Fri. Apr 26th, 2024

काडमाडौं, १८ माघ । नाट्यकर्मी कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशनमा नाटक ‘बहुला काजीको सपना’ सर्वनाममा मञ्चन भइरहेको छ । १७ माघबाट सुरु भएको नाटक फागुनको पहिलो सातासम्म मञ्चन हुुने निर्देशक यात्रीले बताए ।
विजय मल्लले ६६ वर्षअघि लेखेको ‘बहुला काजीको सपना’ भित्र तत्कालीन समयमा चरम गरिबी र अभावबीच शिक्षाको उज्यालो फैलाउन चाहने एक क्रान्तिकारी पात्रको सपनालाई दर्शाइएको छ । सहरमा भरियाको काम गरि बल्लतल्ल एक छाक खान पुग्ने भक्ते र मानेजस्ता प्रतिनिधी पात्रले आफ्ना सन्तानलाई पढाउने हौसला ‘बहुला काजी’ नामका पात्रबाट पाउँछन् । बहुलाकाजीको सल्लाहले बालक वीरबहादुरले पढ्न थाल्छ । पढाइमा ऊ अब्बल भएर देखापर्छ । सबैको आशाको केन्द्र बन्छ । उसले पनि नयाँ सपना देख्न थाल्छ तर एक सामान्य ज्वरोको समेत पैसाको अभावले उपचार नपाई वीरबहादुर थला परेपछि उज्याला सपनाहरु कसरी टुट्छन् र भताभुङ्ग हुन्छन् भन्ने कुरा नाटक पाइन्छ । रंगमञ्च र अभिनयमा लामो अनुभव सँगालेका कलाकारको अभिनय रहेको सो नाटक हेरेपछि दर्शकको आँखा रसाएको थियो ।
एघार र बाह्र कक्षाको कोर्समा सामेल यो नाटक वर्तमान अवस्थामा सान्दर्भिक भएकाले मञ्चन गरिएको यात्रीले बताए । यात्रीकै  निर्देशनमा ‘बहुला काजीको सपना’ पहिलोपटक २०४९ सालमा मञ्चन भएको थियो । सर्वनाममा मञ्चन भइरहेको यस नाटकमा विष्णुभक्त फुयाँल, काजी रम्तेल, अशोक शिवाकोटी, लक्ष्मण पौडेल, अवतार कँडेल, अर्चन राई, स्वर्णिम थापा, जीवन विलास पाण्डे, अजय रेग्मी, पिटर प्रिन्स, सुदीप खतिवडालगायतले अभिनय गरेका छन् । नाटक ज्योतिपुञ्ज साइन थिएटरले प्रस्तुत गरेको हो ।

%d bloggers like this: