Mon. May 13th, 2024

काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित सिनेमा ‘अन्जिला’को छायांकन सुरु भएको छ । मिलन चाम्सको निर्देशनमा निमार्ण हुने सिनेमाको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायांकन सुरु भएको हो ।

सिनेमाको छायांकन इलाम, झापा र काठमाडौंमा हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायांकन सुरु भएको हो । सिनेमामा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । खेलमा पोख्त एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दै छिन् ।

सिनेमामा एन्जिलाका अलवा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय रहनेछ । एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथा सिनेमामा समेटिने छ । फुटबलर बन्नका लागि अन्जिलाले गरेको सङ्घर्ष र सफलता सिनेमामा समावेश गरिने निर्देशक चाम्सले बताए ।

सफल खेलाडी बन्नु अघि एन्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश सिनेमाले दिने निर्देशक चाम्सले बताए । निर्देशक चाम्सले सिनेमा ठ्याक्कै एन्जिलाको बायोपिक भने नभएको बताए । उनले ७५ प्रतिशत एन्जिलाकै जीवनी हुने तर बायोपिक भने नहुने बताए ।

निर्माता प्रेम कुमार श्रेष्ठले एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई सिनेमामा देखाइने बताए । १४ वर्षदेखि एन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर एन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए । श्रेष्ठले एन्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर सिनेमा गर्न लागेको बताए ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको निर्माता प्रेम कुमार श्रेष्ठ र सह-निर्माता विनोद अग्रवाल र राजेश बागादिया हुन् । सिनेमामा प्रदीप भारद्वाज र यम थापाको लेखन रहेको छ भने पटकथा लेखनमा मुख्य सहायक निर्देशक गिरिराज घिमिरेले साथ दिएका छन् । सुदीप बरालको डिओपी रहने सिनेमाका सम्पादक मिलन श्रेष्ठ हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।

Leave a Reply

%d bloggers like this: