Thu. Apr 25th, 2024
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको नायिका केकी अधिकारी र नायक नाजीर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले सार्वजनिक गरेको फिल्मको ट्रेलरले मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाको कथा बोल्छ । फिल्ममा नाजीर राज्जा र केकी रानीको भूमिकामा प्रस्तुत भएका छन् ।
आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले ‘राज्जा रानी’को कथा उत्कृष्ट रहेको बताइन् । उनले भनिन्, ‘म ज्यादै खुसी छु, सम्भवत नेपालमा पहिला पटक यस्तो कथावस्तुमा फिल्म निर्माण भएको छ । फिल्मले मनोरञ्जन मात्र होइन समाजलाई सन्देश पनि सम्प्रेषण गर्छ ।’ कार्यक्रममा नायक नाजीर भने अनुपस्थित थिए ।
निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ ।
 https://www.youtube.com/watch?v=_2klmIAvWCI

Leave a Reply

%d bloggers like this: