Sun. May 5th, 2024

काठमाडाैँ। शुक्रबारबाट विश्वव्यापी प्रदर्शन भइरहेको नेपाली फिल्म ‘प्रेमगीत-३’ले चर्चा बटुल्न सुरू गरेको छ। फिल्म उद्योगको सबैभन्दा ठूलो मध्ये एक भारतीय बजारमा समेत प्रदर्शन भइरहेको फिल्मको चर्चा चारैतिर चल्न सुरू भएको हो।

यो फिल्म हिन्दी भाषामा नै डब पनि भएको छ। भारत लगायत धेरै मुलुकमा हिन्दी भर्सनमा नै रिलिज भएको फिल्मले अपेक्षित चर्चा बटुलिरहेको छ।

भारतीय फिल्महलमा दर्शकहरूले दिएको प्रतिक्रियाले नै फिल्म उत्कृष्ट बनेको थाहा पाउन सकिन्छ। ‘जगत खबर’ नामक युट्युब च्यानलमा प्रकाशित सामग्रीमा दर्शकहरूले फिल्म सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन्।

एक दर्शकले भनेका छन्, ‘फिल्म अत्यन्तै राम्रो थियो। हाम्रा बलिउडभन्दा धेरै फरक लाग्यो फिल्म। राम्रो छ।’

त्यस्तै, अर्को च्यानल ‘फिल्मी मोउज रिभ्यु’मा एक दर्शकले फिल्ममा देखाइएको नेचुरल सिनको प्रशंसा गरेका छन्। त्यस्तै, अर्का दर्शकले भने पहिलो पटक भारतमा नेपाली फिल्म प्रदर्शनले क्रान्ति ल्याएको उल्लेख गरेका छन्। उनले यस्ता फिल्म अझै ल्याउनु पर्ने तर्क राखेका छन्।

धेरै दर्शकहरूले कलाकारहरूको अभिनयको तारिफ पनि गरेका छन्। उनीहरूले यो फिल्म सबैले एक पटक अवश्य हेर्नैपर्ने प्रतिक्रिया दिएका छन्।

व्यापारको हिसाबले पनि फिल्म पहिलो दिनबाट नै सफल भएको देखिन्छ। पहिलो दिन नै फिल्मले विश्वव्यापी रूपमा ४.८४ करोडको व्यापार गरेको सार्वजनिक भएको छ।

भारतमा फिल्मी र व्यापारिक पाटोको  नै चर्चा भइरहेको छ। भारतका वितरक सुबास कालेले फिल्मको कमाइ सुखद रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

यो फिल्म भारतका ५०० स्क्रिन, नेपालका २०० स्क्रिन र अन्य देशहरूमा ५०० स्क्रीन गरी विश्वभरका १२ सय भन्दा बढी स्क्रीनमा एकसाथ प्रदर्शन भइरहेको छ। भारतमा फिल्म अत्यन्तै राम्रो भएको प्रतिक्रिया दर्शकहरूले दिइरहेका छन्।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

राजेश श्रेष्ठ र पुरुषाेत्तम प्रधानले छायांकन गरेकाे फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

Leave a Reply

%d bloggers like this: