Wed. Jan 22nd, 2025

काठमाडौं / राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । चलचित्रको छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन सुरु गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । चलचित्रको सार्वजनिक पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको देख्न सकिन्छ ।

दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । चलचित्रले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।

चलचित्रमा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ । ‘डिग्री माइला’ वर्षकै प्रतिक्षित चलचित्र हो ।

Leave a Reply