Sun. Jul 21st, 2024

काठमाडाैं ।
रियल मड्रिड विरूद्ध खेल्ने क्रममा चाेट बाेकेका बायर्न म्युनिख तथा जर्मनीका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा सुरु हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ ।  उनले बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडविरुद्ध खेल्दा  चोट बोकेका थिए ।
२९ वर्षीय बोटेङ खेलको पहिलो हाफमै चोट बोक्दै बाहिरीएपछि उनको स्थानमा निक्लास सुल मैदान प्रवेश गरेका थिए । बाेटेङले यस  सिजनका बाँकी सबै खेल गुमाउने बायर्न म्युनिखले जनाएको छ । यससँगै उनले केहि सातापछि हुने विश्वकपमा खेल्न सक्नेबारे पनि शंका पैदा भएको छ । उनको दायाँ तिघ्राको मांशपेशीमा चोट लागेको र उक्त चोट ठिक हुन ४ देखि ६ साता लाग्ने बुझिएको छ ।
बोटेङले सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन्, ‘ जिन्दगीमा धेरै आरोह-अवरोह आउँछन् । तर अबको समय रसियाको लागि फिट हुन लाग्ने हो । म मेरो सबै मिहिनेत यसलाई लगाउनेछु ।’ बोटेङ जर्मनी टोलीका मुख्य डिफेन्डर हुन् । उनको प्रदर्शनमा बायर्नले घरेलु तथा युरोपेली प्रतियोगितामा सफलता हात पार्दै अाएकाे छ ।
यस चोटसँगै उनले बायर्नको सिजनको अन्तिम खेल गुमाउने पक्का भएको छ । बायर्नले मे १९ मा जर्मन कपको फाइनल खेल्दैछ भने च्याम्पियन्स लिगको फाइनल पुगेमा खेल २६ मे मा हुनेछ । उनले दुवै खेलमा पुनरागमन गर्न नसक्ने क्लबले जनाएको छ । जर्मनीका प्रशिक्षक जोकिम लोले विश्वकप खेल्ने जर्मनीको प्रारम्भिक टोली मे १५ मा सार्वजनिक गर्ने बताएका छन् । यद्यपी फिफाले जुन ४ तारिखलाई मात्र अन्तिम औपचारिक मिति तोकेको छ ।
 
hamrokhrlkud.com बाट साभार

Leave a Reply

%d bloggers like this: