Thu. Mar 28th, 2024

काठमाडौं, माघ २७ । पोखरामा पाँच अन्तराष्ट्रियस्तरका मल्टिप्लेक्स हल निर्माण हुने भएको छ । निर्माण संस्थाहरुका अनुसार यी हलहरु पोखराका मध्यमवर्गिय दर्शकहरुलाई लक्षित गर्दै मल्टिप्लेक्स हल निर्माणमा हात बढाईएको हो ।
निर्माणाधिन पोखरा ट्रेड मलमा तीनवटा मल्टिप्लेक्स हल निर्माणको लागि अहिले डिजाईनको काम भैराखेको छ । त्यस्तै निकट भविष्यमै पोखरामा हल संचालन गर्दै आएका उत्तम द्वाले सभागृहचोकमा अर्को दुईवटा मल्टिप्लेक्स हल निर्माण गर्दैछन् । यी हल थपिएसंगै सिंगल पर्दाका हलसहित पोखरामा एघार वटा फिल्म हल हुनेछन् ।
‘डिजाईनको काम धमाधम भैराखेको छ,’ पोखरा ट्रेड मल निर्माण समितिका मिनराज काफ्लेले भने–‘दुई वटा मल्टिप्लेक्स हलको कुरा टुंगोमा लागिसकेको छ भने अर्को एउटा हलको लागि ईन्जिनियरहरुले डिजाईन गरिराखेका छन् ।’ पोखरा ट्रेड मलमा रहने तीन वटा मल्टिप्लेक्स हलमा दुईवटा हल ६० सिटका हुनेछन् भने एउटा १ सय ८० सिटको हुनेछ । मल्टिप्लेक्ससहित मनोरञ्जनका लागि मलमा गेमिङ जोन, फुड कोर्ट जस्ता पुर्वाधारहरु समेत रहनेछन् ।
पोखरामा चारवटा हल संचालन गर्दै आएका उत्तम द्वाले पनि सभागृह चोकमा व्यापारिक मलभित्रै मल्टिप्लेक्स निर्माण गर्न लागेका हुन् । ‘नगरपालिकामा नक्सा पासको प्रकृया चलिरहेको छ,’ द्वाले भने–‘नक्सा पास भएलगत्तै व्यापारिक मल निर्माण अगाडि बढाईनेछ ।’ मलभित्रै २ वटा अत्याधुनिक मल्टिप्लेक्स हलहरु रहनेछन् ।मल्टिप्लेक्स समेत रहने मल २ रोपनी क्षेत्रफलमा रहनेछ ।
पोखरामा हाल श्रीकृष्ण, वाराहि ‘क’, वाराहि ‘ख’, विन्दबासिनी, कल्पना र पुर्णिमा हल संचालनमा रहेका छन् । फिल्मले राम्रो व्यापार गर्न छोडेपछि पोखरामा केहि हलहरु बन्द समेत भएका छन् । यद्यपी यहि समयमा पोखरामा थपिन लागेको पाँचवटा मल्टिप्लेक्स हलहरुले पोखराको फिल्म बजारलाई उकास्ने अनुमान लगाउन सकिन्छ ।

%d bloggers like this: