Fri. Apr 26th, 2024

हरिबंश आचार्यको कार्यक्रम भनेपछि हाँस्नका लागि दर्शक तयार भएर बस्छन् । आज बेलुकी एउटा त्यस्तो कार्यक्रम आउँदैछ, हरिबंशले जीन्दगीमा पहिलोपटक टेलिभिजनमा दर्शकलाई भावुक बनाउनेछन् । अरुका पीडा अनुभूत गर्ने सक्नेका आँखा रसाउनेछन् । यो नै हाँस्य कलाकार हरिबंशको पहिलो ‘रुवाउने’ कार्यक्रम हुनेछ ।
केही समय अघि भारतीय टेलिभिजन च्यानलमा आमिर खानले चलाएको टेलिभिजन शो ‘सत्यमेव जयते’ले विश्वभरका दर्शकबाट राम्रो प्रतिक्रिया पायो । त्यसैको प्रभावलाई हेर्दै नेपालमै निर्मित त्यस्तै तर फरक किसिमको टेलिभिजन शो ‘मैले जे भोगेँ’ शनिवार राति ८ः ५०देखि नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा एन्टेना फाउण्डेसन नेपालले बालबालिकालाई विषय बनाएर निर्माण गरेको यो कार्यक्रमलाई हरिवंश आचार्यले सञ्चालन गर्नेछन् । कार्यक्रम अन्तवार्ता शैलीको हुनेछ । आचार्यले कार्यक्रमबारे भने, ‘मैले धेरैजनालाई अन्तवार्ता दिएँ, आफुले कहिल्यै पनि अरुको अन्तवार्ता लिएको थिइनँ, शुरुमा त गाह«ो हुन्छ जस्तो लागेको थियो, तर हिम्मतका साथ काम गरेपछि केही गाह«ो भएन,’ आत्मवृतान्त पुस्तक ‘चिना हराएको मान्छे’का स्रष्टा आचार्यले भने,‘कार्यक्रम निर्माण गर्दा केही पात्र भेटिए जसको जिन्दगी मेरो जस्तै रहेछ, विक्रम ओजी भन्ने भाईको सानैमा बाबुआमा बित्नुभएको रहेछ, उहाँहरु नभएपछि उनले आफ्ना बहिनीलाई पालनपोषण गर्ने जिम्मेवारी लिएका रहेछन्, मेरो पनि बाबुआमा बित्नु भएपछि मलाई पनि दिदीले पालनपोषण गर्नुभएको थियो, मैले विक्रमसँग कुरा गर्दै विक्रमको ठाउँमा मेरो दिदी र उनकी बहिनीको ठाउँमा म आफुलाई सम्झिएँ ।’

कार्यक्रमका सिलसिलामा सुदुरपश्चिमका धेरै जिल्लामा पहिलोपटक पाइला टेकेका आचार्यले पश्चिमको मान्छेका पीडालाई नजिकबाट नियाल्ने मौका पाएका रहेछन् । ‘पश्चिमका मानिसले काठमाडौं देखेका रहेनछन्, उनीहरुले दिल्लीलाई नजिकबाट देखेका रहेछन्, त्यहाँका युवाहरु १५,१६वर्षकै उमेरमा दिल्लीमा गई रेष्टुरेन्टदेखि सुरक्षागार्डलगायतका क्षेत्रमा काम गर्दा रहेछन्,’उनले पश्चिमलाई सम्झिए,‘काममा जाने पुरुषले घरमा आउँदा एड्सलाई उपहारका रुपमा ल्याउँदारहेछन्, जसले गर्दा धेरै बालबालिका अभिभावकबिहिन बनेको पायौं ।’ एक परिवारमा छोरीको काखमा रहेकी अर्की छोरीको पिता एकै भएको बताउँदा हरिवंश गम्भीर देखिए ।

कार्यक्रममा शोका तर्फबाट सिता घिमिरेले कार्यक्रम भारतको ‘सत्यमेव जयते’बाट प्रभावित भएर निर्माण गरिएको स्वीकार्दै तटस्थ व्यक्ति राखेर कार्यक्रम गर्न पाएकोमा खुशी लागेको बताईन् । ‘बच्चाले भोगेका कुरा अन्य व्यक्तिलाई राख्न सकुन्, नीति निर्माण तहमा उनीहरुको भनाइलाई मनन गर्न सकुन्, अभिभावक तथा छिमेकीले साना बालबालिकाले जस्तो जीवनयापन गरेका छन् भन्ने कुरा थाहा पाउन भन्ने उद्देश्यले कार्यक्रम बनाएका हौं,’घिमिरेले भनिन्,‘बालबालिकाका लागि टेलिभिजनमार्फत कार्यक्रम ल्याउनुपर्छ भन्ने भावनाले पनि यो कार्यक्रम बनाएका हौ ।’
शोका निर्माता राजन पराजुली हुन् भने कार्यक्रमको निर्देशक दिपक बज्राचार्य हुन् भने त्यसका लेखक तथा गीतकार बुद्धिसागर रहेका छन् । गीतमा कालीप्रसाद बास्कोटाको संगीत तथा फत्तेमानको स्वर रहेको छ ।

%d bloggers like this: