Tue. May 21st, 2024

मनोरंजनसंसार डटकम
milan-amatya
भारतको आसाममा अलग्गै पहिचान बनाइसकेकी गायिका मिलन अमात्य जब नेपाल आइन्, उनलाई फेरि शून्यबाट संघर्ष गर्नुपर्ने बाध्यता पर्यो।
त्यो निर्णय लिनु उनका लागि सजिलो थिएन। भारतका विभिन्न क्षेत्रीय भाषाका गीतमा उनको स्वर सजिइसकेको थियो। राजस्थानी, नेपाली, बोडो तथा असामिज गरी चार भाषामा एल्बम सार्वजनिक भइसकेका थिए। उनको करिअर एउटा लयमा अघि बढिरहेको थियो।
यति हुँदाहुँदै उनका बाबु गणेश नेवार भने ‘अझ फराकिलो क्षितिजमा जानुपर्छ’ भन्दै मिलनलाई झक्झकाइरहन्थे।
आफ्ना बाबुको निरन्तरको झक्झकाहटले मिलन अन्ततः नेपालको संगीत क्षेत्रमा ‘नयाँ क्षितिज खोज्ने’ निधोमा पुगिन्। उनी आफ्नो पहिलो एल्बम ‘मिलन’ को तयारी गर्न नेपाल आइन्।
यो २०६७ सालको कुरा हो। त्यतिबेला नेपाली संगीत क्षेत्रमा भाग्यपरिक्षा गर्न छिरेकी मिलन आज नेपाली फिल्मको पार्श्व गायनमा खोजिने गायिकामध्ये पर्छिन्। व्यस्त गायिकाहरूको सूचीमा पनि उनको नाम पर्छ।
‘मलाई नेपाल आउँदा सुरुमा डर लागेको थियो। मलाई स्रोताहरूले कुन रूपमा लिनुहोला, उहाँहरूको नजरमा म पर्छु कि पर्दिनँ भन्ने डर थियो। यस्तै डर बोकेर म नेपाल छिरेकी थिएँ,’ मिलनले आफ्नो संघर्षका दिन सम्झँदै सेतोपाटीसँग भनिन्।
‘कतिपय अवस्थामा सक्षम हुँदाहुँदै परिस्थितिले फरक पारिदिन सक्छ। मलाई त्यसैको डर थियो। नेपाल छिरेर काम गर्न थालेपछि त्यो अवस्था रहेन। मैले राम्रो अवसर पाएँ। र, आजको अवस्थामा आइपुगेकी छु। काम गर्न त अझै धेरै बाँकी छ।’
दुई बहिनी र एक भाइसहित परिवारकी जेठी छोरी मिलनलाई घरको सांगीतिक माहोलले व्यावसायिक गायनसम्म ल्याएको हो।
उनको परिवारमा ठूलीआमा व्यावसायिक रूपमै गाउँथिन्। उनी असाममा नेपालीभाषी र स्थानीय असामी समुदायमाझ गायिकाका रूपमा परिचित छिन्। घरमा बाबुआमा तथा मामाहरू पनि गानाबजानाका सोखिन थिए। बाबा ड्रम बजाउन, मामाहरू तबला र बेन्जु बजाउन जान्ने थिए। आमा पनि गाउँथिन्।
यस्तो पारिवारिक माहोलले उनलाई सानैबाट संगीततर्फ रुचि बढ्यो। गायनमा पहिलो मौका उनलाई उही ठूलीआमाले नै दिइन्। त्यतिबेला उनी १२–१३ वर्षकी थिइन्।
सन् २००३ भने उनका लागि विशेष बन्न पुग्यो। भारतको जयपुरमा भएको एक राष्ट्रव्यापी गायन प्रतियोगितामा उनी सहभागी भइन्। उक्त प्रतियोगितामा भारतका कहलिएका पद्मभूषण विजेता नौसाद अलि, इनाज मस्तानी र गजल गायिका सुशिला रानी पटेल निर्णायक थिए। त्यसमा उनी गजल तथा लोकगायनतर्फ ‘फस्ट रनरअप’ घोषित भइन्।
यसले उनलाई सांगीतिक क्षेत्रमा परिचय दियो। आसामका स्थानीय पत्रपत्रिका र मिडियामा राम्रो चर्चा पाइन्। असामको सुरगंगा कम्पनीले गीत गाउन अफर गर्यो। उनले त्यसपछि सयौं संख्यामा भारतका विभिन्न भाषामा गीत गाइन्। राजस्थानी, असमी, बोडो, नेपाली चार भाषामा एल्बमहरू सार्वजनिक भए।
उनी त्यतिमै खुसी थिइन्, तर उनका बाबु भने छोरी नयाँ प्लेटफर्ममा जाऊन् भन्ने चाहन्थे। नेपाल उनका लागि त्यही प्लेटफर्म बन्यो। उनी २०६७ सालमा नेपाल आइन्। पहिलो एल्बम ‘मिलन’ को तयारीमा लागिन्।
यसैबीच नेपालमै उनको मागीविवाह भयो। यसले उनलाई नेपालको संगीतमा भविष्य खोज्न झन् सजिलो भयो। नेपाल–भारत धाइरहन परेन। पहिलो एल्बम ‘मिलन’बाटै उनलाई धेरैले चिने। एल्बमको ‘जहिलेसम्म संसारमा’ बोलको गीतले त खुबै चर्चा पायो।
पहिलो एल्बम रिलिजपछि फिल्म संगीतकार वसन्त सापकोटाले मिलनलाई एउटा भजन गाउन बोलाए। त्यतिबेला उनी ‘नोटबुक’ फिल्मका लागि नयाँ आवाज खोजिरहेका थिए। मिलन खोजेजस्तै गायिका बनेर आइन्। वसन्तले उनलाई ‘गाला रातै’ भएको मान्छेले ‘गाला रातै गीत राम्रो गाउँछिन्’ भनी ठट्टा गर्दै गीत गाउने अवसर दिए।
गीत हिट भयो। उनी त्यसपछि वसन्तकी रोज्जा पार्श्व गायिका बनिन्। उनले वसन्तकै संगीतमा ‘स्लोली, स्लोली’, ‘यो मनमा हमेशा छाइरहन्छौं’, ‘झ्याप्पै’ जस्ता एकपछि अर्को हिट गीत गाइन्।
यही क्रममा मिलनले दोस्रो एल्बम ‘मधुर मिलन’ निकालिन्। यो एल्बमका गीतले पनि स्रोताहरूको राम्रो माया पाए।
जिन्दगीमा सबै कुरासँग सधैं सन्तुष्ट भइँदैन भन्ने मिलनको बुझाइ छ।
‘काम गरिराखेको छु। करिअर आफूले भनेजस्तो त हुँदैन तर जति पाएको छु, त्यो राम्रो छ,’ उनी भन्छिन्।
उनलाई गायनमा अझ धेरै गर्न बाँकी छ भन्ने थाहा छ। आफ्नो गायनसँग उनलाई उति गुनासो छैन। बरु उनलाई अर्कै कुराले पिरोलिइरहन्छ।
‘परिवारको सहयोगबिना म आजको अवस्थामा आइपुग्न सम्भवै थिएन। श्रीमानको सहयोग त अझ ठूलो छ। यहाँ अन्तर्वार्ता दिन आउन पनि उहाँले मलाई कन्फियुजन होला भनेर नक्सा कोरेर पठाइदिनुभयो। उहाँबाट मैले खोजेको बेला जस्तो पनि सहयोग पाइरहेकी छु,’ उनले भनिन्, ‘तर, मैले परिवारका लागि जे–जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन। यही कुराले मलाई सधैं ‘पिन्च’ गर्छ।’
केही समयअघि उनको नन्दको बिहे भयो। परिवारका सबैमान्छे विवाहमा थिए। उनी भने त्यही बेला कार्यक्रम परेर विदेश जानुपर्यो। ‘घरको त्यत्रो ठूलो अवसरमा म यहीँ हुनुपर्थ्यो, तर हुन सकिनँ। बाहिर कार्यक्रम फिक्स थियो। प्रचारप्रसार भइसकेको थियो। जति गर्दा पनि मैले मिलाउन सकिन,’ उनले भनिन्।
मिलनलाई थाहा छ, आज उनी जुन ठाउँमा छिन्, त्यहाँ भोलि नरहन सक्छिन्। परिवार मात्र यस्तो हो, जुन हमेसा उनको साथ रहन्छ। यही बुझेर होला, उनलाई बढीभन्दा बढी समय परिवारलाई दिन पाउँ भन्ने चाहना छ।
उनलाई गायिकामा तारादेवी सबैभन्दा बढी मनपर्छ भने गायकमा नारायण गोपाल। समकालीनमा रजिना रिमाल र अन्जु पन्तको स्वर मनपर्ने उनी बताउँछिन्।
गायनसँगै उनलाई संगीत सिर्जनामा रूचि छ। उनले केही ‘कम्पोजिसन’ पनि गरेकी छन्। त्यसलाई तत्काल सार्वजनिक गर्ने सोच भने छैन। ‘मैले लेखेकी पनि छु, कम्पोजिसन पनि गरेकी छु। अहिले भने अरूकैमा व्यस्त छु,’ उनी भन्छिन्, ‘भोलि आफ्नो कम्पोजिसन बाहिर ल्याउँदा सल्लाह गरेरै ल्याउँछु।’
उनी हरेक प्रकारका गीत गाउन चाहन्छिन्। पपदेखि सेमी–क्लासिकल र आधुनिकदेखि लोकदोहोरीसम्म गाएकी छन्। ‘भर्सटायल भइयो भने अगाडि बढ्न सजिलो हुन्छ,’ उनी भन्छिन्, ‘कुनै एक विधामा सीमित हुनुपर्दैन। यसले गायक–गायिकाको गायनको आयु लामो पार्छ।’
मिलनलाई एउटा हिन्दी एल्बम निकाल्ने धोको पनि छ। यसको पछाडि एउटा कारण छ।
राजस्थानमा आयोजित राष्ट्रिय प्रतियोगितामा फस्ट रनरअपको उपाधि जितेपछि उनलाई सबैभन्दा ठूलो ऊर्जा र आत्मविश्वास जागेको थियो। त्यसले उनलाई बलिउडमा गीत गाउने सपनाको बिजारोपण गरिदियो। उनले तयारीस्वरुप भारतीय टेलिभिजनको ‘सारेगमप’ मा जाने प्रयास गरिन्। छनोट पनि भइन्, तर आर्थिक अभावका कारण मुम्बई जान सकिनन्।
उनलाई आज पनि त्यसको थकथकी छ।
‘केही समयअघि एउटा कार्यक्रमका लागि दिल्ली गएकी थिएँ। एउटा हिन्दी गीत गाउने मौका पाएँ,’ उनले भनिन्, ‘कुनै दिन एउटा हिन्दी एल्बम निकाल्ने इच्छा छ।’

%d bloggers like this: