Fri. Apr 26th, 2024

काठमाडौं। भूटानी शरणार्थीहरूको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’ को रिलिज मिति सरेको छ । जेठ–१२ गतेदेखि प्रदर्शनमा ल्याइने बताइएको यो फिल्मको रिलिज चुनावको कारण देखाउँदै रोकिएको हो ।
‘देशमा अहिले चुनावी माहोल छ,’ फिल्मका निर्देशक प्रकाश आङदेम्बेले भने, ‘त्यसमाथि यो रिलिज मितिमा अन्य दुई फिल्म रिलिजका लागि तम्तयार छन् । त्यसैले तत्काल फिल्म रिलिज गर्न उपयुक्त लागेन ।’
यो फिल्ममा भूटानी शरणार्थीको संघर्ष र दुःख देखाउन खोजिएको छ । पाँच वर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि आफूले यो फिल्म निर्देशन गरेको निर्देशक आङ्देम्बेको भनाइ छ । ‘दुई दशकभन्दा लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपाली भाषी भूटानी नागरिकहरूको वास्तविक कथा हो यो,’ फिल्मबारे आङदेम्बेले भने, ‘भूटानी शरणार्थीहरूको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा बाह्य द्वन्द्वलाई मार्मिक र संवेदनशील तरिकाले उजागर गर्न खोजेका छौँ ।’
फिल्मको कथा निर्देशक आङदेम्बेकै हो । जसलाई उपेन्द्र सुब्बाले पटकथामा ढालेका हुन् ।
फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरीता वली, तिब्ब्त राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बालगायत कलाकारको अभिनय रहेको छ । यो फिल्ममा आभासको संगीत, श्रवण मुकारुङको गीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । सञ्जय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: