काठमाडाैँ । शुक्रबार अर्थात् आजबाट देशभर प्रदर्शन भएको चलचित्र ‘नीरफूल’ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ । उत्कृष्ट कथावस्तु भएको भनेर प्रिमियर कै दिन प्रशंसा बटुलेको फिल्मले पहिलो दिन राम्रो सुरूवात गरेको छ ।
‘नीरफूल’ले देशभर करीब १ सय हाराहारीमा शो पाएको छ भने फिल्मको सुरूवात हेर्दा आगामी दिनमा फिल्मको शो अझै बढ्ने अपेक्षा निर्माण तथा वितरक पक्षले गरेको छ।
फिल्मले शो फाएका अधिकांश हलहरूमा हाउसफुल प्रदर्शन भइरहेको छ । भोली शनिबार बिदाको दिन भएका कारण दर्शकहरूको संख्या हलमा ह्वात्तै बढ्ने लगभग निश्चित नै छ ।
शुक्रबार उपत्यकाका हलहरूमा दर्शकहरूको प्रतिक्रिया लिन पुग्दा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्म अर्गानीक कथावस्तुमा बनेको भन्दै निर्माण र कन्सेप्टको तारिफ गरेका छन् ।
फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको छ।
चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।