Fri. Apr 26th, 2024

फिल्म र गीतसंगीतको बजारमा खडेरी परे पनि अवार्डको धन्दा हराभरा छ । त्यसमाथि नेपाली संगीत र फिल्मका अवार्डको विश्वसनीयतामाथि शंका गरे पनि ‘नपाउनेले विरोध गर्नु स्वाभाविक’ भनेर आयोजक पन्छिन्छन् । भर्खरै सम्पन्न विन्ध्यवासिनी अवार्डमा भने आफ्नालाई अवार्ड प्रदान गरेको प्रस्टै देखियो ।
विभिन्न ३१ विधामा प्रदान गरिएको अवार्डमा आधुनिकतर्फ शीर्ष गायिकाको अवार्ड आयोजक कम्पनी विन्ध्यवासिनीले बजारमा ल्याएको ‘औषधि’ एल्बमको ‘खोइ के होला’ गीतबाट अञ्जु पन्तलाई दिइयो । लोकगीतमा उत्कृष्ट गीतबाट अवार्ड पाएका विमल डाँगी आयोजक कम्पनीका खास मान्छेमात्रै होइनन्, उक्त गीत ‘असल साथी’ सोही कम्पनीले बजारमा ल्याएको हो । केही समयअघिमात्रै सोही कम्पनीले विमल डाँगीलाई एकल साँझमा उतारेको थियो । उत्कृष्ट मोडलको अवार्ड विन्ध्यवासिनी कम्पनीका सञ्चालक सुवास रेग्मीले निर्देशन गरेको ‘आँधी चलेर हो’ गीतबाट बादल प्रसाईं र नम्रता सापकोटाले पाए । उत्कृष्ट मोडल बादल सञ्चालक रेग्मीका भित्री मान्छेमध्ये पनि पर्छन् । सोही कम्पनीका नियमित छायाकार राजेश घिमिरे उत्कृष्ट छायाकार हुन सफल भए ।
अवार्डकै दिन कार्यक्रम सुरु हुनुअघि सञ्चालक रेग्मीले ‘कन्फर्म’भन्दै बधाइ दिएका गायक कुलेन्द्र बिक र राजु ढकालले पनि अवार्ड पाए । कार्यक्रमअघि हलबाहिर उपस्थित केही कलाकारका भीडमा रेग्मीले ‘मेरी बास्सै’का खड्काजी शैलीमा ‘कन्फर्म’ भन्दै उनीहरूलाई बधाइ दिँदा सँगै रहेका अरू कलाकारले मुखामुख गरेका थिए । कम्पनीका सञ्चालक रेग्मीका नजिकका मानिने गीतकार वसन्त थापा र मोडल दुर्गेश थापाले पनि खाली हात फर्किनुपरेन । वसन्तले उत्कृष्ट भाका र दुर्गेशले दोहोरी मोडलको अवार्ड प्राप्त गरे ।
कार्यक्रम सञ्चालनका लागि निम्त्याइएका भीजे सुरजसिंह ठकुरीले उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड पनि प्राप्त गरे ।
उत्कृष्ट सुगम संगीत गायकको अवार्ड नरेन्द्र प्यासीले हासिल गरेका छन् । त्यस्तै अवार्डका अवसरमा भक्तराज आचार्य संगीत प्रतिष्ठानबाट प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डबाट संगीतज्ञ अम्बर गुरुङ सम्मानित भए । नेपाली संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति गुरुङलाई ५१ हजार राशिसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
शुक्रवार आर्मी अफिसर्स क्लबको हलमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा संगीतकारमा राजकुमार बगर अब्बल ठहरिए भने रचनाकारमा रामचन्द्र Ôत्रीले अवार्ड जिते । त्यस्तै, उत्कृष्ट एल्बम योगेन्द्रमणि दाहालको ‘यात्रा–२’ भएको छ । महिला गीतकार सुगम संगीततर्फ लिलु गुरुङ र संगीत संयोजन तथा ध्वनि मिश्रणमा विजेश्वर तण्डुकार उत्कृष्ट बन्न सफल भए ।
पपगायकतर्फ नवीन के भट्टराई र गायिकातर्फ आस्था बी उत्कृष्ट हुन सफल भए । पपसंगीतकारको अवार्ड राजु सिंहले हात पारे भने नवप्रतिभातर्फ श्रेयसी चेमजोङ उत्कृष्ट भइन् । युगल गायनतर्फ रेखा शाह र कमल खत्रीले अवार्ड चुमेका थिए । फिल्मको पाश्र्वगायनमा स्वरूपराज आचार्य र रजिना रिमालले अवार्ड पाए । फिल्म संगीतकारको अवार्ड अर्जुन पोखरेलको भागमा प¥यो । उत्कृष्ट म्युजिक कम्पनीका रूपमा एसियन म्युजिक अगाडि रह्यो भने राष्ट्रिय गीतकारमा भने रञ्जना राई उत्कृष्ट बनिन् । त्यसै गरी रंगपत्रकार विदुर गिरी कला पत्रकारिता सम्मानबाट सम्मानित भए ।
शुक्रवार साप्ताहिकबाट साभार

%d bloggers like this: