Fri. Apr 19th, 2024

अभिनेत्री जाह्नवी कपूर अभिनीत दोस्रो फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा रिलिज हुने भएको छ । लकडाउनका कारण सिनेमा घर बन्द भएपछि निर्माताले ओटीटी प्ल्याटफर्ममा फिल्म रिलिज गर्ने निर्णय लिएका हुन् । सोसल मिडियामा फिल्मको एक पोस्टर साझेदार गर्दै जाह्नवीले चाँडै नेटफ्लिक्समा फिल्म रिलिज हुन लागेको जानकारी दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ चाँडै नेटफ्लिक्समा रिलिज हुँदैछ । एक युवती र उसको सपनाको एक प्रेरणादायक वास्तविक कहानी ।’ उनको यो पोस्टमा बलिउड सेलिब्रेटीहरुले फिल्मको प्रतिक्षा गरिरहेको बताएका छन् । पहिला यो फिल्म २०२० अप्रिल २४ मा रिलिज हुन लागेको थियो । तर, लकडाउनका कारण निर्माण टिमले फिल्मको प्रदर्शन स्थगन गर्‍यो ।
लकडाउनका कारण सिनेमा हल बन्द भएपछि भारतीय मेकरहरु डिजिटल प्ल्याटफर्ममा फिल्म रिलिज गरिरहेका छन् । विद्या बालनको ‘शकुन्तला देवी’ र अभिताभ बच्चन-आयुष्मान खुरानाको फिल्म ‘गुलाबो-सिताबो’ पनि ओटीटी प्ल्याटफर्ममा रिलिज हुँदैछ । फिल्म ‘गुलाबो-सिताबो’ १२ जूनमा अमेजन प्राइममा रिलिज हुँदैछ, जसको दर्शकहरु व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ लाई शरण शर्माले निर्देशन गरेका हुन् । जी स्टूडियो र धर्मा प्रोडक्सनले निर्माण गरेको यो फिल्ममा जाह्नवीका अलावा पंकज त्रिपाठीको पनि महत्त्वपूर्ण भूमिका छ । यो फिल्म इन्डियन एयरफोर्स पाइलट गुञ्जन सक्सेनाको बायोपिक हो । यो फिल्मका लागि जाह्नवीले लुक्स परिवर्तनमा निकै मेहेनत गरेकी थिइन् भने ८ केजी तौल घटाएकी थिइन् ।

Leave a Reply

%d bloggers like this: