Thu. Mar 28th, 2024

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनलको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मन(पिएसजी)माथि जित निकाल्दै सिटी इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
२ लेगमा भएको खेलमा सिटीले समग्रमा ४–१ गोल अन्तरको जित हात पार्दै सिटी फाएनलका लागि योग्य सावित भयो । पहिलो लेगमा पिएसजीको मैदानमा भएको खेल सिटीले २–१ गोल अन्तरले जितेको थियो । त्यस्तै, गएराती भएको खेल सिटीले २–० गोल अन्तरले जित्यो ।
गएराती सिटीको जितमा २ गोल नै रियाद महरेजले गरे । पहिलो लेगको खेलमा पनि महरेजले एक गोल गरेका थिए भने केभिन डे ब्रुइनाको नाममा एक गोल थियो ।
गएरातीको खेलमा पिएसजीका स्टार फरवार्ड केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् । एमबाप्पेको अनुपस्थिति पिएसजीका लागि दुर्भाग्य सावित भयो । पिएसजी पछिल्लो सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । फाइनलमा जर्मनीको बायर्न म्युनिखसँग पराजित भएको पिएसजी उपविजेतामा सिमित भएको थियो ।
सेमिफाइनलबाट बाहिरिएसँगै पिएसजीबाट च्याम्पियन्स लिग जित्ने नेयमारको सपनामा पुनः एक पटक धक्का लागेको छ । त्यसैगरी, पिएसजीको पनि च्याम्पियन्स लिगको भोक एक सिजन अधुरै रहने भएको छ ।
आज पनि च्याम्पियन्स लिगको सेमिफाइनलको अर्को एक खेल हुँदैछ । उक्त खेलमा स्पेनको रियल मड्रिड र इंग्लिस क्लब चेल्सी भिड्दैछन् । पहिलो लेग १–१ गोलको बराबरीमा सकियो यो खेलमा चेल्सी केही सहज स्थितिमा छ ।

Leave a Reply

%d bloggers like this: