Fri. May 3rd, 2024

अष्ट्रेलिया । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो ।

स्पेनको जितमा कप्तान ओल्गा कारमोनाले गोल गरिन् । उनले २९औं मिनेटमा गरेको गोल स्पेनलाई उपाधि जिताउन पर्याप्त बन्यो । दोस्रो हाफमा स्पेनले पेनाल्टी गुमाएको थियो ।

६९औं मिनेटमा जेनिफर हर्मोसोको पेनाल्टी प्रहारलाई इङ्ल्यान्ड गोलरक्षक मारी अर्प्सले सजिलै बचाएकी थिइन् । डिबक्सभित्र इङ्ल्यान्डकी केइरा वाल्सले ह्यान्ड गरेपछि रेफ्रीबाट भिएआरको सहायतमा स्पेनलाई पेनाल्टीको अवसर प्रदान गरिएको थियो ।

उपाधिसँगै स्पेनले ४,२९०,००० अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता इङ्ल्यान्डले ३,०१५,००० अमेरिकी डलर प्राप्त गरेको छ । विश्व फुटबल महासंघ (फिफा)ले पहिलो पटक महिला विश्वकपको पुरस्कार राशीमा उल्लेख्य बृद्धि गरेको हो ।

कूल ११० मिलियन अमेरिकी डलर पुरस्कार राशीमा तेस्रो भएको स्विेडनले २,६१०,००० डलर र चौथो भएको आयोजक अष्ट्रेलियाले २,४५५,००० अमेरिकी डलर पुरस्कार पाएको छ ।

यस्तै फिफाले क्वार्टरफाइनलमा पुग्ने टोलीलाई २,१८०,००० डलर र राउन्ड अफ १६ मा पुग्ने टोलीलाई १,८७०,००० डलर प्रदान गरेको छ । समूह चरणका प्रत्येक टोलीलाई १, ५६०,००० डलर प्रदान गरिएको छ ।

फिफाले यसअघि नै विश्वकप खेल्ने हरेक खेलाडीलाई कम्तिमा ३० हजार अमेरिकी डलर र विजेता टोलीका खेलाडीलाई दुई लाख ७० हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

जस अनुसार विश्वकपमा सहभागी सात सय ३२ खेलाडी नै पुरस्कार पाएका छन् । जुलाई २० देखि सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरि कूल ६४ खेल भएका थिए ।

यस विश्वकपमा दुई पटकको च्याम्पियन जर्मनी समूह चरण, सर्वाधिक चारपटक च्याम्पियन अमेरिका र एक पटकको विजेता नर्वे प्रि–क्वाटरफाइनल तथा एक पटक जापान क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।

अष्ट्रेलिया र न्युजिल्यान्डमा एक महिनासम्म चलेको विश्वकपका खेलहरु अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा र न्युजिल्यान्डको अकल्यान्ड, वेलिंगटन, डुनेडिन र ह्यामिल्टन रंगशालामा सञ्चालन भएका थिए ।

Leave a Reply

%d bloggers like this: