मनोरंजनसंसार डटकम
टलकजंग भर्सेज टुल्के र पशुपतिप्रसाद जस्ता अब्बल सिनेमाको मुख्य भूमिकामा देखिएका खगेन्द्र लामिछाने शनिबार हँसिलो मुद्रामा प्रज्ञा प्रतिष्ठानको डबलीमा भेटिए । लामिछानेसँगै थिए, उपन्यासकार एवं पत्रकार नारायण वाग्ले । सन्र्दभ थियो, लामिछानेद्वारा लिखित कथा संग्रह फुलानीको विमोचन ।
बुक हिल प्रकाशनले बजारमा ल्याएको कथा संग्रहको विमोचन वाग्ले र कथाकार लामिछानेले संयुक्त रुपमा गरे । त्यसलगत्तै सुरु भएको संवादमा लामिछानेको कथा लेखनीको पृष्ठभूमी मात्रै खोतलिएन । वाग्लेले गरेको कही घोचक र रमाईला प्रश्नमा लामीछानेले उस्तै मिठास भरिएको उत्तर समेत दिए ।
लामिछानेसँगको संवादलाई ‘कथा कचहरी’को नाम दिएर वाग्लेले संवादका सुरुमा सोधे, यति व्यस्त कलाकारले कथा लेख्ने समय कसरी निकाल्न सक्छ ? नाटक लेखन र निर्देशन समेत गरेका लामीछानेले भने, ‘म बढो एकोहोरो स्वभावको मान्छे । जुन काम सुरु गर्छु, त्यो नसकेसम्म छटपटी भईरहन्छ ।’ सात कथा समेटिएको कथासंग्रहमा अधिकांश गाउँले चरित्र, गाउँका सन्र्दभ र केही खगेन्द्रसँग नजिक रहेका पात्रका अनुभूति र कथाहरु पनि समेटिएका छन् ।
खगेन्द्रले प्रस्ट पार्दै भने, ‘घनघसे कथाको मुख्य पात्र मेरा बाका साथी हुन् । उनको जीवनको उकाली आरोलीलाई नजिकबाट देख्दा म सधै छक्क पर्थें ।’ किताबभीत्र के के कुरा समेटिएको छ भन्ने कुरा पाठकले किताब पढेर नै थाह पाउन भन्दा भन्दै पनि खगेन्द्रले किताबका केही सन्र्दभ उक्काईहाले ।
वाग्लेसँगको संवादमा कथाकार लामिछानेले आफ्नो स्वाभाव मात्रै बताएनन्, पटकथा लेख्नु, नाटक लेख्नु र कथा लेख्नुको फरक पनि भएको बताउने प्रयत्न गरे । उनले सुनाए, ‘केही सन्र्दभ र प्रसंगहरु यस्ता हुन्छन, जो कथाकै निम्ती मात्रै उपयुक्त हुन्छन् । केही भने फिल्मकै निम्ती मात्रै उपयुक्त हुन्छन् ।’ लामिछानेले आफ्ना सात कथामध्ये एउटा मात्रै फिल्म बनाउन उपयुक्त विषय भएको बताए । तर त्यो कुन कथा हो भन्ने चाही खुलाउन मानेनन् ।
कार्यक्रममा सहभागीसँगको अन्तरक्रियामा खगेन्द्रले आफुलाई कथा, फिल्म वा नाटकको तत्व थाह नभएको बताउँदै भने, ‘यसको ठ्याक्कै परिभाषा त मलाई नि थाह छैन ।’ सिद्धान्तका कुराबाट तर्किदै उनले भने, ‘सिर्जनाका फरक फरक विधामा कलम चलाएपनि मलाई यसका ठोस परिभाषा र तत्व भने थाह छैन ।’ लामिछानेले सिर्जनात्मक कामलाई एउटै परिभाषामा बाध्न नसकिनेतर्फ संकेत गर्दै भने, ‘म मनले जता डोऱ्याउँछ त्यतै जाने मान्छे परे ।’ उनको कुरा सुनेर वाग्लेले फ्याट्ट सोधे, भेडा जस्तो ? खगेन्द्रले मुसुमुसु हाँस्दै भने, ‘अ त्यसै भनम् ।’