Thu. May 2nd, 2024

ललितपुर । कागतिहारका उपलक्ष्यमा स्रष्टाहरुले कविता, मुक्तक, गीत, नृत्यलगायत विधामार्फत हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् ।
हासने प्रतिष्ठानले आज आयोजना गरेको ‘आलु पार्टी’ मा जावलाखेलस्थित हासनेघरमा जीतु नेपाल, केरा अर्याल, घनश्याम गौतम, डम्बर घिमिरे, कल्याण राना, पिँडालु पौडेल, बमबहादुर जितालीलगायतले सिर्जना प्रस्तुत गरे ।
प्रतिष्ठानका अध्यक्ष रामकुमार पाँडेले चार दशक पहिलेदेखि काग तिहारका दिन हास्य कार्यक्रमको आयोजना हुँदै आएको बताउनुभयो । हास्य क्षेत्रमा कार्यरतले काग तिहारलाई सम्पूर्ण हास्य दिवसका रुपमा मनाउँदै आएका छन् । वर्षेनी यो दिन हास्य कलाकार, चित्रकार, लेखकलगायत एक ठाउँमा जम्मा हुने गरेका छन् । चार दशकमा करीब डेढ सय कलाकारले आआफ्नो प्रस्तुति दिएको उहाँले बताउनुभयो ।
तस्बीर: दीपा श्री निरौलाको फेसबुकबाट
कलाकार जीतु नेपालले विदेशमा बस्ने धेरै नेपालीले नेपाली कलाकार नचिनेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आमाबाबा हामीसँग फोटो खिच्न आउँदा बालबालिका को हो भनेर सोध्छन् ।” दुई तिहाइको सरकार नेपाली जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन नहुने उहाँले बताउनुभयो ।
चलचित्र ‘छक्का पञ्जा–३’ का दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतलाई प्रतिष्ठानले आलुको माला लगाइदिएर सम्मान गरेको थियो ।
कार्यक्रमपछि आलुको परिकार सेवन गरिएको थियो । पाँडेले भन्नुभयो, “सबै परिकारमा प्रयोग हुने आलु सस्तो र सबै खानेकुरामा मिल्छ भने हास्यव्यङ्ग्यमा पनि साङ्केतिक रुपमा यसको प्रयोग हुन्छ ।”

Leave a Reply

%d bloggers like this: