Sun. May 19th, 2024

काठमाडाैं । 
अबको ६ सातामा रसियामा हुने विश्वकप फुटबलकाे उपाधि दावेदार मानिएकाे टोली फ्रान्सलाई  ठुलो झट्का लागेको छ । टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका डिफेन्डर लौरेन्ट कोसिएल्नीले चोटका कारण विश्वकप गुमाउने सम्भावना बढेको छ ।
बिहीबार भएको युरोपा लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा आर्सनलका डिफेन्डर कोसिएल्नीले खुट्टामा गम्भीर चोट बोकेका छन् । उनको चोटको गम्भीरता हेर्दा उनले विश्वकपसम्म फिट नहुने प्रारम्भिक अनुमान गरिएको छ । आर्सनलले १-० को हार बेहोरेको खेलको सुरुआतमै उनले चोट बोकेका थिए । चोटको पिडामा निकै दुखित देखिएका उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लागिएको थियो ।
आर्सनल प्रशिक्षक आर्सेन वेंगरले चोटका कारण उनको विश्वकप सम्भावना निकै न्यून रहेको बताएका छन् । ‘उनको खुट्टामा गम्भीर चोट लागेको देखिन्छ । अब प्रारम्भिक परिक्षण गरेपछि मात्र यकिन गरेर यहि हो भन्ने अवस्था छ । यदि हामीले अपेक्षा गरे अनुसारकै चोट हो भने उनले विश्वकप खेल्ने सम्भावना छैन । हामी परिक्षणमा केहि सकारात्मक नतिजा आउँछ भन्ने आशामा त छौं तर चोट निकै खराब थियो,’ फ्रान्सेली प्रशिक्षक वेंगरले सुनाए ।
फ्रान्सेली राष्ट्रिय टोलीका लागि ५१ खेल खेलिसकेका कोसिएल्नीले विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने सोच बनाएको बुझिएको थियो । तर अब चोटका कारण विश्वकप गुमाउने भएपछि उनले उक्त निर्णयलाई केहि समय पछि सार्न सक्नेछन् । फ्रान्सले विश्वकपको समूह सी मा अस्ट्रेलिया, पेरु र डेनमार्कको सामना गर्दैछ ।

Leave a Reply

%d bloggers like this: