Sat. Oct 26th, 2024

डेढ दशकदेखि लोक गायनमा सक्रिय रहेका गायक विरही कार्कीले आफ्नो एकल साँझ फागुन २९ मा गर्ने भएका छन् । आफ्नो गायन अवधिभर गाइएका सफल करिब एक दर्जन गीतहरुका साथ उनले आगामी फागुन २९ मा एकल साँझ गर्न लागेको कुरा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रष्ट पारेका छन् ।
एकल साँझको उद्घोषसँगै गायक विरही कार्कीले चेपाङ जातिको सहयोगार्थ आफूले कार्यक्रम गर्न लागेको प्रष्ट पारेका थिए । कार्यक्रममा बोल्दै गायक कार्कीले सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिँदै सबैलाई समाजसेवा गर्न आग्रह गरेका थिए । ‘सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘विरही कार्की एकल साँझ’ले समाजबाट पिछडिएको एवं उत्पीडित जातिको रुपमा रहेका चेपाङ बस्तीमा शिक्षा, चेतना अभिबृद्धि एवं समाज विकासका लागि केही योगदान पु¥याउने लक्ष्य राखेको गायक कार्कीले बताएका छन् ।
चेपाङ समाजमा रहेको कला संस्कृति एवं सामाजिक गतिविधिलाई अझ समुन्नत बनाउनका लागि र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन इभेन्ट म्यानेजमेन्टको जिम्मा लिएका शुभकामना मिडिया सोलुसनका अध्यक्ष सुमन बैरागीले आग्रह गरे । सुनखानी म्यूजिकको आयोजनामा हुन लागेको विरही कार्की एकल साँझले हराउँदै गएको मौलिक कला संस्कृतिको क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग मिल्ने उनले बताए ।
त्यसैगरी राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका तर्फबाट बोल्दै अध्यक्ष गोविन्द गिरीले आगामी फागुन २९ मा नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुन लागेको विरही कार्की एकल साँझ सम्पन्न गर्न सञ्चारकर्मीको ठूलो हात रहेको प्रष्ट पारे । गिरीले एकल साँझहरु धेरै भइरहे पनि विरही कार्कीको एकल साँझले पक्कै पनि लोकसंगीतको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।