Thu. Mar 28th, 2024
काठमाडौं, जेठ ५ । वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रष्टको सहयोगार्थ चर्चित गायक आनन्द कार्कीले आगामी जेठ १२ गते सोमबार राजधानीमा एकल साँझ गर्ने भएका छन् । सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको सभाहलमा भेला हुने संगीतका पारखीलाई उनले दुई दर्जन गीत सुनाउनेछन् ।
कार्यक्रम आयोजक गाउँले इन्टरटेनमेन्टका प्रमुख बलबहादुर राईले सोलखुम्बुमा बिरामी परेर आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएकालाई राजधानीमा सहयोग स्वरुप ट्रष्टले उपचार सुविधा दिँदै आएको सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए । गायक कार्कीले कार्यक्रममा आफुले एक रुपैंयाँ पनि नलिने जानकारी दिए ।
२०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनले नेपाली सुगम संगीत तथा फिल्मी संगीत गरि करिब दुई हजार बढी गीत गाईसकेका छन् । पचास भन्दा बढी हिट गीत दिईसकेका कार्कीले कार्यक्रममा दुई दर्जन बढी गीत गाउनेछन् । भारतको लखनऊमा शास्त्रीय संगीत सिकेका कार्कीले सन् १९९ मा भारतीय चर्चित रियालिटी शो सारेगमको उपाधि पनि जितिसकेका छन् । उनले गाएका ‘वनमा फूल्यो फूल’, ‘भरे आउँछु सपनीमा’, ‘जनम जनम जीउँला सँगै’, ‘बिहानी पहिलो किरण सरी’, ‘ओठले नबोले पनि’, ‘म तिमी बिना मरिहाल्छु,’ ‘सधैं बस्ने चौतारीको’, ‘यी हल्लाहरु हुन्,’, ‘लाग्छ मन हेरीरहुँ’, ‘जेजे हुने हो यहाँ’ र ‘पहिलो चोटी पिउँदैछु’ जस्ता गीत सुपरहिट गितमा पर्दछन् । कार्यक्रममा गायक कार्कीलाई युगल गायनमा मिलन अमात्य, जुना प्रसाई, प्राश्ना शाक्य र शोभा काफ्लेले साथ दिनेछन् ।
%d bloggers like this: