Fri. Apr 26th, 2024

चलचित्र विकास वोर्डले अब देखि सम्पूर्ण नेपाली सिनेमा हलहरुमा फिल्म सुरु हुनु पुर्व राष्ट्रिय गान बजाउनु पर्ने नियम लागु गर्ने भएको छ ।
बोर्डमा एक प्रेस मिटको आयोजना गर्दै वोर्ड अध्यक्ष राजकुमार राईले राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री निर्माण गरी दुई साता भित्र नेपाल चलचित्र संघ तथा फिल्म हलहरुमा उपलब्ध गराउने तथा कार्यन्वयनका लागि पत्राचार गर्ने बताएका छन ।
यसबारे अध्यक्ष राईले प्रेस मिटमा भने, ‘राष्ट्रियताको बोध गराउन हामीले यसो गरेका हौं । स्वदेशी तथा विदेशी फिल्म सुरु हुनु भन्दा अगाडी राष्ट्रिय गान बजेको छ कि छैन हामी त्यसको पनि अनुगमन गर्छौं ।’
त्यस्तै स्वदेशी फिल्मको शेयर बाँडफाँडको सम्बन्धमा पनि वोर्डले नयाँ नीति ल्याएको छ । अब हरेक मल्टिप्लेक्स हलहरुबाट निर्माताले पहिलो साता ५० प्रतिशत, दोश्रो साता ४२.५ प्रतिशत, तेश्रो साता ३७.५ प्रतिशत र त्यस उप्रान्त ३० प्रतिशतका दरले शेयर बाँडफाँड गर्ने सहमती भएको पनि अध्यक्ष राईले जानकारी दिएका छन ।
केहि साता अघि विकास वोर्ड र चलचित्र संघ सँगको छलफलले स्वदेशी फिल्मको प्रचार शुल्क मल्टिप्लेक्समा दुई साता सम्म निःशुल्क गर्ने सहमती पनि गरेको छ । त्यस्तै, चलचित्र विकास वोर्डले ‘सुनपानी’ र ‘१२ नेपाली एक चिहान’ दुई सिनेमालाई यस वर्षको विशेष फिल्ममा छनोट गरेको छ ।
यी दूई सिनेमाले विभिन्न विदेशी फिल्म महोत्सवहरुमा सहभागी हुने अवसर पाउनेछन् भने अंग्रेजी सब टाइटलमा विकास वोर्डको सहयोग प्राप्त गर्नेछन् । उता केहि समय अघि देखी चासो र चर्चाको बिषय रहेको बक्स अफिस लागु गर्नमा पनि अध्यक्ष राई लागि परेको बताएका छन ।

%d bloggers like this: