Sat. May 11th, 2024

टुवोर्ग इमेज अवार्डको १५ औं संस्करण राजधानीमा सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लवमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली गीत–संगीतको विकासमा अनवरत योगदान पुर्‍याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा वरिष्ठ गायक पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
इमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धर, उपाध्यक्षद्धय इन्दीरा मानन्धर र मोहनचन्द्र सिंह लगायतले पन्नाकाजीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन् ।
यस वर्ष ‘म त अजनबी गीत’का लागि निशा देसारले सर्वोत्कृष्ट गायिका र ‘मुटु सिएर’का लागि विश्व नेपालीले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् ।
यस्तै, ‘लभ फरेवर’ले सर्वोत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरेको छ । सर्वोत्कृष्ट महिला पप गायनको अवार्ड ‘झुम्के बुलाकी’का लागि आस्था राउतले र सर्वोत्कृष्ट पप गायन पुरुषको अवार्ड ‘सम्झना’ गीतका लागि एड्रिन प्रधानले प्राप्त गरेका छन् ।
यसैगरी, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड ‘तिमी बुढी पीपल’का लागि भुषण दहाल र सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड ‘बादलहरु हो….’ ले प्राप्त गरेको छ । श्रेया घोसालको स्वर, वसन्त चौधरीको रचना र न्हयू बज्राचार्यको संगीत रहेको ‘तिमी बाहेक को छ र मेरो’ गीतले सर्वोत्कृष्ट गीतको अवार्ड प्राप्त गरेको छ ।
यस्तै वर्ष उर्मिला कुटुले नव कलाकारको अवार्ड प्राप्त गरेकी छिन् भने उत्कृष्ट समूह गायनको अवार्ड बाणी ब्याण्डले प्राप्त गरेको छ । ‘बाटो मोडेर गयौ’ बोलको गीतका लागि चलचित्र ‘विन्दास’ले सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड प्राप्त गरेको छ ।
यसैगरी, सर्वोत्कृष्ट गीत रचनाको अवार्ड ‘तिमी भयौ बुढी पिपल’का लागि देवेन गिरीले र सर्वोत्कृष्ट गीत संयोजनको अवार्ड ‘पानीको फोका जस्तो’का लागि हरि लम्साल प्राप्त गरेका छन् ।
यस्तै, सर्वोत्कृष्ट गीत मुद्रणको अवार्ड राजेश्वर तण्डुकारले र सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड ‘मुटु सिएर’को लागि महाराजा थापाले प्राप्त गरेका छन् । राष्ट्रिय भावनाले ओतप्रोत सर्वोत्कृष्ट गीतको अवार्ड ‘चिरेर हेर’को लागि रविन शर्मा र लोचन भट्टराइले तथा सर्वोत्कृष्ट लोक गीतको अवार्ड ‘धनकुटा भोजपुर’का लागि गणेश न्यौपानेले प्राप्त गरेका छन् ।
यस्तै, सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड ‘सालै जो’का लागि थानेश्वर गौतम र लिला बुढाथोकीले प्राप्त गरेका छन् । सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनको अवार्ड ‘राम्री….’ गीतका लागि प्रविण श्रेष्ठले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकनको अवार्ड ‘बाचुन्जेली’का लागि विदुर पाण्डेले प्राप्त गरेका छन् ।
यस्तै, पब्लिक च्वाइस अवार्ड ‘नजिक छौ’ गीतका लागि रेखा शाह र कमल क्षेत्रीले प्राप्त गरेका छन् ।
२०६९ साल असार १ गतेदेखि २०७० साल जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियो मध्येबाट २० विधामा टुवोर्ग इमेज अवार्ड प्रदान गरिएको हो । हरेक वर्षझैं यस वर्ष पनि २० विधामा मनोनयनमा परेकाहरु मध्येबाट निर्णायक मण्डलबाट र एसएमएसबाट प्राप्त मतका आधारमा विजेताको घोषणा गरिएको थियो ।

%d bloggers like this: