुन पनि यी दुई जातका बहुसंख्यक मानिस हिन्दु धर्मकै अनुयायी छन्। यिनलाई प्रतिनिधित्व गर्दै कसैले पनि अन्य धर्ममा हाम फालेर कुनै त्यस्तो रेकर्ड नै कायम गरेको सटिक उदहारण भेटाउन गाह्रै पर्छ।
आजको २१औँ शताब्दी आइरन स्टेज वा कलियुगसम्म आइपुग्दा पनि नेपालीहरूको सोचमा धार्मिक संकीर्णता भने बाँचेकै छ। जोरीपारीले खिसी गर्लान्, घरपरिवारको इज्जत नै जाला वा आफ्नो धर्ममा दाग लाग्ला भनेजस्ता वाहियात डर वा भ्रमले होला हाम्रा बाआमा, अझ हजुरबा-हजुरआमा भएको घरमा त धर्म परिवर्तन गर्नु भनेको फलामको चिउरा चपाउनुजत्तिकै गाह्रो हुन्छ। धर्म परिवर्तनको त के कुरा, अन्य धर्म र संस्कृतिको कुरामात्रै गर्दा पनि अघिल्लो पुस्ताका मानिसलाई सहिनसक्नु हुन्छ। शहरी क्षेत्रमा सञ्चारमाध्यम र सोसियलाइजेसनले केही मात्रामा लचकता भिœयाए पनि ग्रामीण जनजीवन र हजुरबाको जेनेरेसनबीच धार्मिक कट्टरता विद्यमान छ।
दसैँ मनाउन म आफ्नो जन्मथलो ओखलढुंगा गएकी थिएँ। हाम्रो घरछेउकी एकजना वाग्ले थरकी दिदीले हिन्दुबाट जम्प हानेर क्रिस्चियानिटी धारण गर्नुभएछ। दसैँको बिदामा छोराछोरीसहित माइती गाउँ पुगेकी ति दिदीले क्रिस्चियन भएकोमा साह्रै अप्ठ्यारो खेप्नु परेको थियो। हिन्दु परिवारमा उहाँको क्रिस्चियनप्रतिको आस्थालाई कसैले बुझेनन् र बु¤न पनि चाहेनन्। गाउँलेहरू फलानाकी छोरी काठमाडौँ बसेर ‘अम्रिकन’ हुन खोजिछे भनेर कुरा काट्नमा व्यस्त थिए। ‘कसैले नमानेको धर्म मान्ने भाकी’ भनेर आफ्नै आमाले समेत ती विवाहित छोरीलाई शाब्दिक झापड हानेको हान्यै थिइन। दसैँको अवसरमा घरका कुल देवीदेवतालाई छोइने डरले ती दिदीलाई छोराछारीसहित मूलघरमा नभई मटानमा राखिएको थियो।
यस विषयमा कुरा गर्दा म आफ्नै अनुभवहरूलाई पनि ओकल्न उचित ठान्छु। म कक्षा आठमा पढ्दाखेरि स्कुल बंक गरेर क्रिसमस मनाउन सितापाइलाको एउटा चर्चमा पुगेकी थिएँ। बेलुका घर आएर बाइबलको बारेमा कुरा खोतल्दा दिउँसो चर्च पुगेको कुरा मुखबाट फुस्कि त हाल्यो। स्कुल बंक गरेकोमा मार्ने भए भन्ने डरले म थुरुरु काँपेकी थिएँ। तर कहानीले भने अर्कै मोड लिइदियो। मैले बंक गरेकोमा भन्दा पनि चर्च गएकोमा बढी नै ‘ह्यान्डकिस’ खाएको थिएँ। ‘तँ दिनभरि त्यो गाईको मासु खानेको धर्म मान्न गाको थिस्, थुइक्क….’ भन्दै हजुरआमाले मेरो कपाल केलाउनुभएको थियो।
नेपालीमाझ ‘बाहुन भएपछि बाहुनकै धर्म मान्नुपर्छ’ भन्ने डाइलग निकै लोकप्रिय छ। कसैको धार्मिक आस्था र विश्वासलाई उसको जात, रूपरङ वा चेहराबाट कसरी निर्धारण गर्न सकिन्छ! फेरि ‘बाहुनको धर्म’ भन्नाले कुन धर्मलाई बु¤ने? या हिन्दुलाई नै किन बाहुनको धर्म भनेर मान्ने? कतै बाहुनले अरू धर्म मान्नै नमिल्ने पो हो कि! अथवा हिन्दु धर्म बाहुनको मात्र हो? तर ‘धर्म’ जस्तो आस्थाको विषयलाई पनि जातिवादी गर्न कहाँ मिल्छ र? त्यसो त बुद्धिस्ट हुनलाई शाक्य वा गौतम नै हुनुपर्थ्याे। तामाङ, शेर्पा लगायतले किन बुद्ध धर्म मानेका हुन्? क्रिस्चियन हुनलाई क्राइस्ट नै हुनुपर्ने हो। अन्य जातका खैरेहरूले पनि क्रिस्चियानिटी फलो गरेकै छन्। यस्ता बटारिएका कुरा गर्ने हो भने त ब्रह्मा, विष्णु, महेश्वर, सरस्वती, अल्लाह आदि देवीदेउताका पनि त थर पत्ता लाउन अनुसन्धानै गर्नुपर्ने हुन्छ। यी सबै कुराका तात्पर्य भनेको धर्म र विश्वासलाई मानिसको जात र वर्णसँग जोड्न वा अनुमान लाउन मिल्दैन भन्नु हो।
हाम्रो घरमा कहिलेकाहीँ धर्मको विषयमा ठूलै चर्काचर्की पर्ने गर्छ। केही छिनको विवादपश्चात् सबैजना एकै थुतुनो लाउँछन् भने मचाहिँ जहिले पनि अर्कै पार्टीको अध्यक्ष हुन पुग्छु। हजुरआमा झोक्किनुहुन्छ, ‘तँ बाहुनकी नातिनी भएर भोटेको आड थाप्छेस्?’ मलाई यस्तो कुरा गरेको मनै पर्दैन। रिसको तालमा म पनि ‘तपाईँहरूको अगाडि आनी बनेर देखाइछाड्छु’ भन्ने डाइलग तेर्स्याइदिन्छु। उहाँ झन् रन्किनुहुन्छ, ‘बाहुन्की छोरी भएर तँ कसरी भोटेको धर्म मान्दिरैछेस्, म पनि हेर्छु।’
उहाँ निकै प्रतीक्षारत हुनुहुन्छ। सायद मेरो कपाल भुत्ल्याउने सोचमा हुनुहुन्छ होला तर आनी भएपछि कपाल खौरिनुपर्छ भन्नेबारे उहाँ अनभिज्ञ हुनुहुन्छ जस्तो लाग्छ मलाई।
बाउबाजे कसैले नमानेको बुद्ध धर्मप्रति म किन आकृष्ट छु्क आई डन्ट नो। तर जब जब मेरा सोच र लक्ष्यहरू कुम्लो बोकेर फ्रान्स घुम्न निस्के, त्यसबेला मैले दराजभित्र, लुगाको खातमुनि लुकाएर राखेको बुद्धको मालाले मात्र मलाई साथ दिइरहेको अनुभव गरेको थिएँ। अनि त मैले सोसियोलोजीका किताब पढ्दा थाहा पाएँ, धर्म भनको विश्वास हो। भावनाको स्वरूप हो, आस्था हो। रह्यो कुरा, मेरो आनी बन्ने सपनाको। यो सम्भव होला/नहोला, त्यो त समय र मेरो घरपरिवारले बताउने कुरा हो। तर भएछु भने ठिकै छ, भइनछु भने पनि तपस्या नै ठूलो धर्म हो भन्ठानेर म आफ्नो चित्त बुझाउँछु।‍