Thu. Mar 28th, 2024

काठमाडाैँ । विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् ।

सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस गरेको उनले प्रस्ट पारेका छन् ।

गीतले भन्ने चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’

’पिर’ बाट आफुले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीत मार्फत आफुले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।

‘मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै÷ पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् ।

‘जसरी यसअघिका गीतहरू ’बोल माया’, ’दोहोरी ब्याटल’, ’गल्बन्दी’, ’बदला बरिलै’, ’फुटेका चुरा’ , ’मेरो पनि हैन र यो देश’, ’कुरा बुझ्न पर्छ ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड÷छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।’ उनले लेखेका छन् ।
उनले गीतको पृष्ठभूमिका बारेमा समेत लेखेका छन् ।

उनले लेखेका छन्- ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने-बजाउने- पकाउने-पस्कनेमध्यका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पिर’ । यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरें । केही पात्रहरू पढें । आममानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यहि हो ।’

एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने, पूरै बुझाई बुझाउन पनि नसकिने उनको भनाइ छ । न्युज कारखानाबाट

यस्तो छ उनको स्टाटस

गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला । अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतीकात्मक रुपमा राखिएका यस्ता दृष्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना- मदन छन् कि छैनन्? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ ।

भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द – आन्दोलन – गणतन्त्र – स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग- सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु !

मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष-विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एकपटक इमान्दार भएर विचार गरौं। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन-जुन दृष्यले सन्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् ! र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरू छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस्। धन्यवाद

Leave a Reply

%d bloggers like this: