निर्माता सुनिलकुमार थापाले गराए ओपन-हार्ट सर्जरी

काठमाडाैँ । निर्माता सुनिलकुमार थापाको ओपन-हार्ट सर्जरी गरिएको छ।

मंगलबार बिहान काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको सर्जरी गरिएको हो। उनको सर्जरी डा. भगवान कोइरालाले गरेको उनकी छोरी तथा अभिनेत्री सुहाना थापाले फेसबुकमार्फत जानकारी दिएकी छन्।

‘मानव जीवन धेरै दुर्लभ र जटिल छ। समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ! त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन्। डा. भगवान कोइराल र उनका टिमप्रति आभार छु। बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतीक्षा गर्न सक्दिनँ,’ उनले लेखेकी छन्।

निर्माता सुनिलकुमार थापाको मुटुमा प्वाल परेको थियो। बच्चामा नै उनको मुटुमा प्वाल देखिएको हो। तर ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी नगरेको सेतोपाटीमा उल्लेख छ।

अहिलेसम्म मुटुको प्वाल नपुरिएपछि निर्माता थापाले सर्जरी गरेका हुन्। सर्जरीपछि उनलाई आइसियूमा राखिएको छ।

पछिल्लो समय उनको निर्माणमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको थियो। उनी छोरी सुहानालाई लिएर फिल्म ‘भागवद् गीता’ निर्माण गर्दैछन्।

Leave a Reply

Back To Top