‘रेखा थापा को हो ? भनेर चार वर्षको बच्चालाई सोध्नुस्, उसले सजिलै भनिदिन सक्छ,’ अभिनेत्री रेखा थापा आफू लोकप्रिय भएको उदाहरण यसरी प्रस्तुत गर्छिन् । यथार्थ जे होस्, ‘चर्चा’ र ‘रेखा’ केही वर्षदेखि सँगै जोडिएर आउने शब्द भएका छन् । फिल्म क्षेत्रका मानिस भन्छन्, ‘रेखा जे गर्छिन्, चर्चाका लागि गर्छिन् ।’ यसमा उनको प्रतिवाद छ– ‘म जे गर्छु, त्यसको चर्चा हुन्छ ।’ धेरै कुराले उनलाई चर्चा र विवादमा ल्यायो । छोटो पहिरन, पत्रकारमाथि हातपात, प्रचण्डसँगको नृत्य, छविसँगको प्रेम, विवाह र डिभोर्स आदि इत्यादि । तीमध्ये राजनीति र राउटेसँगको निकटता उनका जीवनका बहुचर्चित ‘काण्ड’ हुन् । अरूले राम्रो÷नराम्रो जे भनिदिए पनि उनलाई आफूले गरेका कुरा शतप्रतिशत सही लाग्छन् । त्यसका पछाडि उनका तर्क यस्ता छन्ः
यसकारण राजनीतिमा
राजनीतिमा त्यस्ता मान्छेको बाहुल्य छ, जसले जोश, जाँगर र धन सबै सकिसकेका छन् । त्यसकारण उनीहरू नाम र दामका लोभी छन् । त्यसले देशको विकास हुन सक्दैन । कमसे कम मजस्ता नाम र खान पुग्ने दाम पनि कमाएका युवा राजनीतिमा लाग्नुपर्छ भनेर लागेकी हुँ । तर, सायद समय आइसकेको थिएन । जनताको सेवा गर्ने ठाउँमा पुगिनँ ।
माओवादी होइन म
सबैले मलाई माओवादीका रूपमा चिन्छन् । तर, म माओवादी होइन । म ‘रेखा थापा पार्टी’को मान्छे हुँ । म कांग्रेस, एमाले, माओवादी सबै दलको आफन्त हुँ । वास्तमा म नेपाल राष्ट्रको कार्यकर्ता हुँ, कुनै दलको होइन । सबै राजनीतिक नेताहरूले देशकै कार्यकर्ताका रूपमा आफूलाई चिनाउनुपर्छ । नितान्त कलाकार र समाजसेवी रेखा थापा हुँ म । त्यसैले यति बेला कसैले मलाई माओवादी भन्छ भने त्यसमा मेरो आपत्ति छ । म कसरी माओवादी ? पार्टीको सदस्यता लिएकी छैन र पार्टीको कुनै पनि संगठनमा छैन ।
‘प्रचण्डको बा’को स्केचकी फ्यान
माओवादीमा प्रवेश गर्दा पनि मलाई माओवादीको सिद्धान्त थाहा थिएन । जनयुद्धकालमा पुष्पकमल दाहाल प्रचण्डको स्केच पत्रिकामा छापिन्थ्यो । टाउको मूल्य तोकिएको र एउटा शक्तिलाई हल्लाइरहेको त्यो स्केचप्रति मेरो आकर्षण बढ्यो । त्यसपछि ‘प्रचण्ड बा’ प्रति पनि । किनभने, ‘प्रचण्ड बा’ एउटा कालखण्ड (राजतन्त्र) समाप्त गर्ने व्यक्ति हुन् ।
यसकारण नाचँे
प्रचण्डसँग नाच्नुअघि उहाँसँग मेरो भेट भएकै थिएन । टीभीमा मात्रै हेरेकी थिएँ, भेट्ने रहर थियो । यही क्रममा माओवादीले १९ दिने आन्दोलनमा सांस्कृतिक विरोध गर्ने दिन मलाई निम्तो आयो । पछि थाहा पाएँ, सबै कलाकारलाई आएको रहेछ । सबै डराएछन् । म असाध्यै निडर केटी हुँ । त्यत्ति कारणले मेरो करिअर समाप्त हुन सक्थ्यो, रिलिज हुनै लागेको फिल्मले पानी पिउन नपाउने अवस्था आउन सक्थ्यो । तर, म गएँ । जनताले रेखाको नाच पर्दामा धेरै हेरिसकेका छन् । मलाई चाहना थियो, त्यो दिन विचार सुनून् । तर, ननाची धरै पाइनँ । म फिल्मको हिरोइन, प्रचण्ड जनयुद्धको हिरो ! त्यसपछि नाच्न अफर गरेँ । नाचियो, पछि त उहाँसँग लभै परेको गसिप पो सुन्न पाइयो ।
रियल माओवादी म
माओवादी प्रवेश गर्नुअघि सिद्धान्त थाहा थिएन । प्रवेश गरेपछि धेरै किताब उपलब्ध भए । प्रगतिशील र साम्यवाद भन्ने शब्दका अर्थ थाहा भयो । तर, खै त माओवादीहरूका नेताहरूमा साम्यवाद ? चारैतिर आठपहरिया राखेर चिल्ला गाडी चढ्ने माओवादी नेताहरू समानताका पक्षधर कसरी भए ? नेताहरू त जनताका नोकर हुन् । नोकरसँग अथाह सम्पत्ति हुने भनेको मालिक (जनता) को चोरेरै हो । यो मेरो विरोध होइन, तर सिद्धान्तमा रहेको समानता र अग्रगामी दृष्टिकोणको व्यावहारिक प्रयोग भएको देखिँदैन । पढेपछि थाहा पाएँ, रियल माओवादी त म रहेछु । उहिल्यैदेखि अग्रगामी चेतना र सेवाभाव मभित्र रहेको छ ।
घरबाटै सुधार गर्नुस्, ‘प्रचण्ड बा’ !
एमाओवादीका नेतासँग मेरो कुनै मतलब छैन । मेरो मतलब पार्टीसँग छ । पार्टी राम्रो हुनुपर्छ । कांग्रेस, एमाले उहिल्यै फेल भएकाले अघिल्लो चुनावमा माओवादी ठूलो पार्टी बनेको हो । यतिबेला फेरि जनताको झापड खायो । यसको मुख्य कारण नातावाद हो । आफ्नै छोरा पिए रे ! पिए आफूभन्दा जान्ने पो हुनुपर्छ । आफूले बिगारेको पनि उसले सच्याउन सकोस्, मार्गनिर्देश गर्न सकोस् । प्रचण्ड बा, पार्टीलाई ठूलो बनाउने हो भने सुधार घरबाटै थाल्नुहोस् । आफ्नै छोरा–बुहारीलाई सुधार्नुस् । यो कुरा फेस टू फेस पनि भन्न सक्थेँ । तर, प्रचण्ड बासँग ‘कन्भिन्स’ गर्ने क्षमता छ । त्यसैले उहाँले तर्क गर्नुभयो भने मैले ‘हो त’ भन्न सक्ने भएकाले पत्रिकामार्फत भनेकी हुँ ।
राउटेलाई म्वाइँ
असाध्यै धेरै कोणबाट चर्चा भएको विषय थियो यो । ‘चामल बाँड्न गएकी रेखाले किस बाँडिन्’ भन्दै आलोचना नै बढी भयो । ‘राउटे रिसाए’ भन्ने कुरा पनि आयो । राउटेलाई चकलेट बाँडेर तस्बिर खिच्दै फुटेज बेच्नेहरूले डाहले त्यस्तो हल्ला फिँजाएका हुन् । शहरका सुकिलामुकिलाहरू राउटेको नजिकै जान नाक खुम्च्याउँछन् । उनीहरूको दुर्गन्ध नाकमा नपरोस् भनेर मास्क लगाएर जान्छन् । मैले त त्यो राउटे भाइको गालामा म्वाइँ खाएर मानव जाति समान रहेको प्रमाण पेश गरेँ नि । मसँग राउटे असाध्यै खुशी छन् र उनीहरूको महŒवपूर्ण पर्व माघीमा निम्तो पाउने एक्ली ‘गैरराउटे’ हुँ । राउटेका मुखियाले ‘सूर्ति ल्याईकन आया’ भन्नुभएको छ ।
आमा भएँ म
सबैभन्दा पिछडिएको तर आफ्नो परम्पराप्रति कट्टर राउटेलाई फकाएर उनीहरूका बच्चा पढाउन ल्याउनु सानो मेहनतको फल होइन । राउटेका मुखियाले भने, ‘पढाईकन क्या गन्र्या, पढ्या पनि मुन्छे मर्छ, नपढ्या पनि मर्छ ।’ मैले उत्तरै भेटिनँ, एकछिन चुप बसेँ । तर, प्रयास गर्दै जाँदा सरकारले ‘बच्चा पढाउनुस्, व्यवस्थित तरिकाले बस्नुहोस्’ भन्दा नपत्याउनेले रेखा थापालाई पत्याए । म राउटेका चार छोराछोरीकी आमा भएकी छु । उनीहरूलाई ल्याएर नुहाइदिँदा आमा हुनुको गर्व र दुःख दुइटै महसुस गरेकी थिएँँ । यी चार सन्तानले अब पूरै राउटे समुदाय बदल्नेछन् । किनभने, मर्न त मान्छे पढेपछि पनि मर्छ, न पढे पनि मर्छ । तर, पढेपछि बाँच्नुको अर्थ बेग्लै हुन्छ भन्ने कुरा उनीहरूले नै आफ्नो समुदायलाई सम्झाउनेछन् ।
लभै पर्दैन
भर्खर बिहे गर्ने उमेर भयो । त्यसैले आफ्नै बच्चा हुने समय बाँकी छ । बिहे हुनका लागि लभ पर्नुप¥यो । मन हुनेसँग माया हुन्छ, मसँग पनि छ । दुश्मनी हुनु पो नराम्रो, लभ पर्नु त राम्रो नि । म पनि लभ परिरहोस् भन्ने चाहन्छु । तर, कसम मेरो त लभै पर्दैन भन्या । नर्मल रेखा भएको भए धेरैले अप्रोच गर्थे होलान् । म हिरोइन रेखा थापा हुँ । युवाहरू सबै मेरा फ्यान हुन् कि क्या हो प्रस्तावै गर्दैनन् ।
‘प्लान’ लिएर आऊन्
साथीको असाध्यै खाँचो पनि छैन । किनभने, म आत्मनिर्भर महिला हुँ । कालान्तरमा माया गर्ने एउटा साथी चाहिन्छ भन्ने कुरा हो । अहिलेको जमानामा त्यसको पनि खाँचो हुँदैन । राम्रो मान्छे भयो भने जसले पनि माया गर्छ । त्यही चिजका लागि साथी चाहिन्छ भन्ने पनि छैन । जो मेरो श्रीमान् हुन चाहन्छ, उसले चार छोराछोरी पहिल्यै देखिसकेका छन् । बाँकी कति बनाउने भन्ने प्लानिङ ल्याएर आउनुपर्छ । ज्योतिषका अनुसार अझै दुई वर्ष त मेरो बिहे हुँदैन रे ।
अब अनुराधामार्गमा
मैले अहिले आएर बुझेँ, राजनीतिकर्मीले पनि समाजसेवाकै उद्देश्य बोकेको हुन्छ र समाजसेवीले पनि । चार वर्षको बच्चालाई रेखा थापा र अहिलेका मन्त्री वा प्रधानमन्त्रीकै नाम लिएर सोध्नुस् । मलाई धेरैले चिन्छन् । त्यसैले मैले राजनीतिमा लागेर प्राप्त गर्ने भन्दा बढी नाम फिल्मबाटै प्राप्त गरिसकेकी छु । राजनीतिमा लागेकाले गर्न नसकेको काम अनुराधा कोइरालाजस्ता समाजसेवीले गरेका छन् । त्यसकारण म पनि समाजसेवातिरै लाग्न खोजेकी हुँ ।
प्रस्तुतिः धनबहादुर खड्का
(शुक्रवारबाट)