Mon. Dec 4th, 2023

फागुन १५ गते देशभर एक साथ प्रदर्शन हुन लागेको चलचित्र पुनर्जन्मको दुई वटा फष्टलुक पोष्टर रिलिज भएको छ । फिल्ममा पहिलोपटक सिपाहीको भूमिकामा देखिएका अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘पुनर्जन्म’को फष्टलुक, ट्रेलर र गीत सार्वजनिक भएको छ । फिल्मले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कालिका ग्रुपका अध्यक्ष तथा सभासद विक्रम पाण्डे र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फष्टलुकको संयुक्त रुपमा सार्वजनिक गरे ।कार्यक्रममा अभिनेता आर्यनले फिल्ममा आफुले सिपाहीको भूमिकामा अभिनय गरे पनि फिल्म पछिल्लो पुस्ताका लागि पनि इतिहास बन्ने दाबी गरे । ‘यो फिल्ममा मैले द्वन्द्वमा पिल्सिएको एक सिपाहीको भूमिकामा अभिनय गरेको छु,’आर्यनले भने,‘अन्य फिल्ममा भन्दा यसमा मेरो भूमिका अलिक भिन्न छ, त्यसकारण पनि यो फिल्म २०–२२ वर्ष पछि पनि पुरानो हुँदैन, किनकी यसले एउटा इतिहास बोकेको छ ।’

arya-and-sushmitaफिल्मका निर्देशक तथा सम्पादक सजन श्रेष्ठ(सत्य)ले फिल्मले द्वन्द्वबारे जानकार नभएका पुस्तालाई द्वन्द्वको जानकारी दिने बताए । निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वका पीडालाई प्रस्तुत गर्ने जनाए । सभासद पाण्डेले पछिल्लो समयमा नेपाली फिल्म राम्रो बन्दै गएकोमा खुशी व्यक्त गर्दै समाजलाई जागरुक र सचेत गराउने किसिमका फिल्म बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा संगीतकार बसन्त सापकोटाले फिल्मको गीत सार्वजनिक गरेका थिए । आगामी फागुन १५ गतेबाट अल नेपाल रिलिज हुने फिल्म एमके इन्टरटेनमेन्टको व्यानरमा बनेको हो । भद्रबहादुर शाही समेत निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, सुष्मिता शाही, गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना, अञ्जु पन्त र जितु श्रेष्ठको स्वर र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

%d bloggers like this: