Wed. Jan 22nd, 2025

काठमाडाैं । नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा निर्माण हुनेकै सङ्ख्या बढी छ । यसको उदाहरण ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन् । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् ।

‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् । टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन् ।

उनीहरुको चलचित्र हेर्न दर्शकको राम्रै भीड देखिन्छ । हास्यकलाकार किरण केसीका अनुसार हाँस्दा मस्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मुड ठीक गर्न मद्दत गर्छ ।

मुड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु । मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । यी यस्तै कारणले हास्य विधालाई दर्शकले प्राथमिकतामा राखेको हुन सक्छ ।

चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हसाउने हुन्थ्यो तर अहिले हास्यकलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ । यद्यपि सचेत हुनुपर्ने अवस्था पनि रहेको निर्देशक भट्टराईको भनाइ थियो ।

Leave a Reply