Fri. Apr 19th, 2024

नेपाली सिनेबृत्तमा पछिल्लोपटक होष्टलबाट अनमोल के.सी¸सलोन बस्नेत र गौरव पहारी¸ नाई नभन्नु ल सिरिज बाट पल शाह अनि प्रेमगीत बाट प्रदिप खड्का उदाएका छन । चक्लेटि अनुहारका कारण अनमोल-सलोन-पल र प्रदिपको चर्चा हुने गर्दछ । गौरव पहारी चै अभिनय क्षमता भएका कलाकार हुन तर लिड रोलमा मन्जरी बाहेक अरु चलचित्रमा उनी आएनन । सलोन बस्नेत पनि बालकलाकार हुदै यस क्षेत्रमा आएपनि त्यति जम्न सकेनन । बाकि रहेका ३ जना नायक अनमोल-पल र प्रदिपमा चर्चाको शिखरमा चै अनमोल रहने गर्दछन तर पछिल्लो चलचित्र प्रेमगीत २ सफल भए पश्चात चै प्रदिपको चर्चा पनि सिनेबृत्तमा चल्ने गरेको छ । यि ३ जना नायकहरु नेपाली चलचित्रका फ्रेश दर्शक अर्थात टिनएजर्स हरुमाझ लोकप्रिय रहेका छन । यस बर्ष पल शाहको जोनि जेन्टलम्यान र म यस्तो गीत गांउछु¸ प्रदिप खड्का को प्रेमगीत २ र अनमोल के.सी को कृ रिलिज भएर पनि नाफा घाटाको हिशाब गरेर सेलाईसकेका छन । फिल्ममा हिरो भनेपछि सुन्दर नै हुनुपर्छ¸ हिस्सी परेको नै हुनुपर्छ भन्ने मान्यतालाई स्वीकार्ने हो भने बर्तमान नेपाली सिनेक्षेत्रमा यी ३ जना नायकहरुको विकल्प अरु छैन तर हिरो भनेपछि हरेक क्यारेक्टरमा फिट हुनुपर्दछ अनि अभिनयमा पनि निखारिएको हुनुपर्छ भन्ने मान्यता राख्ने हो भने यी ३ जना नायकहरुलाई अलि पछाडि नै छाड्नु पर्ने हुन्छ । सुन्दर अनुहार पनि धेरै समय सम्म चम्किरहन सक्दैन । फेश भ्यालु केहि समयमा घटछ घटछ । विगतमा सुन्दर अनुहार लिएर आएका नायकहरु दिलिप रायमाझी¸रमेश उप्रेती¸ आर्यन सिग्देल जस्ता नायकहरुको आजकाल फिल्म विक्न छाडेको छ । अनुहार सुन्दर नभएपनि सौगात मल्ल¸दयाहाङ राई¸विपिन कार्की¸नासिर हुसेन¸कामेश्वर चौरासिया जस्ता कलाकारहरु अभिनय कौशलका कारण अब्बल सावित भएका छन । खगेन्द्र लामिछाने पनि अभिनय क्षमताकै कारण सबैले सम्झिने कलाकारमा गनिन्छन । दर्शकहरुले उनीहरुमा नायकत्व देख्न थालेका छन ।
पल शाहः
म्युजिक भिडियोहरुमा काम गरेर नाई नभन्नु ल सिरिजबाट एकाएक चम्केका नायक हुन पल शाह । सुन्दर अनुहार का कारण यी नायक पनि चर्चाको शिखरमा रहेका छन । तर उन्को यो सिरिज उनी भन्दा पनि गीत र बालकलाकारहरुको कारण सफल हुन सकेको हो । तर पछिल्लो पटक उन्को जोनि जेन्टलम्यान र म यस्तो गीत गाउछु चलचित्र सफल भएपश्चात पल शाह पनि दर्शकको रोजाई मा पर्ने गरेका छन ।
अनमोल के.सीः
सफल तथा सदाबहार नायक भुवन के.सी का सुपुत्र भएका कारण उनलाई सिने उद्योगमा आउन कुनै कसरत गर्नु परेन । कोरियन लुक्सका कारण झट्ट हेर्दा एकदमै फ्रेश अनुहार भएर पनि होला उनी युवापुस्ता माझ लोकप्रिय रहेका छन । झन लगातार तीनवटा चलचित्र होष्टेल¸जेरी र गाजलु सफल भएपश्चात उनी महगों कलाकार भनेर पनि प्रचारमा आए । पछिल्लो पटक उनीद्धारा अभिनित कृ नामक चलचित्र सर्वाधिक प्रतिक्षारत भयो तर निकै तामझाम र खर्च गरिएको भएपनि उन्को यस चलचित्रले खासै कमाल भने देखाउन सकेन । यो फिल्म फिल्म मात्र नभएर अनमोल के.सी को विज्ञापन गरिएको फिल्म हो भन्ने सम्मको हल्लाहरु चले । तर जे जस्तो भएपनि हत्त न पत्त कुनै सार्वजनिक समारोहमा उपस्थीत नहुने अनि थोरै मात्र चलचित्रमा काम गर्ने भएकोले उन्को चलचित्र दर्शकको लागी प्रतिक्षाको विषय बन्ने गर्दछ ।
प्रदिप खड्काः
प्रेमगीत चलचित्र बाट एकाएक चर्चामा आएका अर्का चक्लेटि नायक हुन प्रदिप खड्का । पहिलो चलचित्र स्केप रजतपटमा स्किप भएको उनी प्रेमगीतबाट भने सबैले चिन्ने नायकमा गनिए । अझ यहि सिरिजको प्रेमगीत २ सर्वाधिक सफल चलचित्रको सुचिमा परेपछि उन्को चर्चापनि एकाएक आकासिन पुगेको छ । उनी पनि प्रेमगीत २ को  सफलता पश्चात महंगो कलाकार मा गनिन पुगेका छन । उन्को अभिनय रहेको चलचित्र लिली विली प्रतिक्षारत चलचित्रको सुचिमा परेको छ ।
 
चलिचत्र हेर्ने साहित्य हो । त्यो चलचित्र हेरिन्छ जस्ले आंखालाई शितलता र मनलाई आल्हादित बनाउछ । त्यो चलचित्र सफल हुन्छ जुन चलचित्रका पात्रहरुमा दर्शकले आफुलाई पाउछन । त्यो चलचित्र सफल हुन्छ जुन बास्तविकतासंग नजिक हुन्छ । त्यसकारण जति नै तामझाम र प्रचार प्रसार गरेपनि हलमा नलागीकन कुनैपनि चलचित्रको सफलता नाप्न सकिदैन । माथी मैले ३ जना नायकहरुको चर्चा गरे । जो बर्तमान समयका जल्दाबल्दा नायकहरु मा गनिन्छन । केहि बर्ष उनीहरुको यसैगरि चर्चा चल्नेमा कुनै शंका छैन । विल्कुल फ्रेश अनुहारका कारण पनि उनीहरुका चलचित्रहरु दर्शकको रोजाईमा पर्नेछन । स्टार हुन सजिलो छ¸एकाध चलचित्रले बजार पिटेपछि नायकहरु स्टारमा गनिन्छन तर स्टारडम जोगाईराख्न सजिलो छैन । भोलीका दिनमा यी ३ जना नायकहरुले आफुलाई अब्बल सावित गर्नुपर्ने छ¸आफ्नो स्टारडमलाई जोगाईराख्नु पर्ने छ । सधै लव गर्ने¸नाच्ने गाउने भुमिकाले मात्र स्टारडम जोगाउदैन । क्यामेराको अगाडि नर्भस नभैकन सम्बाद बोल्नु मात्र अभिनय हैन । आफुले निर्वाह गर्ने हरेक प्रकारको पात्रमा आफुलाई ढाल्न सक्नुपर्दछ¸ दर्शकले चलचित्रमा उनीहरुलाई उनीहरुको नामले हैन कि उनीहरुले निर्वाह गरेको चरित्रले चिन्न सक्नु पर्दछ । यदि रजतपटको लामो दुरि सम्म दौडिने हो भने यी ३ वटै नायकरुले अभिनयमा एकदम निखार लेराउनै पर्दछ¸ आफ्नो चक्लेटि छविबाट माथी उठनै पर्दछ किनकि दर्शकहरु कति दिनसम्म उनीहरुको अनुहार हेर्न हलसम्म आउलान र ? जसरी अघिल्ला चक्लेटि नायकहरुलाई विस्थापित गरेर उनीहरु आए¸भोली उनीहरुलाई विस्थापित गर्न अरु चकलेटि नायकहरु अबश्यै पनि आउनेछन । यसैले उनीहरु तिनैजनाले भोलीको दिनमा लामो समयसम्म यस उद्योगमा टिकिराख्न आफुलाई निखार्नै पर्नेहुन्छ¸ चरित्रमा भिज्नै पर्ने हुन्छ¸ अनि हरेक प्रकारको भुमिकामा त्यहि प्रकारको अभिनय गर्न सक्ने हुनै पर्दछ ।
मनोरञ्जन मल्ल ठकुरी

Leave a Reply

%d bloggers like this: