Fri. Apr 19th, 2024

धनबहादुर खड्का
‘म्याक्रो मुस्कान’ क्या सुहाउँथ्यो उनलाई । म्याक्रो अर्थात् बृहत् अर्थात् विशाल ।
त्यो जिउँदोजाग्दो, त्यो भव्य र त्यो म्याक्रो मुस्कान !
‘माइक्रो’ (बस) को टायरले कुल्चिदियो त्यो म्याक्रो मुस्कानलाई ।
(म्याक्रोको विपरीतार्थ माइक्रो !)
लोकगायिका मञ्जु महतको ओठमा सदा पिङ खेलिरहेको हुन्थ्यो एउटा मुस्कान । जस्तै दुःख, जस्तै विपदमा पनि उनको अनुहारमा त्यो मुस्कानको गैरहाजिरी देखिनँ मैले ।
उनको मुस्कानमाथि एउटा सुन्दर कविता लेख्न चाहन्थेँ म ।
अफसोच ! आज यसरी अबिच्युअरी लेख्दै छु ।
छैन अब केही पनि बाँकी । त्यो मुस्कानको झल्कोबाहेक !
मञ्जुलाई पहिलो पटक भेट्दा मेरो हृदयले भनेको थियो, ‘ओ ब्वई, ह्वाट ए स्माइल !’
मञ्जुले भौतिक चोला बिसाउनु केही दिनअघिमात्र उनलाई राष्ट्रिय सभागृहमा भेटेको थिएँ ।
‘तपाईंको मुस्कानको मूल सुक्दैन ?’ मैले सोधेको थिएँ । मित्र दीपेशराज थारुले हाम्रो फोटो खिचेर देखाएका थिए, त्यहीँ उनको क्यामरामा ।
उनले हाँसेर जवाफ दिएकी थिइन्, ‘मृत्युपछि नसुक्ला र ?’
दीपेश र मैले उनलाई हप्काएका थियौँ, ‘धत् !’
०००
उनी दुर्घटनामा परेको खबर पाउनेबित्तिकै ग्रान्डी हस्पिटल पुगेको थिएँ । दशौँ तलामा उपचार भइरहेको थियो । उनलाई हेरेर फर्किनेले उनको अवस्था बताएपछि मलाई भाउन्न होलाजस्तो भयो । खुट्टा फतक्क गले । माथि उक्लिने आँटै गर्न सकिनँ । परिस्थितिको सामना गर्न सक्ने सामथ्र्य थिएन मसँग । म यति कमजोर छु– यस्तो बोध मैले पहिलो चोटि गरेँ ।
२९ वर्षको कलिलो उमेरमै दिवंगत भइन् उनी । उनको मुस्कानको अवसान भयो । सँगै, सम्पूर्ण लोककलाकार, सहृदय साथी, आफन्त र लोकगीतपारखीका ओठबाट मुस्कान गायब भयो ।
पहिलो पल्ट उनलाई २०६१ सालतिर भेटेको थिएँ । सबैभन्दा ठूलो नगदराशिको दोहोरी गीत प्रतियोगिता जितेकी थिइन् उनले । मैले सोधेको थिएँ, ‘तपाईंले यो सफलता पाउनुमा प्रतिभाले बढी काम गरेको छ कि लगनशीलताले ?’ उनले उत्तर दिएकी थिइन्, ‘लगनशीलताले । म इखले गर्दा यहाँसम्म पुगकी हुँ ।’
गएको तीजमा शुक्रवारका लागि अन्तरवार्ता गर्दा मैले यही कुरालाई लिएर प्रश्न गरेको थिएँ, ‘तपाईं इखले गर्दा गायिका बन्नुभएरको रे ?’ उनले छक्क पर्दै प्रतिप्रश्न गरेकी थिइन्, ‘कसले भन्यो ?’ किनभने उनी ‘मनका बह कसैलाई नकह’ भन्ने मान्यता राख्थिन् । आफूले बेहोरेका दुःखपीडाको विज्ञापन गर्दै हिँड्ने रुञ्चे प्रवृत्तिकी थिइनन् उनी ।
लोकदोहोरीको उर्वर भूमि पोखरामा जन्मेकी उनी पढाइ खर्च धान्नका लागि पोखराकै दोहोरी साँझमा काम गर्थिन् । सहकर्मीले कुरा काटे, ‘स्वर त ठीकै हो, तर मञ्जुलाई सवालजवाफ गर्न आउँदैन ।’
यही एउटा टिप्पणीले उनलाई ‘स्टेज स्टार’ बनाइदियो । दोहोरी सवालजवाफमै दर्जनभन्दा बढी प्रतियोगिता जितेर साथीभाइ र स्रोताबाट ‘स्टेज स्टार’को विशेषण आर्जन गरिन् । सदा मुस्कानमय, मृदुभाषी र मिलनसार मञ्जु सबैकी प्रिय थिइन् ।
०००
र… क्रूरतापूर्वक माइक्रोबसले सबैथोक कुल्चिदियो ।
माइक्रोबस एउटा वस्तुमात्रै हो । त्यसलाई सञ्चालन गर्छ एउटा मान्छेले । जब उसले ‘धर्म’ छाडिदिन्छ, मञ्जुहरूका म्याक्रो मुस्कानहरू सडकको पिचमा अचार बन्न पुग्छन् । सडकमा गुड्दै गर्दा कहिलेकाहीँ अकस्मात् गाडी ठोक्किन पुग्नु अस्वाभाविक नहोला । तर, ठोक्किएर घाइते भएकालाई ब्याक गरेर वा लतारेर किच्न उद्यत हुन्छन्, केही चालकहरू । मञ्जुको केसमा पनि त्यही भयो । उनलाई ठक्कर दिएपछि गाडी रोकेको भए ज्यान गुम्ने थिएन । तर, उनलाई टायरमुनि हालेर ५० मिटर परसम्म लतारेको प्रत्यक्षदर्शी बताउँछन् । ज्यानमारा चालक राकेश कार्कीलाई जोगाउनका लागि गाडीको ब्रेक फेल भनिएको छ । र, प्रहरीले सकारेको छ । (कस्तो सजिलो ! ब्रेक फेल भनिदियो, अरूको जिन्दगीसँग खेलबाड ग¥यो !)
ड्राइभरले १५ रुपैयाँको लोभमा ओभरटेक गर्न खोज्दा राष्ट्र, आफन्त र सहृदय मित्रले कहिल्यै नभरिने, कहिल्यै नपुरिने बिछोडको घाउ पाएका छन् । एक ठक्करमा सिध्याइएकी मञ्जुले अहिलेकी मञ्जु बन्न कम घामपानी झेलेकी थिइनन् । मेहनतपछि सफलता पाइन्छ भन्ने उदाहरण पनि हुन् उनी । कुनै समय दोहोरीको सवालजवाफ गर्न नजानेर साथीबाट हेपिएकी उनले मेहनत गरेरै लाइभ दोहोरी ‘स्टार’ बनेकी थिइन् । सम्झौता होइन, लगनशीलताले सफलता दिलाउँछ भन्ने गतिलो उदाहरण पनि हुन् उनी । उनी भन्थिन्, ‘गायिका समयले बनायो, म हिरोइन हुन चाहन्थेँ ।’ शुक्रवारकै लागि दिएको अन्तरवार्तामा उनले भनेकी छिन्, ‘पहिलो गाँसमै ढुंगा लाग्यो । एक जना निर्देशकले पहिलो भेटमै हिरोइन बनाउने नाममा घटिया प्रस्ताव राखे । त्यसपछि त्यो दुनियाँ मेरा लागि होइन भनेर म पूरै गायनतिर लागेँ ।’ त्यसअघि १८ वर्षकै उमेरमा ‘आमाको आशिर्वाद’ भन्ने फिल्ममा राजेश हमालकी आमाको भूमिकामा अभिनय गरेकी थिइन् उनले । कला क्षेत्रमा रहेकाहरु अनपढ हुन्छन् भन्ने मान्यतालाई चिर्न चाहन्थिन् । कुनै पनि हालतमा मास्टर्स डिग्रीको पढाइ सिध्याउने ध्याउन्नमा थिइन् ।
लोकदोहोरी क्षेत्रले कलाकारमात्रै होइन, एउटा नेता पनि गुमाएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिकी प्रथम उपाध्यक्ष रहेकी उनी कलाकारहरुको संगठन बलियो हुनुपर्छ भन्ने मान्यता राख्थिन् ।
मृत्यु सत्य हो । तर, कसैको मृत्यु उसका आफन्तलाई स्वीकार गर्न गाह्रो हुन्छ । उनको मृत्यु स्विकार्न नसकेका कलाकारहरु स्वस्फूर्त रूपमा निर्दयी चालकविरुद्ध सडकमा आए । सवारी चालकको हेलचेक्य्राइँले सेलिब्रिटी मञ्जुमात्रै होइन, अरू साधारण मञ्जुहरुको ज्यान नजाओस् भन्ने कुरालाई ध्यानमा राखेर उनीहरू विरोधमा उत्रिएका थिए ।
यातायात व्यवसायी र प्रहरी प्रशासनले यसलाई सस्तो शब्द ‘क्षतिपूर्ति’का रूपमा अथ्र्याए । सोह्रखुट्टे प्रहरीचौकीमा यातायात व्यवसायीले मञ्जुलाई वस्तु ठानेर गरेको तल्लोस्तरको बार्गेनिङ हेर्दा मन गह्रुँगो भयो । त्यसैगरी संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने महाराजगञ्ज प्रहरी चौकीका डीएसपी प्रभु ढकालको प्रस्तुतिले पीडाको घाउमा नुनचुक छर्किदियो । मृत्युपछि ठक्कर दिने गाडीले भविष्यमा त्यस्तो गल्ती नदोहो¥याओस् भन्न गएका कलाकारहरुसँग उनी चिढिए ।
(पीडा र आक्रोशको विष्फोट कस्तो हुन्छ ? कहिल्यै महसुस गर्नुभएको छ, डिएसपी साब् ! मञ्जु तपाईंका लागि पराई थिइन् । कल्पना गर्नुहोस्– तपाईंका आफन्तले हिँड्दै गरेको बाटो, बोल्दै गरेको बोली र लिँदै गरेको सास मञ्जुको जस्तैगरी अन्तिम हुन्छ भने ? त्यसपछि पीडितलाई भन्नुहोला, डीएसपी साब्– ‘तपाईं पनि तयारीका साथ सडकमा आउनुहोस्, हामी पनि तयारीका साथ सडकमा आउँछौँ ।’ कलाकारहरू विजय थापा, जमुना राना, कुलेन्द्र बिकहरुलाई भाटा ठोक्न तपाईंलाई राज्यले तलब दिएर पालेको हो ?)
अवश्य पनि पीडा र आक्रोश मिसिएर पोखिँदा अलि चर्काे हुन्छ । अघिल्लो दिनसम्म हाँसेर बिदा भएकी परिवारकी सदस्यको भोलिपल्ट लाश अस्पतालमा छाडेर प्रहरीचौकीमा ‘वार्ता’ गर्न आउँदा पनि पीडक पक्ष नआउँदा आक्रोशको ज्वारभाटा उर्लिन्छ नै । तर, उनीहरु संयमित थिए । म आफैँ यी सबै घटनाका प्रत्यक्षदर्शी थिएँ । डीएसपी प्रभु ढकालले सुरुमै भने– तपाईंहरू(कलाकारसँग) भेट भयो, खुसी लाग्यो ।’
हामी पीडाले तिलमिलाइरहेका थियौँ, उनी भने हर्ष व्यक्त गरिरहेका थिए !
यसलाई संवेदनहीनताको पराकाष्ठा नभन्नु कसरी ?
कलाकार र उनका आफन्त यसकारण यातायात व्यवसायी र राज्यसँग वार्ता गर्न चाहन्थे कि सडकमा गुड्ने ‘काल’ (माइक्रोबस) ‘सेवा’मा परिणत होस् । यिनले भविष्यमा अरू मञ्जुहरुमाथि टायर चढाएको हेर्न नपरोस् ।
आर्थिक रूपमा निम्न वर्गीय परिवारबाट उठेकी मञ्जुले कडा संघर्ष गरेर एउटा उचाइ हासिल गरेकी थिइन् । सुखका दिन सुरु हुनै थालेका थिए, गीत सफल भइरहेका थिए । स्टेज कार्यक्रममा व्यस्तता बढ्दो थियो । आफ्नो समय दुःखले गुज्रे पनि सात वर्षीया छोरी प्राप्ति र १५ महिनाको छोरा प्रस्तुतलाई सुखी र खुसी राख्ने उनको सपना थियो । (त्यो सपनाको क्षतिपूर्ति तिर्ने ल्याकत कोसँग छ ?)
यी दुई नाबालकका भविष्यका लागि केही गर्न सकिन्छ कि भनेर आफन्तको लाश अस्पतालमा अलपत्र छाडेर प्रहरी चौकी र पुलिस थानामा धाएका थिए, आफन्त र कलाकारहरु ।
मञ्जुका बालबच्चाको ‘भविष्यका लागि’ साढे पाँच लाख रुपैयाँ दिँदै गर्दा यातायात व्यवसायीले पंक्तिकारसँग अनुरोध गरेका थिए, ‘यसलाई मिलाएर लेखिदिनुहोला । हामीले ठूलो रकम तिरेका छौँ ।’
तपाईंहरुका लागि यो रकम ठूलो होला ।
तर, सरहरूले एउटा कुरो बुझ्नुभए बेस हुन्थ्यो…
मान्छेको जीवनको मूल्य सिंगो पृथ्वीले पनि चुक्ता गर्न सक्दैन ।
शुक्रवारबाट
 
 

%d bloggers like this: