रणवीर कपुर सिद्धहस्त अभिनेता हुन् भन्नेमा अब शंका छैन । तर अझै पनि उनी सफल अभिनेता हुन् भन्नेमा शंका छ । जति नै मिहिनेत गरेका भएपनि ‘बम्बे भेल्भेट’, ‘जग्गा जासूस’ जस्ता पछिल्ला फिल्मले रणवीरलाई बक्सअफिस सफलता चखाउन सकेनन् ।
‘म अचेल केही वर्षअघि जस्तो सफल छैन । कहिलेकाहीं तपाईंले राम्रै काम गरेपछि भाग्य चम्किन्छ भन्ने आशा राख्नुहुन्छ, तर सधैं त्यो नहुँदो रहेछ,’ दश वर्षभित्र १४ फिल्म दिएका रणवीरले एउटा अन्तर्वार्तामा भनेका छन् ।
रणवीरको करिअरको गति सुस्ताएपछि उनका समकालीन अभिनेताले यति बेला उनलाई धेरै पछि छोडिसकेका छन् । त्यसैले पनि बीचमा रणवीर सोसियल मिडियाबाट पुरै बेखबर बनेर काममा दत्तचित्त भई लागे ।
‘अहिले भने म सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सन्जु’ मा गरेको कामबाट खुब उत्साहित छु,’ दत्तको भुमिकामा विभिन्न गेटअप र हाउभाउमा आफुलाई प्रमाणित गरेका रणवीरले थपे, ‘राजकुमार हिरानीसँग काम गर्न पाउनु र त्यो रोल मेरा लागि अति नै ठूलो मौका थियो । म जे काम गर्छु त्यसले मेरो जीवनमा हिस्सा बनाएको हुन्छ । म मेरा चरित्रलाई घरसम्म ल्याउँछु र त्यसलाई काँटछाँट गर्ने गर्छु ।’
उनले आफु विषयबस्तुका कारणले नभई भोकका कारण फिल्म रोज्ने खुलासा गर्दै भने, ‘र, म एउटा फिल्मबाट अर्को फिल्ममा आबद्ध हुँदा मैले जे जानेको छु त्यो चटक्कै बिर्सेर फेरि सुरुदेखि लाग्छु ।’
आफुलाई अन्तर्मुखी बताउने रणवीरले सुनाए, ‘त्यसैले पनि मेरी आमा छोरो अभिनेता कसरी होला भनेर अचम्म मान्नुहुन्थ्यो । म कम बोल्छु र कन्फिडेन्स लेभल पनि कम छ । व्यक्तिगत रुपमा अति लजालु ।’
तिनै लजालु रणवीर यति बेला भने आफ्नो पछिल्लो लभ रिलेसनका मामिलामा भने खुलस्त हुन चाहेका छन् । केही वर्षअघिको दीपिका पादुकोणसँगको ब्रेकअपपछि कट्रिना कैफसँग उतारचढावपूर्ण प्रेम सम्बन्धमा रहँदै आएका रणवीर अहिले भने नायिका आलिया भट्टसँगको रिलेशनसिप स्टेटमेन्टले हट केक बनेका छन् ।
आलियासँगको डेटका बारेमा रणवीरले गसिप गर्न नचाहेको टिप्पणी गर्दै भने, ‘यो सम्बन्धले अझै सास फेर्ने समय मागिरहेको छ । केही भूमिका खोजिरहेको छ । कलाकारका रूपमा पनि र व्यक्तिगत रूपमा पनि आलियाबाट म अत्यन्तै प्रभावित छु । यति नै बेला हामी दुवैका लागि पनि यो नौलो चीज नै लागिरहेको छ । केही समय यसलाई अझ परिपक्व हुन दिनुस् ।’
उनले नयाँ साथीको आगमनले मुटु पनि नयाँ गतिमा धड्किने उल्लेख गर्दै भने, ‘प्रेमका पुराना तरिकाहरू फेरि नयाँ बनेर आउने रहेछन् । फेरि रोमान्टिक भइँदो रहेछ । तर मलाई लाग्छ, आज म धेरै सन्तुलनमा छु ।
म आफ्नो रिलेसनसिपलाई अझ बढी महत्त्व दिने भएको छु । धोकालाई पनि म सम्मान गर्छु जसले व्यक्तिलाई अझ परिपक्व बनाउन सघाउने रहेछ । केही वर्षदेखि मैले त्यही अनुभव गरिरहेको छु ।’
इकान्तिपुरबाट
