हिमग्याप लामा ‘टासी’ ।
हजार उदाहरणहरु व्यक्त गरेर नेपाली चलचित्रको पृष्ठ केलाइरहनु भन्दा सिधै नेपाली चलचित्रकै यथार्थलाई स्वीकारेर वर्तमान र वास्तविक नेपाली चलचित्रका बारे सिधाकुरा गर्नु सान्दर्भिक हुन्छ । नेपाली चलचित्रमा मै हुँ भन्ने निर्देशकहरु, निर्माताहरु, कलाकारहरु, चलचित्र विश्लेषकहरु, पत्रकारहरु सबैसबैले नेपाली चलचित्रको अवस्थाका बारेमा साँचो कुरा गर्न ढिला भईसकेको छ ।
नेपाली चलचित्रमा आफ्नो पन केही हुँदैन,न त, मौलिकपन नै। यसो हो भने के साँच्चै हामी नेपाली चलचित्रको मलामी गइरहेका छौ ? हिन्दी र केही अंग्रेजी चलचित्रको जन्ती गएर खुशी हुने संस्कार बनाउँदैछौ ?
नेपाली चलचित्र उद्योगमा सक्रिय व्यक्तिहरु अर्काको चलचित्र डुवोस्, भनेर कामना गर्दै बस्ने गर्छन् । डुबिहाल्यो भने खुशीमा चेयर्स गर्ने चलन पनि नयाँ होईन । कुनै चलचित्रले राम्रो व्यापार गरिहाल्यो भने त्यही क्षेत्रको अर्कोलाई मार टाउको दुख्नु नै नेपनली चलचित्र क्षेत्रको दुर्भाग्य हो ।सानो मुलुकको सानो उद्योगमा सक्रियहरु नै एक अर्काको असफलताक लागि मन्त्र जपेर वस्छन्,भने कसरी समग्र चलचित्र फस्टाउछ ? समस्या हाम्रो मन र मसितष्कमा छ ।
हामीले अहिले नेपाली चलचित्रलाई परिमार्जित गरेर समयसापेक्ष गराउने भन्दा पनि जसरी-तसरी एउटा चलचित्र बनाउने अनि मन्त्री, नेता सभासद या समाजकमा प्रतिष्ठित कहिलिएकाहरुलाई ज्यू-ज्यू गर्दै ‘फ्रि’मा हलमा स्वागत गर्ने र खाजा ख्वाएर उसैसंग फोटो खिचेर पत्रपत्रिका ‘न्यूज’ हाल्ने प्रवृत्तिले नेपाली चलचित्र उँभो लाग्नेवाला छैन् । तीनै व्यक्तिहरु भारतीय चलचित्र हेर्नलाई दुई दिन अगाडि नै टिकट ‘बुक’ गरेर परिवार र साथीभाइसँग हलमा गुग्छन् । अनि त्यही भवनको अर्को हलमा चलदै गरेको नेपाली चलचित्र नहेरी टिकाटिप्णी गर्छन् । अझ तीनै उपबुज्रुकहरु सामाजिक संजालमा भारतीय चलचित्रको भद्दा प्रशंसा गरेर नेपाली चलचित्रको आलोचना गर्न पुग्छन् । अब नेपाली चलचित्रको विकास नहुनुमा चलचित्रकर्मी , निर्देशक र निर्माता मात्र कसरी जिम्मेवार हुन सक्छन् ?
छोटो प्रसङ्ग चलचित्र भीमदत्तको । भीमदत्त चलचित्रको निर्देशन मैले गरे । नायक एवं निर्माता नवल खड्काले महान योद्धाको योगदानमा आधारित चलचित्र भीमदत्त बनाउनु पर्छ भन्दै मलाई प्रेरित गरे । नेपाली चलचित्र उद्योगमा यस्ता व्यक्तिमाथि चलचित्र नबनेका बेला मैले पनि अवसरलाई सदुपयो गरे । इतिहासले कुनै दिन भीमदत्त जस्ता वीर योद्धा जन्माएको थियो । जस्ले नेपाल आमाको अस्मिाता बचाउन आफ्नै सेना तयार गर्यो । सिंङ्गो भारतीय साम्रज्यवादसँग लड्यो । गरिबका पक्षमा आन्दोलन गर्यो । यस्ता योद्धाको उचित मूल्याङ्कन गर्न हामी चुक्नु हुदैन । यस्तै चलचित्रको माग छ ,बजारमा भन्दै बनायौ भीमदत्त । तर खोइ त ती योद्धा प्रतिको सम्मान,अनि मूल्याङ्कन? यदि भीमदत्त पन्त अमेरिका वा भारतमा जन्मिदिएको भए र भीमदत्त चलचित्र अमेरिका वा भारतमै बनिदिएको भए हामी नेपालीहरु हल भर्न दौडने थियौ । नेपाली चलचित्र भवनहरुमा’ ब्ल्याक’मा टिकट किनबेच गरिन्थ्यो होला ।
तर दुर्भाग्य वा सौभाग्य सोही भीमदत्त पन्त नेपालमा जन्मे र चलचित्र भीमदत्त पनि नेपालमै बन्न पुग्यो । नेपालमै बनेको चलचित्र भीमदत्त अमेरिका वा भारतका चलचित्र भवनहरुमा प्रर्दशन हुने कुरा त परै छाडौं, नेपालकै चलचित्र भवनहरुमा चलिरहँदा नेपालका आम मानिसहरुले गर्वका साथ शहिद भीमदत्त पन्तले मातृभूमी नेपाल आमाको अस्मिता बचाउन गरेको क्रान्तिका बारेमा केही जान्ने अवसरलाई सामान्य सदुपयोग भन्ने भावना पनि हामीसंग भएन ।
नेपाली पहिचान भएको चलचित्र कुन हो ,भन्दा हामी के–के लाई छान्छौं ? यो हाम्रो लागि ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ । सबै नेपाली चलचित्र सेन्सर बोर्डबाट पास भएको चलचित्रलाई नेपाली पहिचान भएको चलचित्र हो भन्न मिल्छ कि मिल्दैन ? जस्तै सबै अंग्रेजी भाषा बोलिएको चलचित्रलाई हलिउड चलचित्र मानिदैन ? त्यस्तै नेपाली भाषा बोल्दैमा नेपाली चलचित्र हुन्छ ? अमेरिकन ‘फिल्म इन्डष्ट्रि’ र ‘हलिउड फिल्म इन्डष्ट्रि’ फरक भए जस्तो नेपालमा पनि त्यस्तै किसिमको भिन्नता हुनु पर्ने हैन ?
महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१४ सालमा ११० दिनको शिक्षा मन्त्री हुँदा नेपालका स्कूल तथा कलेजहरुमा नेपाली र हिन्दि दुबै भाषामा पढाई हुन्थ्यो र सरकारी कामकाजमा समेत हिन्दी र नेपाली दुबै भाषाको प्रयोग गरिन्थ्यो । भाषा र राष्ट्रियताको विषयलाई लिएर वहाँले नेपाली भाषामा मात्रै पढाई हुनुपर्छ र सरकारी कामकाज समेतमा नेपाली भाषाको मात्र प्रयोग गर्नुपर्छ भन्ने नीति ल्याउनु भयो । जुन आज सम्म पनि हामी त्यही शिक्षा नितीको बाटो अवलम्वन गरिरहेका छौं । सरकारी तवरको कामकाज समेत नेपाली भाषामै गरिरेहका छौं । आजका मितिमा देबकोटा जस्तै दुर्दर्शी र राष्ट्रभक्ति सञ्चार मन्त्रीको खाँचो छ । जस्ले भारतीय चलचित्रमा रोक लागाई नेपाली चलचित्र मात्रै प्रशर्दन गर्न अभिप्रेरित गर्नेछन् । तब मात्र नेपाली चलचित्र ‘इन्डष्ट्रि’मा सुधार आउनेछ र नेपाली चलचित्रहरु पनि संसारले खोज्न शुरु गर्नेछ ।
नेपाली चलचित्रका दर्शक नेपाली चलचित्रैबाटै ठगिएका छन् र नेपाली चलचित्रहरु पनि नेपाली दर्शक्हरुबाटै ठगिन पुगेका छन् ।विशेषत भारतीय चलचित्रबाट नेपाली चलचित्रको दमन भईरहेको छ। घरघर र हातहातमा निःशुल्क प्रचारप्रसार अनि भारतीय चलचित्रका कलाकारहरु नेपाल भ्रमणमा रहेका बेला नेपाल सरकारले दिने सम्मान र ‘मिडिया’ले दिने महत्व यसको प्रमुख उदाहरणको रुपमा लिन सकिन्छ ।हाम्रा नेपाली चलचित्रका ‘सुपरस्टार’हरुको पारिश्रमिक र ‘स्टाडम’को कमजोरी हुनु र भएकाहरुको पनि स्थीर नरहनुले पनि नेपाली चलचित्र प्रतिको बुझाई दिनानुदिन कमजोर बन्दै गईरहेको छ ।
हाम्रा कलाकारहरु अमेरिका वा भारतमा हुँदा त्यहाँको ‘न्यूज च्यानल’को त कुरै छोडौं नेपालमै रहेका ‘मिडिया’हरुले पनि चासो नदिनु तर उताका साना वा ठूला कलाकार जो सुकै यता आए पनि ‘मिडिया’को ‘हेडलाइन’ बनिरख्नुले पनि नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा फरक आइरहेको छ । नेपालमा भारतीय चलचित्रका दर्शक होइन, नेपाली जनता छन् र हाम्रा त दर्शक पनि छैनन्, जनताको त कुरै छाड्दिम् ।
हाम्रा चलचित्र प्रचारप्रसारका लागि हाम्रै साना ‘मिडिया’हरुमा लाखौं खर्च गर्नु पर्छ भने भारतीय चलचित्र ठूला ‘मिडिया’, भारतीय टेलिभिजन च्यानल तथा ‘सोसियल नेटवर्क’मा ‘फ्रि’मा हेर्न पाइन्छ, जसको थिचोमिचोमा हाम्रा नेपाली चलचित्रहरु दिनानुदिन परिरहेका छन् । हप्तै पिच्छे हलिउडका १ वा २, भारतीय सिनेमा २ वटा, साउथ इन्डियन १ अथवा २ वटा, भोजपुरी १ र नेपाली २ देख ४ वटा चलचित्रहरु एकै हल र एकै समयमा रिलिज गर्नुले पनि नेपाली चलचित्रको विकासमा हल मालिकहरु के सोच्दछन् भन्ने प्रश्न उब्जाएको देखिन्छ । यो त बाघ र बिरालोको प्रतिस्पर्धा गराए झै हो । यस्तो कुरा सुहाउला ? ‘सेन्सर बोर्ड’को लापरबाही, सरकारको नालायक नीति, हलवालाको ‘मनोपोली’, निर्माता र निर्देशकको तालमेलको अभाव, कलाकारको अज्ञानता, दक्ष प्राबिधिकको अभाव, कथा, पटकथा, संवादको खिचडिपन, ‘डिष्ट्रिव्युटर्स’को मनोमानी, पत्रकार तथा समिक्षकहरुले राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकतामा राख्ने लागायत यस क्षेत्रसँग सम्बन्धितहरुको मपाईं , अर्धज्ञान र घमण्डका कारणले नेपाली चलचित्रको स्तर गिर्दोछ ।
हाम्रा नेताहरुले भारतीय चलचित्र हेरे ‘हेडलाईन न्यूज’बन्छ। सोही व्यक्ति राष्ट्रनायक भीमदत्त पन्तको जीवनमा आधारित चलचित्र हेर्न जाँदा ‘हेडलाइन’ बन्ने कुरा त परै छाडौं को गयो, के भयो चलचित्रमा के थियो भन्ने कुराको समेत अत्तोपत्तो हुदैन । चलचित्र भनेको केटाकेटीले चित्र केरमेर गरेको र भाँडाकुटी खेलेको जस्तो होइन । त्यसको पनि आफ्नै ‘इथिक’ र नियम हुन्छ । तब न चलचित्र, चलचित्र बन्छ । तर बिना बुझाइमा नाम र प्रचारका लागि बनेका चलचित्रहरुले मेहेनत र खोज गरी बनाएका राम्रा चलचित्रहरुलाई समेत बद्नामी गरिरहँदा ‘चेकजाँच’ गर्ने सेन्सर बोर्डको आँखा नखुल्नुलाई सरकारी स्तरको अन्धोपन भन्दा कुनै दुइमत नहोला ।
आजसम्म त हामी भारतीय चलचित्रको मात्र शोषणमा परेका छौं । त्यो भन्दा लाजमर्दो कुरा त भारतकै ‘साउथ इन्डिय’, ‘हलिउड’ र भोजपुरी चलचित्रमा हिन्दी भाषामा ‘ड्रबिङ्ग’ गरी ताइनतुईको चलचित्र मिश्रणलाई प्राथमिकता दिई प्रदर्शन गरिन्छ र नेपाली चलचित्रलाई प्रदर्शन भएको २-३ दिनमै हलबाट हटाउन दवाव दिइन्छ ।गोदाम जस्ता हलहरुमा नेपाली चलचित्र लगाउने अनि आधुनिक हलहरुमा भारतीय चलचित्र लगाउने र उनीहरले नै नेपाली चलचित्र चल्दैनन् भनेर प्रचार गर्ने यो कस्तो देशप्रेम हो ? सँगसँगै सरकारी निककायबाट अत्याधुनक हल निर्माणको लागि स्वीकृती समेत दिइन्छ । उनीहरुलाई नेपाली चलचित्र अत्याधुनक हलमा लागाउन कुनै दवाव दिईंदैन । यस्ता हलहरु भारतीय र हलिउड चलचित्र प्रशर्दन गर्न मात्रै निर्मित हुन्छन् ।कसले बुझ्ने नेपाली चलचित्रको पीडा ?
राम्रा चलचित्र नबनेर यस्तो परिणाम आएको हो भन्छन् चलचित्रका पण्डितहरु र दर्शकहरु पनि त्यसैलाई समर्थन गर्छन । हो बर्षमा १०० माथि चलचित्र बन्ने गर्छन नेपाली चलचित्र । दुई -चार वटाले मात्र आफ्नो लगानी असुल भयो भन्ने गर्छन। सबैले भन्ने गर्छन- चलचित्र भनेको मनोरञ्जन र दर्शकाको चाहाना अनुरुप भए अवश्य चल्छ । यसो हो भने के ९९५ चलचित्रहरु बिना मनोरञ्जनका थिए त ? किन दिइन्छ त यस्ता चलचित्र बनाउन स्वीकृत ?
मान्छेहरु किन चलचित्र जस्तो विधामा लाग्छन् ? किन निर्देशक जस्तो पदलाई खेलाची गर्छन ? त्यसको साटो बरु अरु कुनै क्षेत्रमा लगानी र अध्ययन गरे केही त राहात मिल्ला ।
३ करोड नेपाली रहेको नेपालमा ५० हजार दर्शकले हेरे भने पनि लगानी सुरक्षित हुन्छ । यसरी हेर्दा नेपाली चलचित्र हेर्ने दर्शक जम्मा ०.३५ भन्दा पनि कम छन् । भने नेपाली चलचित्र ‘इन्डष्ट्रि’लाई नै किन निरन्तरता दिने ? (लेखक: नेपाली चलचित्र भीमदत्तका निर्देशक हुन् ।)