Sat. May 18th, 2024

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनय करियर प्रारम्भ गरेका अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ को अफिसियल टिजर इन्टरनेट रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले प्रेम र एक्सन मिश्रित कलरफुल टिजर पत्रकारलाई साक्षी गरेर सार्वजनिक गर्‍यो ।
१ मिनेट २ सेकेण्डको टिजरमा अभिनेता सलिन र नव-अभिनेत्री मल्लिका महत्तको प्रेमलाई विशेष ‘फोकस’ गरिएको छ । सलिनलाई एक्सन गर्दै पनि देख्न सकिन्छ । अभिनेता सलोन भने क्रोधित मुद्रामा बन्दुक तेर्साइरहेका छन् । उनी फिल्ममा भिलेनको भूमिकामा रहेको अनुमान काट्न सकिन्छ ।
टिजरको सुरुवातमा नव-अभिनेत्री मल्लिकाले प्रेमिल संवाद बोलेकी छन्, ‘थाहा छ ? मलाई विरानो संसारमा कोही नजिकको मान्छे भेटेझैं लागिरा’छ ।’ सलिनलाई टिजरमा निकै क्यूट देखिएको छ । उनको लुक्स, हेयर स्टाइल र ड्रेसअपले दर्शकको ध्यान खिच्न सक्छ । उनको मल्लिकासँग केमेस्ट्री पनि सुहाएको देखिन्छ ।
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।
टिजर रिलिज कार्यक्रममा बोल्दै निर्माता भट्टराईले आफूले निर्माण गरेका यसअघिका फिल्ममा भन्दा ‘यात्रा’ मा पाँच गुना बढी लगानी लागेको बताए । उनका अनुसार, फिल्म रिलिज हुँदासम्म ३ करोड पुग्नेछ । निर्देशक शाक्यले फिल्म राम्रो बनेको दाबी गरे । अभिनेता सलिनले भने ‘यात्रा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।
चैत २९ मा आउने फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

filmykhabar.com

Leave a Reply

%d bloggers like this: