Wed. Oct 23rd, 2024

विवाहिता महिलाले पतिको दीर्घायुका लागि ब्रत बस्छन् । अविवाहिता राम्रो बर पाउँ भनेर बस्छन् । यो परम्परागत कुरा भयो । जमाना फेरिएको छ । ब्रत बस्ने अनेक बहाना छन् । नेपालका अविवाहित हिरोइनचाहिँ के का लागि ब्रत बसेका छन् ? तीजको अवसरमा हामीले बुझ्ने कोशिश गरेका थियौँ ।
 
benisha diya garima 2 harsika khusbu nisha sumina
रीमा विश्वकर्मा
स्कुल लाइफदेखि नै व्रत बस्न सुरु गरेकी हुँ । होस्टेलमा हुँदा सिनियर दिदीहरूले व्रत राख्ने गर्थे । उनीहरूकै सिको गर्दै मैले पनि व्रत राख्न सुरु गरेँ । व्रत राखे पनि पानी, जुस, फलपूmल खाइन्छ । एक दिन व्रत बसेर राम्रो पति पाइन्छ भन्ने कुरामा विश्वास छैन ।
सुमिना घिमिरे
सानै उमेरदेखि व्रत राख्न थालेकी हुँ । पानी, फलपूmल केही पनि नखाई एकदमै कडा व्रत बस्छु । सुरु–सुरुमा यस्तो व्रत बस्न गाह्रो भए पनि अब त बानी परिसक्यो । पानीसमेत नखाई व्रत बस्दा नि खुब रमाइलो लाग्छ । आफ्ना परिवारको सुखशान्ति र आमाबुवाको दीर्घायुका लागि व्रत बस्छु । व्रत बसेर राम्रो श्रीमान् पाइने भन्ने कुरामा भने विश्वास छैन ।
दिया मास्के
तीज खासै मनाइँदैन । अरू महिलाले गाएको, नाचेको, रमाइलो गरेको देख्दा भने खुब मजा लाग्छ । तीजमा साथीहरूले बोलाउँदा कहिलेकाहीँ गइन्छ । पोहोर साथीहरूसँगै तीज मनाइएको थियो । नेवार समुदायकी भएकीले व्रत बस्ने कुरै भएन ।
श्वेता खड्का
बाह्र वर्षको उमेरदेखि नै तीजको व्रत बस्न थालेकी हुँ । कडा व्रत बस्न सकिँदैन । दिनभरि भोकै बस्छु । बेलुका पूजा गरेपछि राति खाना खान्छु । भगवान्प्रतिको आस्थाले व्रत बस्छु ।
नन्दिता केसी
तीजको व्रत बस्न थालेको धेरै भएको छैन । छ÷सात वर्षजति भयो होला । धर्मकर्ममा सानैदेखि रुचि थियो । अरूले व्रत बसेको देख्दा रहर पनि लाग्थ्यो । तर, सक्दिनँ होला जस्तो लाग्थ्यो । त्यसैले राखिनँ । सक्छु भन्ने लागेपछि राख्न थालेँ । राम्रो वर पाउने विश्वामा भने होइन । आफ्नो संस्कृतिलाई निरन्तरता दिन व्रत राखेकी हुँ ।
खुश्बु खड्का
पन्ध्र वर्षको हुँदादेखि मैले व्रत बस्दै आएकी छु । कडा त सक्दिनँ तर फलपूmल, पानी, दूधचिया खाने गरी राख्छु । हरेक वर्ष पूजा गर्न पशुपतिमा जान्छु । लाइमा बसेर भए पनि पूजा गरेर नै फर्कन्छु । आफ्ना घरपरिवारको सुखशान्तिका लागि व्रत राख्छु ।
नम्रता सापकोटा
तीजको व्रत बसे पनि दिनमा पानी र राति शाकाहारी खाना खान्छु । केही पनि नखाने खालको कडा व्रत बस्न सक्दिनँ । मैले पोहोर सालदेखि व्रत बस्न सुरु गरेँ । घरमै पूजापाठ गर्छु । तीजमा व्रत बसे राम्रो र चाहेको जस्तो वर पाउने विश्वास भए पनि म यसमा विश्वास गर्दिनँ ।
गरिमा पन्त
व्त बस्दिनँ । मलाई एक–एक घण्टामा केही न केही खाइराख्नुपर्छ । त्यो पनि नुनिलो खानेकुरा । मुख नचलाई म बस्नै सक्दिनँ । त्यसैले व्रत बस्ने गरेको छैन । तर, यसपालि भने ट्राई गर्ने सोचमा छु ।
नीता ढुंगाना
चौध वर्षको उमेरदेखि तीजको व्रत राख्न सुरु गरेँ । दिदीबहिनी, साथीहरूले व्रत राखेको देख्दा रहर लाग्थ्यो । रहरैरहरमा व्रत राखेँ । सुरुसुरुमा त के–के न पाउँला जस्तो गरी केही पनि नखाईकन व्रत राखेँ । पछि नसक्ने भएपछि फलपूmल, पानी खान थालेँ । तर, दुई वर्षयतादेखि व्रत राख्न छोड्की छु । राम्रो पति पाउन यसरी व्रत बस्नु आडम्बरजस्तो लाग्यो ।
बेनिशा हमाल
व्रत बस्नु मेरो वशको कुरा होइन । पोहोर ट्राई गरेकी थिएँ, त्यो पनि केही नखाई । एकदमै गाह्रो भयो । ब्लड प्रेसर नै लो भयो । त्यसैले व्रतमा खासै रुचि छैन । तर, तीजका दिन बिहानै मन्दिरमा गई, पूजापाठ गरिसकेपछि मात्र खाना खान्छु ।